सोमबार नेप्से परिसूचक १५.८३ अंक बढेर २६८३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ६५ हजार ८२४ पटकको कारोबारमा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.६९ प्रतिशत बढेको छ। यस दिन ङादी ग्रुप पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा घटेर ४९४ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड रुपैयाँबराबको शेयर खरिदबिक्री भएको छ। कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती भएसँगै कम्पनीको कारोबार बढेको हो। त्यस्तै, यस दिन बेस्ट फाइनान्सको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।