अहिले बैंकको शेयर मूल्य घट्नु पर्ने बेला होइन, बढ्नु नै पर्ने होः नेपाल बैंकका सिइओ तिलकराज पाण्डेयसँगकाे कुराकानी

Oct 25, 2024 05:00 PM merolagani



वाणिज्य बैंकहरूले पहिलाे त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंक नाफामा देखिएका छन् । तर ती बैंकहरूले आफ्नाे बिजनेस बढाएर भन्दा पनि केन्द्रीय बैंकले माैद्रिक नीति मार्फत दिएकाे सुविधाका कारण नाफा कमाएकाे देखिन्छ ।

 

शेयर बजारले पनि वित्तीय विवरणलाई सही तरिकाले रियाक्ट गर्न सकेकाे छैन भने लगानी हुन नसकेर बैंकहरूमा अधिक तरलता थुप्रिएर बसेकाे अवस्था छ । बैंकहरूकाे वित्तीय विवरणले कस्ताे दिशा निर्देश गर्न खाेजिरहेकाे छ त ? यिनै प्रश्नहरू लिएर मेराेलगानीले नेपालकै सबैभन्दा पुरानाे बैंक नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयसँग कुराकानी गरेकाे छ। मेराे लगानीका उप सम्पादक सुवास निराैलाकाे प्रश्न छ:

भर्खरै मात्रै बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे। तपाईको नजरमा कस्तो रह्यो पहिलो त्रैमास ?

‘मर्निङ सो द डे’ भनिन्छ। अहिलेको कठिन परिस्थितिमा पनि बैंक वित्तीय संस्थाले जसरी प्रोफिट बुक गर्न सकेका छन्। त्यो चाहिँ बैंक वित्तीय संस्थाको मेहनतको प्रतिफल हो। मुलुकको प्रतिकुल आर्थिक अवस्थाका बाबजुद पनि यस्तो खालको वित्तीय विवरण सार्वजनिक गर्न सक्नुलाई सामान्यतया सन्तोषजनक नै मान्नु पर्छ।

वाणिज्य बैंकहरुको समग्र नाफा २१.६३ प्रतिशतले बढेको छ। तर यो नाफा नेपाल राष्ट्र बैंकले दिएको नीतिगत छुटले मात्रै बढेको हो भन्दा फरक पर्छ कि पर्दैन ?

नेपाल राष्ट्र बैंकले सम्भावित जोखिमको लागि भनेर जुन प्रतिशतमा यसअघि प्रोभिजनिङ गर्नु भनेको थियो। त्यसमा पोइन्ट टु जिरो प्रतिशतले रिल्याक्सेसन दिएको थियो। त्यसको प्रभाव वित्तीय विवरणमा परेको छ। फेरि पहिलो त्रैमास भनेको खासै धेरै व्यापार व्यवसाय हुने समय होइन। किनकि यो भनेको बर्खा सिजन हो। अर्कोतर्फ कृषि उत्पादन भित्र्याउने समय पनि होइन। भौतिक पूर्वाधारमा पनि अहिले निर्माणको सिजन पनि होइन। त्यसकारण निर्माण क्षेत्रसँग सम्बन्धित सर समान बिक्री हुने समय पनि होइन। निर्माण व्यवसायीको पनि अहिले पैसा आउने सिजन होइन। यद्यपि नेपाल सरकारले केही निर्माण व्यवसायीको पुरानो बक्यौता तिरेको अवस्था छ।

यसैगरी दशैँको कारणले पनि केही पैसा बैंक वित्तीय संस्था तथा सहकारी क्षेत्रबाट बाहिरिएको छ। त्यसले गर्दा नाफा अझै बढ्नु पर्ने हो। नियामक निकायले दिएको सुविधा र सरकाले पनि केही पैसा रिलिज गरेको अवस्थाले खर्च अहिले बढेकै हो। तर त्यसको रिजल्ट भने पूर्ण रुपमा आएन। त्यसको कारण भनेको असोज पहिलो साता नै बाढी पहिरोको प्रकोपमा मुलुक पर्‍यो। जसको कारण पनि असुलीमा केही प्रभाव पर्‍यो। किनकि असोज महिना भनेको त्रैमासको अन्तिम महिना हो। यो महिना बैंक वित्तीय संस्था बढी असुलीमा केन्द्रित हुन्छन्। तर दैवी प्रकोपका कारण मानवीय अवस्थालाई मध्यनजर गर्दै सोही महिना बैंकहरु एग्रेसिभ्ली असुलीमा उत्रिन नसकेकै हुन्। त्यसकारण नाफा सामान्य नै रह्यो भन्नु पर्छ।

असुलीको अवस्था कस्तो छ ?

