पूर्व अर्थमन्त्री कृष्णबहादुर महराका परिवारले नै माओवादी छोड्ने, कान्छा छोरा पार्टी त्यागेर गुरुको शरणमा

Sep 01, 2024 06:08 PM Merolagani



पूर्व अर्थमन्त्री तथा माओवादीका वरिष्ठ नेता कृष्ण बहादुर महराले माओवादी पार्टी परित्याग गर्ने तयारी गरेका छन् । पार्टीका युवा नेता मानिने महराका कान्छा छोरा निर्मलले पार्टी परित्याग गरेसंगै नेता महराले पनि पार्टी छोड्ने तयारी गरेका हुन् । 

केही अघिसम्म माओवादीको पक्षमा चर्काे लेख्ने, बोल्ने गर्दै आइरहेका पार्टीका युवा नेता निर्मल एटमले शनिबार सामाजिक संजाल फेसबुकमा एकजना भारतीय योगीसंगको तस्विर राख्दै पार्टी परित्याग गरेको र ‘गुरुदेवको पछाडि लागेको’ घोषणा गरेका छन् । साथै उनले आफू अब गुरुदेवको पछाडि लागिसकेकोले आफूलाई धेरै कष्ट नदिन अनुरोधसमेत गरेका छन् ।

साथै निर्मलले पार्टीको ‘निक नाम एटम’ परित्याग गर्दै आफूलाई निर्मल महरा क्षेत्रीको रुपमा चिनाएका छन् ।

निर्मलले आफू पछाडि लागेको बताएका ‘गुरुदेव’ भारतको उत्तराखण्डका सन्त योगी प्रियव्रत निमेष हुन्, जस्ले ओज फाउण्डेशन स्थापना गरेर आर्युर्वेद र योगको प्रचार प्रसार गरिरहेका छन्। दिल्लीमा मुख्य कार्यालय रहेको फाउण्डेसनले आर्युर्वेदिक उत्पादनको व्यापार पनि गर्ने गर्छ । पूर्व अर्थमन्त्री महरा र योगी निमेषबीच पुरानो सम्वन्ध रहेको चर्चा माओवादी नेताहरुले गर्ने गर्छन् । त्यहीक्रममा अनेक काण्डहरुमा मुछिनुको साथै वृद्धावस्थाले समेत च्याप्दै लगेपछि पार्टी राजनीतिबाट विरक्तिएका महरा स्वामी निमेषसंग सहकार्य गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

महराका छोराहरु निर्मल र राहुल पनि सुन तस्करी लगायतका अनेक काण्डहरुमा पटक पटक विवादमा पर्दै आएका छन् । सुन तस्करी प्रकरणमा राहुल महरा गत वर्ष पक्राउ परेका थिए भने पूर्व सभामुख, पूर्व गृहमन्त्री, पूर्व अर्थमन्त्री, पूर्व संचारमन्त्री लगायतका विभिन्न मन्त्रालयमा पटक पटक मन्त्री भएका महरा आफ्नै सहकर्मीमाथि यौन दुराचारको आरोप लागेपछि सभामुख पद त्याग्न वाध्य भएका थिए । त्यतिबेला पक्राउ परेर केही महिना जेल बसेका उनी गत वर्ष सुन तस्करी प्रकरणमा पक्राउ परेर केही दिनपछि छुटेका थिए ।

आफू र आफ्ना छोराहरु माथि लागेको आरोपको प्रतिकार पार्टीले नगरेको भन्दै असन्तुष्ट रहेका महरा एक वर्ष यता माओवादीका कुनै पनि गतिविधिमा सक्रिय छैनन् । अहिले भने पार्टी नै छोड्ने सोचमा पुगेका हुन् । यद्धपी छोरा निर्मलले झैं पार्टी नै छोडेको घोषणा गरेर बाहिरिने कि अहिले झैं कुनै घोषणा नगरि चुपचाप निस्क्रिय बस्दै पार्टी गतिविधिबाट अलग हुने भन्ने बारेमा महराले निर्णय गरि नसकेको बताइएको छ । तर, ‘अब उहाँहरुका छोराहरु मात्र होइन, उहाँ पनि माओवादी हुनुहुन्न भन्ने चांहि निश्चित हो’ महरा निकट एक जना माओवादी कार्यकर्ताले मेरो लगानीसंग भने ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।