स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले के कति क्षति पुगेको त्यसको विवरण संकलन गर्ने कार्य भइरहेको बताए । कुनै हाइड्रोपावर कम्पनीमा सामान्य क्षति भएको विवरण सार्वजनिक भएका छन् भने कुनैमा आंशिक क्षति भएको छ । हाइड्रोपावरमा क्षति पुगेको समाचार सार्वजनिक भएपछि नेप्सेमा सुचीकृत हाइड्रोपावर कम्पनीमा लगानी गरेका लगानीकर्ता भने बेचैन देखिएका छन् ।
एक हाइड्रोपावर कम्पनी सञ्चालकका अनुसार कुनै पनि हाइड्रोपावर कम्पनीमा स्वपुँजीको अलावा ठूलो मात्रामा बैंकको ऋणको समेत प्रयोग भएको हुन्छ । बैंकले ऋण स्वीकृत गर्नको लागि सो आयोजनाको अनिवार्य बीमा गराएको हुन्छ । अनिवार्य बीमा हुने र सो दाबी भुक्तानी हुने हुँदा आम लगानीकर्ताले सोचे जस्तो चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण एकदमै खराब आउँछ भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए ।
‘हाइड्रोपावर आयोजनामा प्रयोग भएका सबै सम्पत्तिहरुको बीमा हुन्छ भने बिजुली उत्पादन भइसकेका हाइड्रोपावरको हकमा बाढीले क्षति गरेपछि जति दिन बिजुली उत्पादन हुँदैन, त्यस दिनको समेत दाबी पाउने गरी बीमा गरिएको हुन्छ।’–एक निर्जीवन बीमा कम्पनीमा कार्यरत न्युरोडस्थित शाखाका शाखा प्रमुखले भने–‘त्यसकारण हाइड्रोपावर कम्पनीको ब्यालेन्स सिटमा बाढीले क्षति पुर्याएकै कारण एकदमै ठूलो नोक्सानी देखिने गरी विवरण आउँदैन । नियमित आम्दानी भन्दा सामान्य घटबढ हुनु सामान्य भए पनि बीमा कभरेज भएको हाइड्रोपावरको ब्यालेन्ससिट एकदमै नराम्रो भने आउँदैन।’ हाइड्रोपावरमा बीमा गरेका निर्जीवन बीमा कम्पनीको समेत रिपोर्ट नराम्रो आउने आशंका आम लगानीकर्तामा छ । ती शाखा प्रमुखले भने–‘बीमा भनेको रिस्क शेयरिङ हो ।'
कुनै पनि बीमा कम्पनीले आफूले सक्ने बराबरको मात्रै जोखिम आफूले लिएर बाँकी रकम पुनर्विमा कम्पनीमा पास अन गरेको हुन्छ त्यसकारण हाइड्रोपावरको बीमा गरेका निर्जीवन बीमा कम्पनीले पनि ठूलो भार भने बोक्न नपर्ने उनले बताए । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले कुनै पनि इन्स्योरेन्स कम्पनीले आफूले लिन सक्ने जोखिम मात्रै आफूले लिएर बाँकी रिइन्स्योरेन्स कम्पनीमा पास गर्ने हुँदा यस्ता विपत्तिहरु आउँदा निर्जीवन बीमा कम्पनीहरु एकदमै प्रभावित हुने भन्ने हल्ला गलत भएको बताए । ‘निर्जीवन बीमा कम्पनीले राम्रोसँग रिइन्स्योरेन्स गरेर जोखिमलाई न्युनीकरण गरेको छ भने त्यसले कुनै असर गर्दैन ।’–शिखरका प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने ।
इप्पान अध्यक्ष गणेश कार्कीका अनुसार प्रायः हाइड्रोपावरले सबै आयोजनाको बीमा गरेको हुुने हुँदा बाढीले आयोजनामा क्षति गरे पनि त्यो बीमा कम्पनीबाट भपाई हुने हुँदा कम्पनीलाई त्यति धेरै नोक्सानी नदेखिने उनले बताए । ‘हाइड्रोपावर कम्पनीहरुले विभिन्न शर्तहरुको अधिनमा राखेर बीमा गर्ने हुँदा के कति रकम क्षतिपूर्ति पाउँछ भनेर यकिन भन्न नसकिए पनि प्रायः सबैले बीमा भने गरेकै हुन्छन् । इप्पानले ऊर्जा मन्त्रालयका प्रतिनिधिलाई भेटेर बीमा रकम सकेसम्म चाँडो भुक्तानी गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।’–उनले भने ।
बीमा कम्पनीहरुमा बाढीबाट हाइड्रोपावरमा परेको क्षतिको दाबी पर्न शुरु गरिसकेको छ । सम्बन्धित कम्पनीहरुले दाबी परेको अनुसार विस्तारै सर्भेयर नियुक्ति गर्ने काम समेत शुरु गरिसकेका छन् भने त्यसमा ऊर्जा मन्त्रालय, बीमा प्राधिकरणले पनि सहजीकरण गरेर बीमा दाबीको भुक्तानी प्रक्रिया सरल र छरितो बनाउने समेत निर्णय गरिसकेका छन् ।
अहिलेसम्मको तथ्र्याक अनुसार मान्डु हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पाँचथर पावर, साहस ऊर्जा, सगरमाथा जलविद्युत कम्पनी, फेमेखोला जलविद्युत, सिउरी खोला जलविद्युत, सपुर न्यादी जलविद्युत, इलेप खोला तातोपानी जलविद्युत, माथिल्लो त्रिशुली जलविद्युत आयोजना, हेवाखोला जलविदुत आयोजना, सभा खोला बी जलविद्युत, लान्द्रुक मोदी जलविद्युत आयोजना, सुपर त्रिशुली जलविद्युत, लाङटाङ खोला जलविद्युत आयोजना, टुङ्गुन ठोस्ने जलविद्युत अयाोजना र मायाखोला जलविद्युत आयोजनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।