गत सालको तुलनामा पहिलो त्रैमासमा अलिकति नाफा बढेको छ। गत वर्ष १३ अर्ब जति नाफा थियो। अहिले वाणिज्य बैंकहरुको मात्रै १६ अर्ब नाफा बढेको छ। नाफा पोहोरभन्दा बढेको देखिए पनि असुली भनौँ वा रकभरी अहिले अलिकति कमजोर नै छ। किनकि खराब कर्जा बढेको छ। मैले अघि नै भने असोजको पहिलो साता आएको बिपदका कारण बैंकहरु रिकभरीमा लाग्न सकेनन्। त्यसकारण खराब कर्जा बढेको हो। अर्को कारण भनेको अझै केही क्षेत्रहरू सुधार हुनै बाँकी छ। नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रलाई केही सहुलियत दिएको छ। उसले सुबिधा दिँदा दिँदै पनि ठूला कन्ट्याक्टरले पैसा तिर्न सकेका छैनन्। त्यसकारण नन् फण्डेड बिजनेसमा अहिले पनि त्यति राम्रो भएको छैन। त्यसकारणले गर्दा पनि फण्डेड बिजनेसलाई पनि असर गरेर खराब कर्जामा सुधार हुन नसकेको हो।

खराब कर्जा पनि बढेकै छ। खुद व्याज आम्दानी पनि घटेको छ। सञ्चालन खर्च पनि घटेको छ। खास सुधार चाँहि केमा देखियो ?

प्रोभिजनिङ व्याक हुँदा पनि त्यसले नाफामा केही न केही हिट गर्ने नै भयो। खुद व्याज आम्दानी घट्नुको कारण भनेको पछिल्लो वर्षको ब्याजदर र अहिलेको घटेको ब्याजदरको अन्तर नै हो। स्प्रेड रेट मेन्टेन गर्नु पर्ने बाध्यता छ भने उता ब्याजदर पनि कम छ। लिने र दिने दुवै घटेको अवस्था छ। त्यसले पनि प्रभाव पारेको हो।

ब्याजदर घटेको छ। तर पनि यति बेला सात खर्ब भन्दा बढी तरलता थुप्रिएको अवस्था छ। यति धेरै ब्याजदर घट्दा पनि ऋण माग नबढ्नुको कारण के होला ?

नेपाल राष्ट्र बैंकले गत वर्ष निजी क्षेत्रमा जाने कर्जा साढे ११ प्रतिशत सम्म पुर्‍याउन सक्ने अनुमति दिएको थियो। त्यस वर्ष वाणिज्य बैंकको मात्रै औसत ६ प्रतिशत मात्रै कर्जा वृद्धि भयो। गत वर्ष मात्रै नेपाल बैंकले १२ प्रतिशत ग्रोथ गरेको हो। हामीले गरेको १२ प्रतिशत ग्रोथ पनि औसतमा हिसाब गर्दा देखिएन। त्यसबेला कर्जाको ब्याजदर एकल अंकमा झर्‍यो भने लगानी बढ्छ भन्ने व्यवसायीहरूको भनाई थियो। अहिले एकल अंकमा सबै बैंकको झरेकै छ। अझै ९ प्रतिशत भन्दा कम छ। तैपनि कर्जाको माग छैन। कर्जाको माग नहुनुलाई हामीले लगानीकर्तामा मनोबल कमजोर भएको भनेर बुझ्ने गरेका छौ। अहिले पनि उद्योगी व्यवसायीहरूको छाता सङ्गठनहरूको भनाई नीतिगत स्थिरता भएन भन्ने छ। सरकारले ल्याउने नीतिहरू समय समयमा परिवर्तन भइरहने गरेको भन्छन्। कुनै पनि नीति कम्तीमा पाँच/सात वर्ष स्थिर रहिदिए त्यसैअनुसार लगानी योजना बनाउन सकिन्थ्यो। तर त्यस्तो हुँदैन। जसले गर्दा योजना नै के आधारमा बनाउने भन्ने दुबिधा छ भन्ने उनीहरूको भनाई छ। जस्तै आइरन इन्डस्ट्री मै गएको तीन वर्षमा तीन पटक नीति परिवर्तन भए। अहिले मनोबल नै कमजोर भएको हो। अहिले लगानी नगर्नु पर्ने कुनै कारण छैन। ब्याजदर यो भन्दा अझै तल जान्छ भन्ने अपेक्षा पनि गर्नु हुँदैन। त्यसले देशको इकोनमीलाई पनि फाइदा गर्दैन। बाह्य क्षेत्रमा यति धेरै सुधार छ। साढे २१ खर्ब विदेशी मुद्राको सञ्चिति छ। तर त्यो विदेशी मुद्राको सञ्चितिको सदुपयोग हामीले गर्न सकिरहेका छैनौ। हामीले मुलुक भित्र काम गर्ने वातावरण सिर्जना गर्न सकिरहेका छैनौ। यो सरकारको मात्रै काम होइन। जो जसको आवाज बजारमा आउँछ उनीहरू सबैको दायित्व हो।

पछिल्लो समय सहकारीमा आएको समस्याका कारण साना ऋणको समेत माग घटेको भनिन्छ। के त्यो सत्य हो ?

