शेयरको मूल्य तीव्र रुपमा घट्नुका कारण र अबको उपाय

Sep 10, 2024 06:34 AM Merolagani



तिलक कोइराला

केपी ओलीको नेतृत्वमा वर्तमान काँग्रेस एमाले गठबन्धनको सरकार बन्नु अगाडि प्रायः सबै कम्पनीका शेयरको मूल्य घटेर न्युन विन्दुमा पुगेका थिए । माओवादी नेतृत्वको सरकार ढलेर वर्तमान सरकार बन्दै गर्दा लगानीकर्ताहरुमा आशा पलायो । त्यो आशा यसकारण पनि बढ्यो कि अर्थमन्त्रीमा पूँजीबजारमैत्री बिष्णु पौडैल नै आउँछन् भन्ने थियो ।

मन्त्रिमण्डल गठन हुँदै गर्दा अर्थमन्त्रीमा काँग्रेसका डा. प्रकाशशरण महत आउने हल्ला चलेपछि बजारमा संशय पैदा हुनुले नै लगानीकर्ताहरु बिष्णु पौडेल कुरेर बसेका थिए भन्ने प्रष्ट हुन्छ । छोटकरीमा भन्दा शेयर बजारलाई एउटा बहाना चाहिएको थियो ।

काँग्रेस एमालेको संयुक्त सरकार र अर्थमन्त्रीमा पौडेल पक्का भएपछि लगानीकर्ताको मनोबल यतिसम्म बढ्यो कि कतिपय शेयरको मूल्यमा सर्किटका सर्किट नै लाग्यो । राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुको शेयर धितो कर्जा सीमा खुला गरेपछि झन् त्यसले लगानीकर्ताहरुको मनोबल ह्वात्तै बढायो । लामो समयदेखि डिप्रेशनमा रहेका लगानीकर्ताहरु फेरिएको वातावरणबाट उत्साहित हुनु स्वभाविक थियो । लगानीकर्ताहरुले बिष्णु.. बिष्णुु ..भनेर नाम जप्दै केही कम्पनीको भाउ अचाक्ली बढाए । राम्रा र बढी पूँजी आधार भएका कम्पनीको भाउ कम वा नगण्य बढ्यो भने हुटिट्याउँ अर्थात खराब कम्पनीको भाउ आकाश पुग्यो । आधारै नभएका खराब र कमजोर कम्पनीको भाउ समेत माथि पुर्याउँदै गर्दा केही लगानीकर्ताहरु लहै लहैमा लागेर त्यस्तैमा फसे र अहिले सिस्नु... सिस्नु...पोल्यो भन्दै आईया र आथ्था, गरिरहेका छन् ।

कुनै एउटै कारणले अहिले शेयरको भाउ तीव्र रुपमा घटेको नभई विभिन्न कारणहरु छन् जसलाई यसप्रकारले ब्याख्या गर्न सकिन्छः

१. केही खेलाडीको आत्मघाती चलखेल र साँसदको रोदन

शेयर बजारमा अहिलेको गिरावटको शुरुवातको कारणमा केही खेलाडीहरुको बहुलठ्ठीपना र आत्मघाती खेलले पनि उत्तिकै भुमिका खेलेको छ । कुनै आधार नै नभएका खराब कम्पनीहरुको मूल्य चढाउन र लगानीकर्ताहरुलाई भ्रमित पार्न उनीहरुले खेलेको भुमिकाले गर्दा केही सांसदले संसदमा पुरै पूँजी बजारप्रति नकारात्मक धारण बनाउन भाषण गर्ने बहाना पाए । एउटा कम्पनीको कारणले पूँजी बजार पुरै बदनाम हुुनुपर्ने हैन । केही खेलाडीले गरेको गलत हर्कतलाई उदाहरण दिदै सांसदहरुले संसदमा गरेको नकारात्मक भाषणबाजीले आम सर्वसाधारणमा तीव्र मतभेद र अन्योल सिर्जना गर्यो । सोझा लगानीकर्ता हच्किन थाले । बाघ कराउनु र बाख्रा हराउनु उस्तै समय पर्न गयो ।

