बुलिस ट्रेन्डमा रहेको शेयर बजार दिगो हुन केले सपोर्ट गर्नु पर्छ ? होसियार नत्र पानीको फोका जस्तै नफुट्ला भन्न सकिन्न

Jul 22, 2024 05:36 PM merolagani



सुवास निरौला

यति बेला शेयर बजार बुलिस ट्रेन्डमा छ। सत्ता समीकरण परिवर्तन भए यता लगातार बढेको बजारले रोकिने नाम लिएको छैन।

सोमबार शेयर बजारमा तीव्र उतार चढाव देखियो। लगातार बढेको बजार सोमबार कहिले रातो हुने त कहिले हरियो हुने गर्दै अन्तिममा झिनो २.१५ अंकले भएपनि बढेर बन्द भयो। सोमबार सूचक २४८८.०९ अंकमा बन्द भयो। सोमबार सुरुवाती समयमा लगानीकर्ताले सूचक घट्ने अनुमान गरिरहेका थिए। किनकि लगातार बढेको बजारमा कहिले घट्ला र प्रवेश गरौला भनेर पर्खिरहेका लगानीकर्ताले सोमबार पनि मौका पाएनन्। एकाथरि लगानीकर्ता रि टेस्ट गर्न बजार तल आउँछ र शेयर किनौला भनेर पर्खिरहेका छन्। तर उनीहरूले मौका पाएका छैनन्। बजारमा जबरजस्त वायर हाबी देखिएका छन्। जसले गर्दा शेयर बजार घट्न मानिरहेको छैन। केही लगानीकर्ता भने इन्ट्रा डे करेक्सन मै बजार पसिरहेका छन्। बढेको बेला बजार पस्ने लगानीकर्ता नयाँ हुने गर्छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गएको एक हप्तामा पाँच हजार भन्दा बढीले नयाँ टिएमएस खाता खोलेका छन्। “एक सातामा पाँच हजार दुई सय नयाँ टिएमएस खाता खुलेका छन्। अहिले कुल टिएमएस खाता २२ लाख ५८ हजार चार सय १० पुगेको छ,” नेप्से प्रवक्ता मुराहरि पराजुलीले भने।

शेयर बजार बढ्दा जति नयाँ लगानीकर्ता हौसिएर बजार पसिरहेका छन्। त्यसले कारोबार रकम समेत बढाउँदै लगेको छ। केहीले अहिलेको बुलिस ट्रेन्डले यस अघिको ३२ सयको रेकर्ड ब्रेक गर्छ भनिरहेका छन्। आम सर्वसाधारणले त शेयर बजार निरन्तर बढ्छ भन्ने अनुमान लगाउनु स्वाभाविक नै हो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संसदमा आफ्नो सरकार आएपछि शेयर बजार चार सय अंकले बढिसकेको भनेर धाक लगाउन भ्याइ सकेका छन्। अझै उनले शेयर बजार मात्रै चलायमान नभएर अरू सबै क्षेत्र चलायमान हुने समेत उद्घोष गरे।

प्रधानमन्त्रीले भनेका कुरामा असहमति जनाउने ठाउँ छैन। शेयर बजार मात्रै एकोहोरो बढेर एक्लै अघि बढ्न सक्दैन। शेयर बजारको यो बढ्दो क्रमले दिगो रूप पाउन अन्य क्षेत्र पनि चलायमान हुन आवश्यक हुन्छ। अहिले कर्जाको माग छैन। बजारमा पसल व्यवसाय चलेका छैनन्। घरजग्गा क्षेत्र अझै पनि उकासिन सकेको छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा आयातमा सुधार देखिएको छैन। आयातमा सुधार नदेखिनु भनेको बजारमा माग नबढ्नु हो। बजारमा माग बढे आयात पक्कै पनि बढ्छ।

हुन त शेयर बजार बढ्न थालेको धेरै समय भएको छैन। आउने एक महिना यसैगरी शेयर बजार बढ्दै गएको खण्डमा त्यसले समग्र बजारमा प्रभाव पार्न सक्नु पर्छ। अनि मात्रै शेयर बजारलाई पनि दिगो हुन सहयोग गर्ने छ।

शेयर बजारमा निश्चित नाफा भएपछि कसैलै नयाँ लत्ता कपडा किन्ला, कसलै रेस्टुरेन्टमा राम्रो खाना खाला, कसैलै घरजग्गा नै जोड्न सक्ने अवस्था हुन्छ। किनकि बढेको बजारले आम  लगानीकर्ताको क्रय शक्ति बढाउँछ। यताको पैसा उता र उताको पैसा यता आउने क्रम बढ्दै गएमा मात्रै शेयर बजार दिगो हुन्छ। अन्यथा बजारको एकलौटी बढाइ दीर्घकालीन नहुन सक्छ। अर्को तर्फ सूचीकृत कम्पनीहरूको वासलात पनि सुधारिन आवश्यक हुन्छ। यथास्थितिमै वासलात रहँदै गर्दा बढेको बजार पनि दीर्घकालीन हुँदैन। जसले गर्दा लगानीकर्ताले यस विषयमा पनि ख्याल गर्नु पर्ने हुन्छ। अर्थतन्त्रका अन्य सूचक जस्ताको त्यस्तै रहने तर शेयर बजार मात्रै एकोहोरो बढ्नु शेयर बजार कै लागि पनि लाभदायक हुँदैन।

तर यी सबै कुराको नतिजा आउन भने अझै केही समय कुर्नै पर्छ। किनकि बढेको बजारको नतिजा तत्कालै खोजिहाल्नु पनि हतारो हुन सक्छ। त्यसले गर्दा बढेको बजारको नतिजाको लागि थप एक महिना पर्खनै पर्ने हुन्छ। त्यस पछि बजार कता जान्छ भन्ने अनुमान लगाउन अलि सहज हुने छ। 




comments powered by Disqus