गएको पाँच वर्षमा एक आर्थिक वर्ष बाहेक मौद्रिक नीति पछि शेयर बजार बढेको रेकर्ड छैन, यस पटक के होला ?

Jul 26, 2024 11:13 AM merolagani



सुवास निरौला

गएको पाँच वर्षमा एक आर्थिक वर्ष बाहेक कुनै पनि वर्ष मौद्रिक नीति पछि बजार बढेको रेकर्ड छैन। आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा चार आर्थिक वर्ष मौद्रिक नीति पछि शेयर बजार घटेको छ भने एक आर्थिक वर्ष मात्रै शेयर बजार बढेको छ।

मौद्रिक नीति पछि शेयर बजार बढेको आर्थिक वर्ष भनेको २०७७/७८ हो। उक्त वर्ष मौद्रिक नीति २०७७ साउन ७ गते आएको थियो। राष्ट्र बैंकमा गभर्नरका रुपमा पहिलो पटक पदभार ग्रहण गरेका गभर्नर महाप्रसाद अधिकारीले सो मौद्रिक नीति सार्वजनिक गरेका थिए। उनले मौद्रिक नीति ल्याएपछि खुलेको बजारमा ८४.२६ अंकले बढेर सूचक १४७९.०३ अंकमा उल्किएको थियो। तर उक्त वर्ष पनि मौद्रिक नीति पछि बढेको बजार टिकाउ हुन सकेको थिएन। त्यस पछि केही दिन सूचक सुस्ताएको थियो। तर उक्त सुस्तता धेरै समय टिक्न सकेन। त्यस वर्ष भरिनै सूचक माथिल्लो बिन्दु तर्फ मात्रै उक्ली रह्यो। एक वर्षको अवधिमा सबै रेकर्ड ब्रेक गर्दै सूचक ३१९८.६० अंकसम्म उक्लिएको थियो। त्यो नै अहिलेसम्मको रेकर्ड थियो।

स्मरण रहोस् उक्त वर्ष कोभिडले थलिएको अर्थतन्त्र उकास्न निक्कै खुकुलो मौद्रिक नीति आएको थियो। जसले बजारमा पैसा निक्कै सस्तो भएको थियो। अत्यधिक ऋण प्रवाह भएको पैसा शेयर बजारमा आएको थियो। उक्त वर्ष जसरी मौद्रिक नीति खुकुलो गरियो। त्यसको असर ऋण विस्तारमा पर्‍यो। जसरी ऋण बिस्तार भयो त्यस अनुसार अर्थतन्त्रमा भने धेरै सकारात्मक असर देखिएन। ऋणको व्यापक अपचलन भयो। जसलाई कस्न तिनै गभर्नरले २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरे। जुन २०७८ साउन २९ गते आएको थियो। त्यस वर्ष ४/१२ को नीति शेयर बजारमा अघि सारियो। जसको प्रतिक्रिया शेयर बजारले नकारात्मक दियो। उक्त वर्ष मौद्रिक नीति पछि खुलेको शेयर बजार पहिलो दिन नै २४.९७ अंकले घटेको थियो। तथापि त्यसको केही दिन पछि नै शेयर बजार ३१९८.६० अंकसम्म उक्लिएको थियो। तर त्यो वृद्धि टिकाउ हुन सकेन। त्यसपछि शेयर बजारमा बियरिस ट्रेन्ड सुरु भएको थियो।

त्यस पछि २०७९ साउन ६ गते आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएको थियो। उक्त वर्ष पनि मौद्रिक नीति पछि शेयर बजार घटेको थियो। गत वर्ष मौद्रिक नीति २०८० साउन ७ गते आएको थियो। त्यस पछि नै बढ्दो लयमा रहेको शेयर बजारमा ब्रेक लागेको थियो।

पाँच वर्ष अघि मौद्रिक नीति ल्याएका चिरन्जीबी नेपालको पालामा पनि मौद्रिक नीति पछि शेयर बजार घटेको थियो। नेपालले अन्तिम पटक आर्थिक वर्ष २०७६ /७७ मा मौद्रिक नीति ल्याएका थिए। २०७६ साउन ८ गते उनले नीति सार्वजनिक गरेका थिए। त्यस दिन ६.९० अंकले बढेर १२८४.०७ अंकमा उक्लिएको भएपनि त्यस पछि बजार पाँच महिना लगातार घटेको थियो।

यस हेर्दा रेकर्ड ब्रेक गर्ने वर्ष मात्रै मौद्रिक नीति पछि शेयर बजार बढेको देखिन्छ। त्यस भन्दा अघि पछिका वर्ष जहिले पनि मौद्रिक नीति पछि शेयर बजार घटेको रेकर्ड छ। यस पटक पनि मौद्रिक नीति अघि शेयर बजार बेस्सरी बढेको छ। जसले गर्दा अब मौद्रिक नीति पछि शेयर बजार कता जान्छ भन्ने कौतुहलता आम लगानीकर्तामा छ। माथिल्लो तथ्याङ्कहरूले भने मौद्रिक नीति पछि शेयर बजार घटेको देखाएको छ। जसले आउने मौद्रिक नीति पछि पनि शेयर बजार घट्न सक्ने अनुमान गर्न सकिन्छ। तर शेयर बजार नयाँ रेकर्ड तर्फ उन्मुख हुँदै गरेकोले गर्दा शेयर बजारले पछिल्लो रेकर्ड ब्रेक गर्न खोजेको भए यो बृद्धि रोकिने देखिँदैन। आउने आर्थिक वर्ष भरि नै शेयर बजार बढ्ने छ। त्यस पछि मात्रै नयाँ रेकर्ड बन्ने देखिन्छ।    




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।