एकाथ कम्पनीमा भएको गलत खेलले पुरै पूँजी बजार नै खराब भन्ने भाष्य सिर्जना गर्यो । माईक्रोको दलदलमा फसेको एउटा समूहले स्वतन्त्र साँसद अमरेश कुमार सिंहलाई धमाएको एउटा चिर्कटोमा उल्लेख गरिएको नामले खासै अर्थ नराखै पनि काँग्रेसका प्रवक्ता र पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतदेखि माओवादीकी नारायणी शर्मासम्मले दिएको अभिव्यक्तिले ठूलो खैलाबैला सिर्जना गरेको थियो । त्यसपछि अर्थ समितिमा भएको छलफलमा महतले आफ्नो अभिव्यक्ति सुधारे पनि समितिले पूँजी बजारका लगानीकर्ताहरुमा फैलिएको अन्योल चिर्न सकेन । एउटा लय समातेको पूँजी बजारमा नकारात्मक मनोविज्ञान सिर्जना गर्न बजारकै खेलाडीहरुको गलत हर्कतलाई नै जिम्मेवार मान्नुपर्छ । पूँजी बजारको संवेदनशिलता नबुझी भाषण गर्ने साँसदलाई त दया मात्र देखाउँन सकिन्छ ।

केही लगानीकर्ताहरु शेयर बेचेर नाफा सुरक्षित गर्ने तयारीमा थिए र उनीहरुले पनि मौकामा चौका हानी नकारात्मक प्रचारबाजी तीब्र बनाए। केहीले शेयर किन्न नपाएर करेक्शन आएन भन्दै गुनासो गरिरहेका थिए, उनीहरुले पनि उपाय खोजे । एकाथरीको सोचाई त पूँजीबजारप्रति सँधै नकारात्मक नै छ, उनीहरुको के चर्चा गर्नु ?

२. शेयर दलालहरुले लगानीकर्तालाई दिएको अधिक उधारो

एकपछि अर्को रुपमा शेयरको मूल्य बढ्दै गएर दैनिक कारोबार रकम ३० अर्ब हाराहारी पुग्दा नयाँ तथा पुराना लगानीकर्ताहरुको ओईरो लागेको थियो । चिया पसलदेखि पान पसलसम्म पनि शेयरकै कुरा हुन थालेका थिए । त्यही बेला शेयर दलालहरुले पनि लगानीकर्तालाई मन खोलेर उधारो कारोबार गर्न दिए, दलाल आफैले पनि आफ्नो औकात भन्दा बढी खरिद गरे । धेरैलाई थाहा भएकै हुनुपर्छ शेयर दलाल नेपालको शेयर बजारका सबैभन्दा ठूला कारोबारी हुन् र उनीहरुले आफ्नै हिसाब पनि मिलाउन नसक्दा शेयर बजारमा समस्या पर्ने गरेको छ ।

बढीमा पाँच कार्य दिन वा शेयर खातामा आएकै दिन बिक्री गर्नुपर्ने शर्त राखेर नयाँ तथा पुराना दलालहरुले तछाड मछाड गर्दै लगानीकर्ताहरुलाई जथाभावी उधारो मात्र दिएनन्, आफैले पनि कारोबार गरे । शेयर बजारमा प्रवाह भईरहेको वास्तविक तरलता भन्दा बढी र सेटलमेन्ट समेत मिलाउन मुस्किल हुने गरी दलालहरुले दिएको उधारोले पिरोल्दै गयो ।

