दुई महिनाका शोधनान्तर बचत १ खर्बमाथि, सरकारको ढुकुटीमा साढे २१ अर्ब थन्कियो

Oct 15, 2024 05:38 PM MeroLagani



रेमिट्यान्स रकमको बढ्दो वृद्धि दर, सामान आयातमा झिनो वृद्धिले नेपालको शोधनान्तर स्थिति मजबुत राख्न मद्दत मिलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिनामा नेपालको शोधनान्तर बचत १ खर्ब माथि पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार मुलुक अहिले १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँ बचतमा छ । नेपालमा भित्रिने रकमको मुख्य स्रोत भनेको विदेशमा गएका वैदेशिक कामदारले पठाउने रेमिट्यान्स नै रहेको छ जुन हरेक महिना बढ्दो क्रममा रहेको छ । चालु आवको पहिलो दुई महिनामा नेपालले साढे २ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्र्याएको छ । नेपालले सामान आयात र विदेश भ्रमणमा धेरै विदेशी मुद्रा खर्च गर्ने गरे पनि रेमिट्यान्स भित्रिएको तुलनामा कमै रहेकाले पनि शोधनान्तर बचत बढी हुन सघाउ पुगेको हो ।

चालु आवको भदौ मसान्तसम्म नेपालसँगै २१ खर्ब ५२ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ जुन डलरमा १६ अर्ब ४ करोड रुपैयाँ हुन आउँछ । यो रकमले १३ दशमलब ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको छ । विदेशमा दुःख गरेर कमाएर नेपाल पठाएको रकम देशमा सही सदुपयोग हुन नसक्दा राष्ट्रको ढुकुटीमा अनुत्पादक तवरले खुम्चेर बसेको छ । अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सो अनुत्पादक तवरले ढुकुटीमा खुम्चेर बसेको रकमलाई चलायमान बनाउनुपर्ने आवाज अर्थविद्हरुले उठाउन थालेका छन् । राष्ट्र बैंकले ६ महिनाको वस्तु तथा आयात धान्न पुग्ने मात्रै वैदेशिक मुद्रा सञ्चिति राख्ने लक्ष्य राखे पनि सो भन्दा झन्डै दुई गुणा सञ्चिति पुग्नु भनेको सरकारको नालायकीपन रहेको अर्थविदहरु बताउन थालेका छन् ।

विगत कैयौ महिनादेखि अर्थतन्त्र मन्दीमा रहेका कारण देशको आयात समेत प्रभावित भइरहेको छ । व्यापारीहरुका अनुसार बजारमा सामानको माग नै नभएपछि सामान आयात नभएको हो । विगतमा आयातमा देशको ठूलो विदेशी मुद्रा खर्च हुने गर्दथ्यो । विगत केही महिनादेखि सामान आयात समेत निरन्तर घटिरहेकोमा चालु आवदेखि मात्रै १ प्रतिशतले बढेको हो । रेमिट्यान्समा निरन्तरको वृद्धि, सामान आयातमा गुणात्मक सुधार नहुनु तथा रेमिट्यान्सबाट भित्रिएको रकम विकास निर्माणमा समेत खासै खर्च गर्न सरकार असमर्थ रहेका कारण नै ढुकुटीमा रकम थुप्रिएको हो । अब केन्द्रीय बैंक एवम् सरकारले समेत बजारमा माग बढ्ने थप लचक नीतिहरु ल्याउनुपर्ने माग गर्न थालिएको छ । नेपालको बाह्य अवस्था सुदृढ भएसँगै आन्तरिक अवस्थामा पनि विस्तारै सुधार गर्नको लागि आन्तरिक बजारमा माग पक्षको सिर्जना गर्न जरुरी भइसकेको विज्ञहरुको तर्क छ ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।