पहिलो त्रैमासमा सरकार पौने खर्ब घाटामा, साढे २ खर्ब राजस्व उठ्दा सवा ३ खर्ब खर्च

Oct 17, 2024 05:21 PM MeroLagani



सरकारकाे आम्दानी भन्दा खर्च बढी देखिएकाे छ । चालु आवको पहिलो त्रैमासिक अर्थात असोज मसान्तसम्म सरकारले संकलन गरेको राजश्वभन्दा   ७६ अर्ब १९ करोड बढी खर्च गरेकाे देखिएको छ।

सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा ३ खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको हो । यद्यपि यो राजश्व संकलन र खर्च अघिल्लो वर्षको पहिलो त्रैमासको भन्दा बढी हो । चालुआर्थिक वर्षको ३ महिनामा गत वर्ष भन्दा ८.११ प्रतिशत बढी राजस्व संकलन गरेको सरकारले गत वर्षको सोही अवधि भन्दा १७.५ प्रतिशत बढी खर्च गरेको हो । गत वर्ष सरकारले २ खर्ब ८० अर्ब रुपैयाँ खर्च गरेको थियो भने २ खर्ब ३४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो ।

महालेखा नियन्त्रक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालुआर्थिक वर्षको असोज मसान्तसम्म चालु खर्च शीर्षकमा २ खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको सरकारले पुँजीगत खर्च शीर्षकमा २९ अर्ब ३७ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापन शिर्षकमा ६९ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेको हो ।

गत वर्ष चालु खर्च शीर्षकमा २ खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगत खर्च शीर्षकमा १७ अर्ब ८३ करोड रुपैयाँ तथा वित्तिय व्यवस्थापन शीर्षकमा ४९ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा गत वर्ष भन्दा चालु खर्च ७.५ प्रतिशत बढी, पुँजीगत खर्च ६४.७२ प्रतिशत बढी तथा वित्तीय व्यवस्थापन खर्च ४१.७८ प्रतिशत बढी भएको छ । आन्तरिक तथा बाह्य ऋणको सावाँ फिर्ता र ब्याज खर्च बढ्दा चालु र वित्तीय व्यवस्थापन खर्च बढेको हो ।

चालु आर्थिक वर्षमा २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुँदा कर आम्दानीबाट २ खर्ब १९ अर्ब रुपैयाँ, गैरकर आम्दानीबाट २८ अर्ब ५७ करोड रुपैयाँ तथा अन्य प्राप्तिबाट ४ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ ।

राजस्व तर्फ कर र गैरकर संकलन १३ प्रतिशतले बढे पनि पनि अन्य प्राप्ति समेत जोड्दा चालु आर्थिक वर्षको ३ महिनामा समग्र राजस्व संकलन गत वर्षभन्दा ८.११ प्रतिशत बढी भएको हाे ।

गत वर्ष असोज मसान्तसम्ममा सरकारले २ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गर्दा कर आम्दानीबाट १ खर्ब ९९ अर्ब रुपैयाँ, गैरकरबाट १९ अर्ब ६५ करोड रुपैयाँ तथा अन्य प्राप्तिबाट १५ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको थियो ।

गत वर्ष १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । चालुआर्थिक वर्षको ३ महिनामा संकलन भएको राजस्वका आधारमा यो वर्ष सरकारले १२ खर्ब रुपैयाँ राजस्व संकलन गर्न गाह्राे पर्ने देखिन्छ ।

लामो समयदेखि सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा संघीय सरकारको सञ्चित कोष १ खर्ब ८० अर्ब रुपैयाँले घाटामा छ । राजस्वले मात्रै खर्च गर्न नपुग्दा सरकारले चालु आर्थिक वर्षको शुरुवातदेखि नै आन्तरिक ऋण उठाइरहेकाे छ । विशेषगरी सामाजिक सुरक्षा भत्ता र अन्य अनिवार्य दायित्वहरु बढ्दा सरकारले पुँजीगत खर्चकाे बजेट समेत हरेक वर्ष घटाउँदै गइरहेकाे छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।