धेरै नाफा भएपछि शेयर बेचेर नाफा सुरक्षित गर्नेहरु सक्रिय भईरहेका थिए । त्यही बेला जब दलालहरुले उधारो लिमिट बन्द गरेर लगानीकर्ताहरुलाई शेयर बिक्रीका लागि दबाब दिन थाले, त्यहाँबाट कारोबार रकम र शेयरको मूल्य तीब्र रुपमा घट्न थाल्यो । कतिपय दलालले त बिक्री गर्न आवश्यकतै नभएका लगानीकर्तालाई पनि एक कित्ता शेयर नराखी बिक्री गर्न सुझाव दिएका थिए । एकातिर उधारो उठाउन दबाब दिदै बिक्री चाप बढाउने अर्कोतिर लिमिट दिन कडाई गर्ने प्रबृत्ति देखियो । अहिले ३० अर्बबाट कारोबार रकम १० अर्ब तल झरेको अवस्था छ । राम्रादेखि नराम्रा कम्पनीको मूल्य पनि तीब्र रुपमा तल आएर कतिपयको ३० प्रतिशत भन्दा बढीले छोटो समयमै मूल्य ह्रास भएको छ । कतिपय उचालिएका खराब कम्पनीको शेयरमा फसेका लगानीकर्ताको कस्तो हाल छ भने न त उनीहरु त्यो शेयर बेचेर बजारबाट बाहिर निस्कन सक्छन्, न बेंकमा धितो राखेर कर्जा नै लिन सक्छन् । कतिपय कम्पनीले लाभांश पनि दिने अवस्था छैन ।

पुराना भन्दा नयाँ शेयर दलालहरुको अपरिपक्वताले समस्या सिर्जना भएको देखिन्छ । नयाँ सर्वसाधारण लगानीकर्तालाई जथाभावी लिमिट दिने र अत्याएर घाटामा शेयर बेच्न दबाब दिँदा नबेचेपछि कारोबारको अन्तिम समयमा दलालहरु आफैले एडमिनबाट बेचिदिँदा धेरै कम्पनीका शेयरहरु अन्तिम समयमा उच्च रुपमा घटने प्रबृत्ति केही दिन यता देखिदै आएको छ । कतिपय दलाल आफ्नै हिसाब मिलान पनि हुन नसकेको अवस्था छ ।

केही खेलाडीहरुले ठूलो पैसा एकैचोटी बजारमा छिराएर निकाल्दा पनि कारोबार रकम बढेर क्रमशः घट्दै गएको हुनसक्छ । बजारमा स्वचालित नियमन नभएकाले कुन नियतका साथ ठूलो पैसा शेयर बजारमा छिर्यो भन्न गाह्रो छ ।

३. निकम्मा सरकार र राजनीतिक दाउपेच

पूँजी बजारमा शेयरको मूल्य बढ्दै जाँदा जोखिमको स्तर पनि बढ्दै जान्छ र यस्तोमा सर्वसाधारणलाई भ्रमित पार्न अनेक चलखेलहरु हुनसक्छन् भनेर सरकार र नियमनकारी निकायहरु चनाखो हुनुपर्छ तर नयाँ अर्थमन्त्री आफ्नै कारणले शेयरको भाउ बढेको भनेर गजक्क परेर बसे र ठाउँ ठाउँमा गएर हर्ष बढाई गर्दै भाषण गरे, आफ्नै टेवलमा आएको पूँजी बजारमा गर्नुपर्ने जरुरी कामहरुको सूची अनुसार फटाफट काम गर्न पटक्कै ध्यान दिएनन् । पूँजी बजारमा शेयरको मूल्य घटबढप्रति तटस्थ रहनुपर्ने प्रधानमन्त्री समेत बहकिएर अन्टसन्ट भाषणबाजीमा उत्रिए र पूँजी बजार विरोधीलाई ठेगान लाउने मात्रै हैन, केक काट्नेसम्मको चर्चा चुलियो । तर बजारको स्वस्थ विकास र स्थिरताका लागि सरकारले सिन्को भाँच्ने काम गरेन । काम नगरी प्रधानमन्त्री र अर्थमन्त्रीले गरेका भाषणबाजीले मात्र आम सर्बसाधारण लगानीकर्ताको मनोवल बलियो बनाईरहन सक्ने कुरै थिएन ।

लामो समयदेखि पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षविहिन रहेको धितोपत्र बोर्डले एउटा सार्वजनिक सूचना निकाले पनि बजारको स्वस्थता र स्थिरताको लागि केही गरेन । उल्टै लगानीकर्ताहरुलाई सशंकित पार्ने काम गर्यो । उसले यसबीचमा शेयर दलालहरुलाई कारोबार विवरण माग्नेदेखि सूचीकृत कम्पनीका संचालक, कर्मचारीदेखि लेखापरीक्षकसम्मको तीन पुस्ते विवरण दिन तीन दिने पुर्जी काट्ने काम गरेर आँखामा छारो हाल्यो । शेयर बजारमा हाकाहाकी म्यानुपुलेशन गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्नुको साँटो उसले छाडा छाड्यो । जिम्मेवारी र जवाफदेहिता नभएको अर्थ मन्त्रालयको कर्मचारीलाई निमित्त अध्यक्ष बनाएपछि बोर्डमा अरुले किन जोखिम मोलेर काम गर्छन ?

