इमर्जिङ्ग नेपालको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

Nov 13, 2024 10:10 AM Merolagani



इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ लाख ६७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६५.६० प्रतिशत घटेको हो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीले १३ लाख ८६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने १४ लाख १९ हजार रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३७ करोड ८७ लाख रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२ पैसा घटेर ४८ पैसामा सीमित भएको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ५६ पैसा रहेको छ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।