१० कित्ते भनेर उपेक्षा नगरेकै राम्रो

Sep 23, 2024 06:49 AM Merolagani



कृष्णमणि पराजुली

व्यक्तिलाई जसरी पैसाको आवश्यकता पर्दछ त्यसैगरी कुनै पनि व्यवसायिक संगठनलाई पूँजीको आवश्यकता परेको हुन्छ। व्यक्तिले कोहीसंँग सापटी लिएर वा ऋण लिएर आफ्नो समस्या सुल्झाएको हुन्छ भने व्यापारिक संगठनले भने पूँजी संकलन गर्ने विभिन्न माध्यम अपनाएको हुन्छ।

यिनै माध्यम मध्येको एउटा माध्यम हो शेयर जारी गर्ने। कुनै पनि व्यापारिक संगठन कानूनी रुपमा स्थापित हुने भएकोले यिनीहरुबाट जारी भएका शेयरले स्वतः कानूनी मान्यता पाएका हुन्छन्।

कुनैपनि कम्पनीलाई जब आर्थिक श्रोतको आवश्यकता पर्दछ त्यसपछि उसले आफ्नो कम्पनीको शेयर खरिद गर्न सार्वजनिक सूचना आव्हान गर्दछ। लगानीकर्तालाई विश्वस्त बनाउन कम्पनीलाई पहिचान गराउने सबै विवरणहरु सार्वजनिक गरेको हुन्छ। यसैको आधारमा लगानीकर्ताले शेयर खरिद गरेर कम्पनीको मालिक बनेका हुन्छन्।

कम्पनीले शेयर निष्काशन गर्दा सामान्यतया प्रति ईकाइ १०० रुपैयाँको दरले निकालेको हुन्छ। यो भनेको कम्पनीले निष्काशन गर्ने प्रारम्भिक चरणको भएकोले यसलाई ईनिसियल प्राइमरी अफरिङ भनिन्छ। कम्पनीले प्रतिफल दिन सक्ने क्षमताको आँकलन गरेर नै कुनै पनि व्यक्ति वा संघ संस्थाले उक्त कम्पनीको शेयर खरिद गरेका हुन्छन्।

यसरी आईपीओको माध्यमबाट कम्पनीले रकम जोहो गर्ने व्यवस्था बढ्दै गएको देखिन्छ। यो प्रकृया सामान्यतया सबै नाफामूलक कम्पनीहरुले गरेकै हुन्छन्। यसबाट कम्पनी र लगानीकर्ता दुबै पक्षलाई फाइदाजनक नै हुने गर्दछ। कम्पनीको आर्थिक अवस्था सुदृढ बनाउने यो एक प्रकारको सजिलो उपाय पनि हो किनभने सबै लगानीकर्ताले शेयर किन्न पाउने हुँदा थोरै थोरै रकम संकलन हुँदै गर्दा कम्पनीलाई धेरै हुन जान्छ। जसबाट कम्पनीलाई आफ्नो आर्थिक गतिविधि सञ्चालन गर्न वित्तीय साधन स्रोतको अभाव हुँदैन। मानौं कुनै खोलामा पानी बगिरहेको हुन्छ। त्यो पानी कहाँ कहाँबाट आएर ठुलो खोलो भएको छ भन्ने कुरा विचार गर्ने हो भने थाहा हुन्छ कि साना खोल्सा खोल्सी मिसिदै आएर ठुलो खोलो भएको हामीले निर्कौल गर्न सक्दछौँ। यहाँ कम्पनीले ठुलो रकम संकलन गर्ने प्रकृया पनि खोलामा पानी थपिदै गए जस्तै हो। अर्को अर्थमा भन्नु पर्दा एक एक कित्ता शेयरको पैसा संकलन गरेर अर्बौको कम्पनी बनेको हुन्छ। त्यसकारण अर्बौ पूँजी भएको कम्पनी भए पनि अन्तरनिहित विषय भनेको तपाईँ हामीले किनेको एक एक कित्ताको पैसाको संरचना हो कुनै पनि व्यापारिक कम्पनी। यस दृष्टिकोणबाट हेर्दा एक कित्ता शेयर किनेर पनि हामी ठुलो कम्पनीको मालिक बन्न सक्दछौँ।

अर्कोतर्फ लगानीकर्ता पनि आ–आफ्नो क्षमता बमोजिम सानोतिनो रकमबाट कम्पनीको मालिक बन्न सक्ने हुँदा तत्कालको लागि केही प्रतिफल नभए पनि केही समयको अन्तराल पछि फाइदा नै हुन सक्दछ। यसबाट यो बुझ्न सकिन्छ कि प्राथमिक शेयरबाट व्यक्ति स्वयम् र कम्पनी आफैलाई पनि फाइदा नै हुने गर्दछ।