सरकारले आफ्नो उपलब्धिमा शेयर बजारको बढाईको आड लिन थालेपछि सरकार भित्रैका असन्तुष्टहरु र विपक्षीहरुले फरक रणनीति लिए र पूँजी बजारप्रति नकारात्मक  प्रचारवाजी गर्ने मौका पाए । ओली सरकार परिवर्तन हुन्छ भन्ने प्रचारबाजीले पनि लगानीकर्ताको मनोविज्ञानलाई कमजोर पार्यो । त्यहीबीचमा देशको जीडीपी भन्दा शेयर बजारको पूँजीकरण धेरै भयो भनेर बेकारको आतंक सिर्जना गर्ने असफल प्रयास भयो । शेयर बजारको विकृति देखाएर सरकारलाई कमजोर पार्ने राजनीतिक दाउपेच पनि राम्रै चलेको छ ।

४. लहै लहै र बहकाउमा लाग्ने लगानीकर्ता

शेयर बजारमा लाग्नेसँग बजारको जोखिम बुझ्ने, रणनीति बनाउने, अक्कल र अनुभव हुनुपर्छ । तर अहिले शेयर बजारमा अरुको लहै लहै र बहकाउमा लाग्ने, आफ्नो अक्कल र रणनीति नभएका, कुनै अध्ययन, विश्लेषण गरेर, राम्रो कम्पनी पत्ता लगाएर लगानी नगर्ने लगानीकर्ताको भीड छ । सामाजिक संजालको अफवाहले शेयर बजारलाई डोर्याईरहेको छ । मूल्य बढ्छ भनेर अरुले उल्क्याएपछि जस्तो कम्पनीको मूल्य जतिमा भए पनि आँखा चिम्लेर किन्ने प्रबृति छ । अरुलाई सोधेर, सामाजिक संजालमा आउने अनेकथरी कुसूचनाको पछाडि लागेर, क्लबहाउसमा भनिने अनेक प्रचारवाजीमा बहकिएर आफुले दुख गरेर कमाएको वा महंगो ब्याजमा ऋण खोजेर ल्याएको धन खेर फाल्नेहरुको जमातको कमी छैन ।
पूँजी बजारको जोखिम बुझदै नुबझी र कुनै दीर्घकालीन सोच नराखी आजको पर्सी नाफा हुनैपर्ने र सर्किट लागेर मूल्य बढ्नै पर्ने ठानेर शेयर बजारमा मानिसहरुले पैसा खन्याईरहेका छन् । बुम बुमे र सर्किटराजाहरुले यस्ता लगानीकर्ताहरुलाई दुहुनो गाई नै बनाएका छन् । राम्रो कम्पनीमा लगानी गर्ने र धैर्यतापुवर्क पर्खिने समय धेरैलाई छैन, आजको भोलि शेयरको मूल्य दोब्बर भएर फाईदा हुनै पर्ने रोगले कयौंलाई समातेको छ । छोटो समयमा शेयरको मूल्य धेरैले बढ्ने र थाम्नै नसकिने गरी घट्ने कारण पनि यही हो ।  