अर्थतन्त्रमा सबैको एक आपसमा सम्बन्ध हुन्छ।  वास्तवमा सहकारीको समस्याले हाम्रो देशको अर्थतन्त्रमा ठुलो समस्या पारेको छ। स्टार्टपहरु सहकारीबाट सुरु हुन्थे। त्यहाँबाट ग्रो हुँदै गएपछि उनीहरू बैंक वित्तीय संस्थामा आउँथे। तर त्यो अहिले असाध्यै न्यून छ। अहिले बैंक वित्तीय संस्थामा अधिक तरलता छ। त्यो हुनुको मुख्य कारण नै सहकारी हो। किनकि त्यहाँको सबै जसो निक्षेप बैंक वित्तीय संस्थामा आएको छ। सहकारीले धेरै पैसा खपत गर्ने गरेका थिए। रियल स्टेटको व्यापार, बैंक वा सरकारले चाहेर मात्रै हुने होइन। सहकारीले कहीँ न कहीँबाट सपोर्ट गरिरहेको थियो। बैंकबाट ऋण लिनको लागि अपुग डाउन पेमेन्ट सहकारीबाट हुने गरेको थियो। सहकारीमा समस्या आएको कारण घरजग्गाको पनि कारोबार सुस्त भयो। रियल स्टेटमा सुधार भएन भने मुलुकको अर्थतन्त्र चाडै रिकभर हुन गाह्राे छ। त्यसले विकासको रफ्तारमा पनि ब्रेक लगाउँछ।

सेक्टरवाइज हेर्दा खेरि ऋणको माग कुन सेक्टरमा बढी छ ?

साना साना होम लोनहरूमा बढी ऋणको माग छ। एसएमइजमा छ। बाहिरबाट फर्किएर आउनेहरूले काम गर्न सुरु गरेका छन्। कृषिमा लाग्नेहरू पनि धेरै छन्। साना साना रेस्टुरेन्ट व्यवसाय गर्नेहरू पनि धेरै छन्। शिक्षामा पनि माग बढ्दैछ। उद्योग व्यापार सबै क्षेत्रमा ऋणको माग बिस्तारै बढ्दै छ। अहिले साना कर्जा बढेको छ। तिनै पछि ठुला हुने हुन्।

नेपाल राष्ट्र बैकले शेयरमा जाने संस्थागत लगानीकर्ताको ऋणको क्पाप खुला गर्‍यो। त्यसको प्रभाव देखिएको छ कि छैन ?

त्यस्तो प्रभाव देखिएको छैन। हामीकहाँ ठुलो संस्थागत ऋणको माग आएको छैन। बरु ठुलो भन्दा सानाकै माग बढी छ। हिजो एक दुई करोड लिनेहरूले अहिले पाँच/सात करोडको माग गरिरहेका छन्। हाम्रोमा अहिले सानो सानो लोन बढी गइरहेको छ।

असारमा नयाँ सरकार बन्यो। अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको कारण दुई हजारको सेरोफेरोमा रहेको शेयर बजार बजार बढेर ती हजारसम्म पुग्यो। कतिले प्रोफिट बुक पनि गरे। कतिले आफ्नो व्यवहार पनि मिलाए। बैंकको ऋण उठ्न बढेको शेयर बजारले पनि कन्ट्रिब्युसन गर्‍यो। लगानीमा र रिकभरिमा पनि कन्ट्रिब्युसन गरेको छ। बैंकको नाफामा पनि टेवा दिएको छ। त्यसको पोजेटिभ इम्प्याक्ट आएको छ।

मौद्रिक नीति पछि बैंक वित्तीय संस्थाको वासलातमा सुधार आउँछ भन्ने अनुमान धेरैले गरेका थिए। आयो पनि। तर राम्रो रिपोर्ट आउँदा आउँदै पनि शेयर बजार भने सोही दिन घट्न पुग्यो। किन घट्यो होला ?

२० वटा वाणिज्य बैंकहरुमा १३ वटाको नाफा त बढेकै हो। शेयर बजार घट्नु बढ्नुमा मिडियाले पनि ठुलो काम गर्दो रहेछ। बैंक वित्तीय संस्थाले त त्यसलाई फेसिलेटेड मात्रै गर्दिने हो। घट्नुको कारण चाहिँ बैंक वित्तीय संस्थाको नम्बर अफ शेयर बढी भएर पनि हो। माग भन्दा बढी सप्लाई आएको कारण पनि घटेको हुन सक्ने अनुमान गर्न सकिन्छ। बैंक वित्तीय संस्थाको नाफा एकै पटक चार गुणाले बढ्ने भन्ने हुँदैन। बिस्तारै बढ्ने हो। त्यो त भइरहेकै छ। त्यसकारण शेयर बजार नघट्नु पर्ने हो। घट्नु पर्ने कुनै कारण नै छैन । साइकोलोजिक्लि इफेक्ट परेको होला। अहिले बैंकको शेयर मूल्य घट्नु पर्ने बेला होइन। बढ्नु नै पर्ने हो जस्तो लाग्छ।   




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।