अहिले कुनै पनि कम्पनीको १० कित्ता शेयर खरिद बिक्री गर्न सकिन्छ। मानौँ तपाईँलाई १० कित्ता शेयर आईपीओ मार्फत पर्यो भने तत्काल नै तपाईँले बिक्री गरे पनि फाइदा नै हुन्छ। सामान्यतया १० कित्ता शेयरको शुरुको मूल्य १ हजार हुन्छ। त्यसै समयमा बिक्री गर्ने हो भने ५ हजार पाउने सम्भावना हुन्छ। लगानी गरेको १ हजार कटाउँदा ४ हजार खुद फाइदा हुन्छ। साधारणतया एउटा परिवारमा ५–७ जना सदस्य हुन्छन्। ती मध्ये २ जनालाई मात्र आईपीओ पर्यो भने पनि ८ हजार सजिलैसँग कमाउन सकिन्छ। केही दिनसम्ममा घरमै बसेर ८ हजार कमाउन सक्नुहुन्छ भने यसलाई राम्रै रुपमा लिनु पर्दछ। शेयर सम्बन्धि ज्ञान नभएकाहरुलाई त आईपीओले धेरै कुरा सिकाएको हुन्छ भने अन्य लगानीकर्तालाई पनि यसले सहयोग गरेकै हुन्छ।

अर्को तर्फबाट यही ८ हजार कमाउन तपाईँले कति लेखाजोखा गर्नु पर्ला दोस्रो बजारमा? सुका मोहोरको हिसाब किताब गरी गरी दिमाग खियाउनै पर्ला? दुई चार कम्पनीको तुलनात्मक अध्ययन गर्नै पर्ला? फाइदा नै लिन सकिन्छ भन्ने पनि त छैैन नी? नोक्सान पनि त हुन सक्ला। समयको पर्खाई पनि त होला? यस्ता अनगिन्ति प्रश्नहरुलाई केलाउनु भन्दा जे भए पनि १० कित्ता शेयरमा दरखास्त हालेर सुरक्षित हुने कुरालाई किन उपेक्षा गर्ने? सानो तिनो रकम भए पनि बिना जोखिमको फाइदा नै हो।

यदि तपाईँले होल्ड गर्नुभयो भने कुनै दिन १० कित्ता शेयर बिक्री गर्दा पनि सानोतिनो गर्जो टर्न सक्दछ। राम्रा राम्रा कम्पनीको १० कित्ता शेयर बिक्री गर्दा कति फाइदा लिन सकिन्छ भन्ने कुरा सबैलाई थाहा नै छ। किनभने अहिले कै अवस्थामा राम्रा कम्पनीको १० कित्ता शेयर खरिद गर्न पनि ठुलै रकम चाहिने जान्दा जान्दै पनि किन नकिन्ने? तपाईँ हामी आफै जानकार नै छौं। हैन र?

अहिले शेयर बजार प्रति आकर्षण बढ्दै गएको छ। गाउँ घरमा समेत विस्तार हुँदै गएको अवस्था देखिन्छ। ईन्टरनेटको सुविधा भएको कारणले गर्दा आईपीओमा निवेदन गर्न सहज भएको पनि छ। यसरी विस्तार हुँदै गएको शेयर बजारको भविष्य राम्रो हुने आँकलन गर्न सकिन्छ नै। १ हजार लगानी गर्दा कुनै पनि कम्पनीको मालिक हुन सकिने र कम्पनीले कमाएको नाफाको समेत हिस्सेदार हुन पाउने अवसरबाट फाइदा लिन सक्नु नै बुद्धिमान हुने देखिन्छ।

हो, ठुला कम्पनीको नजर १० कित्ता शेयरमा नजानु स्वभाविकै होला। तर साना लगानीकर्ताको लागि भने राम्रै हुनेछ। कुनै व्यक्तिले १० कित्ता शेयरलाई सिडमनीको रुपमा लिने हो भने कुनै समयमा यो लगानी तपाईँको लागि सधै सम्झनालायक नै हुनेछ।

देशको अर्थतन्त्र उकास्ने सन्दर्भमा भन्नुपर्दा यो सानो अंशले पनि ठुलो योगदान गरेको हुन्छ। थोपा थोपा पानी जम्मा भएर समुद्र बने जस्तै हो। देशको सबै भागमा यसरी सानो सानो रकम चलायमान हुँदै जाँदा देशको अर्थतन्त्रमा निश्चय नै सकारात्मक परिवर्तन आउन सक्ने हुन्छ। सानो चीज भनेर उपेक्षा गर्नु भन्दा यसमा सहभागी भएर कसरी प्रतिफल लिन सकिन्छ भन्नेतिर नै लाग्नु उत्तम विकल्प देखिन्छ।

संक्षेपमा भन्नुपर्दा भुइँमान्छेको जीवनस्तर उकास्न, कम्पनीको आर्थिक स्थिति मजबुत बनाउन र केही हदसम्म देशको अर्थतन्त्रलाई चलायमान मान बनाउन सानो लगानीको पनि भूमिका रहन्छ भन्ने कुरा बिर्सिनु हुन्न। त्यसकारण १० कित्ता शेयर लगानीलाई उपेक्षा नगर्नु नै राम्रो हुनेछ।

(पराजुली नेपाल सरकारका पूर्व उपसचिव हुन्)

 




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।