जब धेरै लगानीकर्ताहरु आफु लगानीकर्ता नभएर ७२ घण्टे ट्रेडर बन्न थाल्छन्, बजार असन्तुलित भएर ठूलो उतार चढाव देखिन्छ । कसैले सकारात्मक कुरा भनेर उचाल्दा उचालिने र नकारात्मक प्रचारवाजी गर्दा थचारिने अनि निराश भएर भाग्ने प्रबृत्ति छ । सत्यतथ्य पत्ता लगाउन कोही लागेको देखिन्न, कागले कान लग्यो भन्दैमा कानै नछामी भाग्नेहरु बजारमा हावी छन् । अघिल्लो दिन घाटा खाएर फालेको शेयर भोलिफल्ट फेरि महंगोमा किन्ने र क्रमबद्ध रुपमा घाटा खानेहरु पनि छन्, जसको सम्पति बढ्नुको सट्टा लगातार क्षयीकरण भईरहेको हुन्छ । अन्तिममा उ सबै सम्पति गुमाएर बजारबाट बाहिरिन्छ । यस्तै लगानीकर्ताहरुको कारणले पनि बजारमा ठूलो उचार चढाव देखिएको हो ।

५. कथित विश्लेषकहरुको गलत प्रचारबाजी

शेयर बजारमा लगानी गरेर एक हजार रुपैयाँ कमाउन नसक्नेहरु अहिले सबैभन्दा गतिला विज्ञ बनेर अरुलाई सल्लाह दिने र किनबेचका लागि परामर्शदाता बन्ने होडबाजी चलेको छ । बजारमा टेक्ने र समाउने ठाउँको भेउ समेत थाहा नपाएकाहरु कथित टीएको नाममा ज्ञान बाडिरहेका छन् । नेप्से सूचक यहाँ पुग्छ र त्यहाँ पुग्छ भन्दै उनीहरु नै धर्का तानेर चर्का कुरा गरिरहेका हुन्छन् । सर्वसाधारण लगानीकर्ता पनि उनीहरुकै कुरामा बहकिन्छन् । शेयर बजारमा धेरै कम्पनीको मूल्य बढिरहँदा सूचक बढेर उ त्यहाँ माथि पुग्छ भनेर धर्का तानेर देखाई लगानीकर्ताहरुलाई उक्साउने र मूल्य घट्न थाल्दा उ तल पुग्छ भनेर लगानीकर्ताहरुलाई अत्याउने ठूलो समूह अहिले बजारमा प्रभावशाली छ । अनेकथरी सामाजिक संजाललाई उनीहरुले हतियारको रुपमा उपयोग गरिरहेका छन् । सक्कलीदेखि नक्कली नामबाट उनीहरु कम्पनीको नाम र मूल्य तोकेर खुलेआम म्यानुपुलेशन गरिरहेका छन् । कतिपय नाम चलेका ब्यक्तिहरुले पनि लगानीकर्ताहरुलाई खुलेआम किन्न वा बेच्न सार्वजनिक आब्हान गर्दा त्यसले लगानीकर्ताको मनोविज्ञानमा असर पारेको अवस्था छ र अहिलेको गिरावटमा उनीहरुको भुमिका प्रष्टै देखिन्छ ।

६. संस्थागत लगानीकर्ताको कमजोर उपस्थिति

हाम्रो बजारमा संस्थागत लगानीकर्ताहरु अति कम हुनु र भएकाले ठीक ढंगले लगानी रणनीति नबनाउँदा केही व्यक्तिगत खेलाडी र सर्वसाधारण लगानीकर्ताको हातमा मात्रै बजार छ । संस्थागत लगानीकर्ताहरुलाई बजार प्रवेशमा सहजीकरण गर्न सरकारले कुनै भुमिका नखेल्दा बजारमा ठूलो उतार चढावको संभावना रहिरन्छ र यसले सर्वसाधारण लगानीकर्तामाथिको जोखिम बढाई स्थिरतामा प्रश्न उब्जाईरहन्छ । अरुको लहै लहै र हावा हुण्डरीमा कुद्ने लगानीकर्ताहरुको भीड भएको बजारमा अहिलेको यस्तो अवस्था आउनुलाई स्वभाविक मान्नुपर्छ ।

अहिले आएका दुई वटा स्टक डिलरहरुले कामै गर्न सकेनन् । भएका सामुहिक लगानी कोषहरुको प्रभाविकारिता नै देखाउन सकेका छैनन् । अन्य सूचीकृत कम्पनीहरुको पनि लगानी रणनीति देखिएन । थप नयाँ संस्थागत लगानीकर्ताहरुलाई प्रोत्साहित गरेर हुल्नेतर्फ सरकारको ध्यानै गएको छैन । राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको सीमा खोल्यो भन्दैमा त्यसले मात्र संस्थागत लगानीकर्ता बढाउने अवस्था छैन ।

