डिम्याट खाता नवीकरण हुन छोड्यो, २५ लाख डिम्याट खाता शेयर विहीन, नवीकरण नहुनु र खाता रित्तिनुको कारण यस्तो

Nov 05, 2024 11:22 AM merolagani



सुवास निरौला

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार बुधवारसम्म हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या ६४ लाख २९ हजार भन्दा बढी छ। तर खोलिएका सबै खातामा भने शेयर छैन।

सिडिएससीको अनुमानमा २५ लाखको हाराहारीमा रहेको डिम्याट खातामा एक कित्ता पनि शेयर छैन। जबकि दुई वर्ष अघि सम्म १७ लाख ६३ हजार खाता रित्तै थिए। २०७९ साल फागुनमा कुल डिम्याट खाता सङ्ख्या ५५ लाख ८० हजार  थिए। गएको दुई वर्षको अवधिमा खाता रित्तै हुने क्रम थप बढ्दै गएको सिडिएससीको भनाई छ। “अहिले डिम्याट खाता खोल्नेको सङ्ख्या ६४ लाख २९ हजार भन्दा बढी छ। तर त्यसमा अनुमानित २५ लाख खातामा शेयर छैनन्। यस अघि त्यो सङ्ख्या १७/१८ रहेकोमा अहिले खाता रित्तिने क्रम थप बढ्दै गइरहेको छ,” सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले मेरो लगानीसँग भने।

उनका अनुसार पछिल्लो समय प्राथमिक निष्कासन बन्द जस्तै छ। आम सर्वसाधारणले प्राथमिक शेयर भर्नकै लागि डिम्याट खाता खोल्ने गर्थे। जसले गर्दा खाता सङ्ख्या अहिले पनि क्रमिक रुपमा बढ्दै नै गइरहेको छ। तर यस अघि प्राथमिक निष्कासनमा जति शेयर परेका थिए प्राय जसो बिक्रीमा गए। नयाँ शेयर आउने क्रम बन्द भयो। खातामा भएको शेयर बिक्री हुने क्रम रोकिएन। जसले गर्दा खाता रित्तिने क्रम बढ्दै गएको हो। अर्को तर्फ धेरै जसो लगानीकर्ताले आफ्नो खाताको शेयर अर्कै खातामा सारेका छन्। एउटा खाताबाट अर्को खातामा शेयर सार्ने क्रम वर्ष भरिनै निरन्तर चलिरहन्छ। जसले गर्दा पनि केही खाता रित्तिन पुगेका हुन्। खाता रित्तै हुनुको अर्को कारण भनेको करिब तीन लाख भन्दा बढीले दोहोरो खाता चलाउँछन्। जसले गर्दा खरिद बिक्रीको लागि प्रयोग नहुने खाता रित्तिएका हुन्।  तर प्राथमिक निष्कासन सुरु भए पछि पुनः ती खातामा शेयर आउँदै जाने अनुमान गर्न सकिन्छ।

खातामा शेयर रित्तिँदै गएका छन् भने अर्को तर्फ खाता नवीकरण नगर्ने क्रम समेत बढ्दै गएको छ। खातामा शेयर नहुनु र नवीकरण गर्न उत्सुक नदेखिनुको कारण भने एउटै बताइएको छ। प्राथमिक शेयरमा आवेदन दिनकै लागि खाता एक्टिभ गरिराख्नु पर्ने हुन्छ। तर प्राथमिक निष्कासन नै बन्द भएको अवस्थामा नवीकरण गरिराख्नुको कुनै औचित्य नदेखेकै कारण नवीकरण गर्ने क्रम घटेको अनुमान सिडिएससीले लगाएको छ। अहिले झण्डै १९ लाख भन्दा बढी डिम्याट खाता निष्क्रिय छन्। ती खाता नवीकरण भएका छैनन्।

तर बजारमा लगानीकर्ताको सङ्ख्या बढ्दै गएकोमा नियामक देखि सरोकारवाला दङ्ग छन्। तर खातामा शेयर नहुनु, दोहोरो खाता हुनु र नवीकरण नहुनुलाई भने नियामक निकायदेखि सरोकारवाला कसैले पनि गम्भीरतापूर्वक हेरेका छैनन्। जसले प्राथमिक बजार देखि दोस्रो बजारमा लगानीकर्ताको सहभागिता घटाउँदै लगेको छ।

खातामा पुनः शेयर आउन र लगानीकर्तालाई नवीकरण गर्न प्रेरित गर्न प्राथमिक निष्कासनलाई निरन्तरता दिनु पर्ने हुन्छ। तर धितोपत्र बोर्ड नेतृत्व विहीन भएकै कारण प्राथमिक निष्कासन अवरुद्ध छ। जुन पदपूर्ति गर्न सरकारले चासो दिएको छैन। पटक पटक नियुक्ति प्रक्रिया अघि बढाइएको भए पनि त्यसले पूर्णता पाएको छैन।      




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।