७. नीति, नियम, प्रविधि, पुर्वाधार र नियमनमा ठूलो खाडल

हाम्रो बजारमा खरायो कम्पनी र हात्ती कम्पनीलाई एउटै सूचीकरण नियम, एउटै सर्किट ब्रेकर प्रणाली, एउटै आदेश प्रबिष्टी सीमा र नियमनमा राखिएको छ । खरायो समाएर हात्तिमाथि राख्न सजिलो छ र खेलाडीहरु त्यही खरायो समाउनेतिर लागेका छन्, हात्तीलाई चलाउने प्रयास कसैले गर्दैन । अप्सन, सर्ट सेल, ईन्ट्रा डे, डेरिभेटिभ्सका अरु उपकरण, अक्सन मार्केट, ब्रोकरमार्फत मार्जिन ट्रेडिङ केही पनि छैन । नेप्से र धितोपत्र बोर्डको नियम फितलो त छँदैछ, भएकाको पनि कार्यान्वयन छैन, पूर्वाधार, प्रविधि र नियमनमा प्रश्नै प्रश्न छन् । हाम्रो बजार एकोहोरो छ र जतिसुकै सुरक्षित लगानी गरे पनि गुमाउने संभावना धेरै छ । हाम्रो बजार खाली ईक्विटी मार्केट मात्र हो, लगानीका विविध आयाम, उपकरण र विकल्पहरु छँदै छैनन् ।

विश्व एआईको जमानामा प्रवेश गरिसक्यो तर हाम्रा नियमनकारीहरुले मानवीय आँखाले प्रष्टै देख्ने कुराहरुको नियमन समेत गर्न सकेका छैनन् । स्वचालित नियमन कुन चराको नाम हो भन्ने कसैलाई थाहा छैन । बजारमा जसले जे गरे पनि हुन्छ । एउटा शेयरधनीले कम्पनीबाट सही सूचना पाउन अड्डा र अदालत धाउनुपर्ने र महिनौ लाग्ने गरेको छ ।

बजारमा अवाञ्छित कृयाकलापलाई रोक्न, ठूला, राम्रा कम्पनीलाई एउटा सूचीकरण नियम र साना, कमजोर कम्पनीलाई अर्को नियमले बाध्नुपर्ने हो । उनीहरुको सर्किट ब्रेकर प्रणाली र प्रति आदेश सीमा फरक हुनु पर्ने हो । अन्तिम समयमा १० प्रतिशत सुल्टो वा उल्टो सर्किट लगाएर कारोबारको अन्तिम मूल्यको आधारमा भोलिपल्टको पहिलो कारोबार मूल्य २ प्रतिशत तल वा माथिसम्म तय हुने नियममा तत्काल बदली गरी अघिल्लो दिनको भारित औसत मूल्यको आधारमा भोलिपल्टको कारोबार खुल्ने  व्यवस्था गर्नुपर्ने हो । बजारमा ठूला र राम्रा कम्पनीको मूल्य बढोस्, बजारले स्थायित्व पाउन सकोस, साना कम्पनीमा अनावश्यक चलखेल भएर साना र सोझा लगानीकर्ताहरु बढी जोखिममा नपरुन् भनेर यस्तो व्यवस्था गर्नुपर्ने थियो । कयाैँ समयदेखि भनिदै आएको एसएमई प्लेटफर्म र नेप्से थर्टीको अवधारण कार्यान्वयनमा आईहाल्नु पर्ने हो । तर यतातिर कसैले ध्यान दिएको छैन ।

शेयर बजार माथि जाँदा नयाँ कम्पनीहरुलाई आईपीओ जारी गर्न प्रोत्साहित गरेर बजारमा माग र आपुर्तिमा सन्तुलन गर्ने काम फटाफट हुनुपर्ने थियो तर धितोपत्र बोर्डले नै लामो समयदेखि आईपीओ ल्याउने कम्पनीहरुलाई रोकेर राखेको छ । बजारमा माग हुँदासम्म आईपीओको ढोका थुनेर राख्ने र भोलि बैंकहरुमा तरलता कम भएर शेयर बजारमा संकट आएपछि आईपीओको ढोका खोलेर भए भरका कम्पनीका आईपीओ र हकप्रदको बाढी ल्याउने नियतले शेयर बजारलाई तहस नहस पार्छ ।

अब के गर्ने त ?

राम्रा कम्पनीमा अक्कल र रणनीतिका साथ लगानी गर्नेहरु भाग्नुपर्ने बेला अहिले हुँदै हैन । झन् लगानी केन्द्रित गरेर धेरै फाईदा लिनसक्ने समय हो । तर बजारमा उल्टो भईरहेको छ । घाटा खाएर पनि लगानीकर्ताहरु राम्रा कम्पनीको शेयर बिक्री गरिरहेका छन् । मत्याउने र अत्याउनेहरु त भईहाल्छन् तर शेयर धारण गरेको लगानीकर्ता स्वयंले यकिन गर्नुपर्छ कि उसले विवेकपूर्ण निर्णय लिईरहेको छ कि छैन ? अरुले किन वा बेच भनेर गर्ने ठाउँ यो हुँदै हैन । भेडा प्रबृत्ति एकदम खतरनाक छ ।

नेपालका बैंक तथा वित्तीय संस्थामा ईतिहासकै अधिक तरलताको स्थिति रहेको र अन्यत्र लगानीको वातावरण खुम्चिएको अवस्थामा शेयर बजारमा शेयरको मूल्य घटेर बजार तहस नहस नै हुन्छ भन्नु मुर्खतापूर्ण सोचाई हुनेछ । बैंकमा तरलता कम भएर ब्याज दर नबढेसम्म शेयर बजार चलायमान नै रहन्छ । अहिले बैंकहरुमा कर्जाको तुलनामा २० खर्ब बढी निक्षेप छ र ८ खर्ब भन्दा बढी कर्जा लगानी गर्नसक्ने रकम छ । चाडपर्व नजिकएकाले रेमिट्यान्स बढेर तरलता अरु धेरै थपिने संभावना छ । राष्ट्र बैंकले बैंकहरुबाट दैनिक जसो खर्ब रकम तान्दा पनि तरलता कम भएको छैन । बैंकहरुको सीडी रेसियो ७८ प्रतिशत हाराहारी र अन्तरबैंक ब्याज दर ३ प्रतिशत छ ।

हाम्रो शेयर बजारको प्रबृत्ति हेर्दा पनि जब बैंकहरुमा तरलता उच्च भएर ब्याज दर सस्तो भएको छ, तब शेयरको मूल्य धेरै बढेको ईतिहास छ । अबका दिनमा तरलता बढेर जाँदा त्यसले शेयर बजारलाई नै बल पुर्याउने हो, जबसम्म बैंकको कर्जा लगानीका अरु क्षेत्र चलायमान हुँदैन ।

शेयर बजारका बारेमा चलाईएका गलत हल्लाहरु अब साम्य भईसकेका छन् र नकारात्मक प्रचारबाजी गर्नेहरु पनि अब पछि हट्छन् । शेयर दलालहरुले आफ्नो र लगानीकर्ताहरुको उधारो कारोबार मिलाएर लगानीकर्तालाई लिमिट दिने क्रम बढ्न थाल्यो भने बिक्री चाप कम भएर खरिद चाप बढ्ने साईत मंगलबार मध्यान्ह वा बुधबारतिर पर्नसक्छ । पहिले शेयर किन्न छुटेका र बेचेर बसेका सबै एकैचोटी ओईरिने हो भने घटेको सस्तो मूल्यमा राम्रा कम्पनीको शेयर किन्न नपाईनसक्छ । त्यसैले हातमा पैसा लिएर बसेकाहरुले राम्रो कम्पनीमा लगानी गर्ने उपयुक्त मौकाको फाईदा लिनु बुद्धिमानी हुन्छ ।

अहिले सबै कम्पनीको शेयरको मूल्य ह्वार्ह्वारती बढाउने कुरा पनि मुर्खतापूर्ण हुनसक्छ । सेक्टरवाईज मुभमेन्ट गर्दै गएर बजारलाई स्थायित्व प्रदान गर्नुमा नै सबैको हित छ । ठूला वाणिज्य बैंक र अन्य ठूला कम्पनीहरुको शेयरको मूल्य एकैचोटी १० प्रतिशतले बढाउँन थालियो भने फेरि समस्या आउनसक्छ । खराब, कमजोर, भविष्य नभएका, खेलाडीले उचालेका मूल्यहिन कम्पनीमा पनि लाग्दै लाग्नुहुन्न । शेयरको मूल्य बढ्नुपर्ने र राम्रा संभावना भएका धेरै कम्पनी सस्तो मूल्यमा छन्, जसले लाभांश र पूँजीगत लाभ दुबै दिनसक्छन् ।  लगानीकर्ता आफैले छान्न जान्नुपर्छ ।

अक्कल र रणनीति नहुनेले शेयर बजारमा लगानी गर्नु सम्पति डुबाउनु हो । अब शेयर किन्दा चाँही यो घटाईबाट चेतेर खेलाडीले उचालेर माथि नपुर्याएका, कम्पनीको प्रगति र नेटवर्थ राम्रो भएका, भबिष्यमा राम्रो प्रगति गर्ने लक्षण देखाएका, लाभांश दिने, तुलनात्मक रुपमा बलिया तर आपुर्ति कम रहेका, आपत् पर्दा बैंकमा धितो राखेर कर्जा लिन सकिने खालका शेयरहरु हात पारियो भने आगामी दिनहरुमा राम्रो प्रतिफल हाँसिल गर्न सकिने संभावना हुन्छ । खेलाडीले उचालेर माथि पुर्याएका खराब कम्पनीको शेयरमा फसियो भने जीवन बर्बाद हुन्छ । सकेसम्म कर्जा नलिएर नै शेयर बजारमा लगानी गर्ने र कर्जा लिएर लगानी गर्दा पनि कमाएर सबैभन्दा पहिले कर्जा तिरी आफु सुरक्षित बस्ने उपाय खोज्नुपर्छ किनभने शेयर बजार जोखिमयुक्त ठाउँ हो र यहाँ जतिखेर पनि संकट आउनसक्छ ।

नेप्से कतिले बढ्छ र बढेर कहाँ पुग्छ, त्यसको हिसाब गर्न छाडिदिनुस । त्यसले तपाइँलाई केही फाईदा गर्दैन, मात्र आफ्नो कम्पनीको प्रगति, नाफा घाटामा सीमित हुनुहोस् ।

सरकार र नियमनकारी निकायहरुले सस्तो प्रचारबाजी र अन्टसन्ट काम भन्दा बजारका लागि चाहिएको काम तत्काल गरिदिए हजारवटा भाषण गरे भन्दा बढी उपलब्धि हुनसक्छ । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री पौडैलसँग सिधा पहुँच हुनेले बेलैमा सम्झाउनु जरुरी देखिएको छ ।

अहिलेको शेयर बजारको अवस्था हेर्दा दैनिक १० अर्ब जतिको कारोबारलाई स्वभाविक मान्नुपर्छ र त्यसलाई दलालहरुको सेटलमेन्ट र लगानीकर्ताको क्षमताले थेग्नसक्छ भन्ने देखिएको छ । कारोबार रकम कम भयो भनेर हौवा पिटाउनु आवश्यक छैन ।

सबैले याद गर्नुपर्ने कुरा चाँही के हो भने जोखिमपूर्ण दोस्रो बजारमा लगानी गर्ने सबैले कमाउँदैनन्, १०० जनामा ५ जनाले मुस्किलले कमाउँछन्, त्यो पाँच जना भित्रमा पर्नसक्नु र सुरक्षित स्थानमा बस्नु नै सफलता हो । सकेसम्म दीर्घकालीन सोच राखेर ऋण वा उधारो नलिई, अरुको लहै लहै र बहकाउमा नपरी सुरक्षित लगानी गराैँ । आखिर जानु माथि नै छ, बिस्तारै जाऔं ।

(कोइराला लगानीकर्ता हुन् )




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।