सेवाेनकाे अध्यक्ष नियुक्त भएपनि आइपीओ आउन केही समय लाग्ने देखिन्छ: मर्चेण्ट बैकर्स एशाेसिएसनका अध्यक्ष रायमाझीसँग अन्तरवार्ता

Nov 29, 2024 05:19 PM merolagani



धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रबन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने मर्चेन्ट बैंककाे व्यवसाय केही समयदेखि सुस्त छ । प्राथमिक निष्कासन अवरुद्ध हुँदा व्यवसायमा धक्का लाग्नु स्वभाविकै हाे ।

अब भने मर्चेण्ट बैंकर उत्साहित हुने देखिएकाे छ । धिताेपत्र वाेर्डका नव नियुक्त अध्यक्ष सन्ताेष नारायण श्रेष्ठले राेकिएका प्राथमिक निस्कासन खुलाउने उद्घाेष गरेका छन् । नेपालमा मर्चेण्ट बैकिङकाे अवस्था के छ ? अन्तराष्ट्रिय प्राक्टिसमा किन अझै याे व्यवसायलाई लान सकिएकाे छैन ? यिनै प्रश्नहरू लिएर मेराे लगानीका उप सम्पादक सुवास निराैलाले मर्चेण्ट बैकर्स एशाेसिएसन अफ नेपालका अध्यक्ष एवं एनआइसी एशिया क्यापिटलका कार्यकारी अधिकृत रमेन्द्र रायमाझीसँग जिज्ञासा राखेका छन् । 

पछिल्लो समय मर्चेन्ट बैंकहरुको व्यवसाय खुम्चिँदै गएको भनेर सुनेका छौ। के यो सत्य हो ?

गएको एक वर्षदेखि भने साँच्चै व्यवसाय खुम्चिएकै हो। नेपाल धितोपत्र बोर्डमा लिडरसिप ग्याप भएको कारणले पनि त्यस्तो भएको हो। खासगरि मर्चेन्ट बैंकिङको कोर बिजनेस नै धिमा हुन पुगेकोले पनि व्यवसाय प्रभावित भएको हो।

हाम्रो प्राथमिक निष्कासनको राम्रै व्यवसाय हुन्छ। त्यो अहिले ठप्प जस्तै छ। अर्को तर्फ म्युचुअल फण्ड निष्कासन अनुमति छैन। जसले गर्दा पनि हामीले व्यवसाय अघि बढाउन सकिरहेका छैनौ।

प्राथमिक निष्कासन अवरुद्ध हुँदा कुन कुन व्यवसायमा हिट गरिरहेको छ ?

मर्चेन्ट बैंक व्यवसायको मुख्य व्यवसाय भनेको प्राथमिक निष्कासन हो। अर्को भनेको प्रत्याभूति हो। कुनै पनि निष्कासन गर्नु भन्दा पहिले प्रत्याभूति गर्नु पर्ने हुन्छ। प्राथमिक निष्कासन नै रोकिएपछि त्यो हुने कुरा भएन। अर्कोतर्फ जब जब प्राथमिक निष्कासन हुन्छन्। तब तब डिम्याट खाता खोल्ने क्रम पनि बढ्छ। तर प्राथमिक निष्कासन नहुँदा त्यता पनि हिट भएको देखिन्छ। अर्को तर्फ प्राथमिक शेयर बिक्री हुने क्रम बढ्दा डिम्याट खाताको ट्रान्जेक्सन पनि बढ्छ। तर अहिले त्यो पनि निक्कै सुस्त छ।

हामीले सुने अनुसार अहिले धेरै डिम्याट खाता नवीकरण भएका छैनन्। प्राथमिक निष्कासन कम भएकै कारणले त्यस्तो भएको हो ?

डिम्याट खाता पनि आ आफ्नै तरिकाले खोल्ने गरिन्छ। कसैले प्राथमिक निष्कासनमा आवेदन दिन खोल्ने गर्छन् भने कसैले दैनिक कारोबारको लागि खोल्ने प्रचलन छ। दैनिक कारोबार गर्नेले खाता एक्टिभ राख्नै पर्ने हुन्छ। तर प्राथमिक शेयरमा आवेदन दिने मानिसले अहिले आवश्यकता नै नठानेको स्थिति छ। त्यसैले यस्तो समस्याको सामना गर्नु परेको हो।

कुल डिम्याट खातामा ५० प्रतिशत खाता शेयर विहीन छन् भन्ने छ। किन यति धेरै डिम्याट खाता शेयर विहीन हुन पुगेका होलान् ?

यो कुरा ठिक हो। ६६ लाख डिम्याट खातामा ३५ लाख जति एक्टिभ भएको अनुमान हाम्रो पनि छ।  धेरै मानिसले स्थान परिवर्तन गरेको कारण पनि पुरानो भन्दा पनि नयाँ नै खोलेको हुन सक्छ। त्यस कारण दोहोरो डिम्याट बढेर पनि डिम्याट सङ्ख्या बढेको हुन सक्छ। अर्को तर्फ धेरै मानिस बिदेसिएका छन्। त्यसले गर्दा पनि उनीहरूले खाता नचलाएको कारणले पनि खाली भएको हुन सक्छ।

भर्खरै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरिएको छ। के अब व्यवसाय बढ्ला ?

अध्यक्ष नियुक्ति हुने बित्तिकै पुरै सुधार त नहोला।  तर बिस्तारै सुधार हुने अपेक्षा भने गर्न सकिन्छ। फेरि भर्खरै उहाँ आउनु भएको छ। उहाँको प्राथमिकतामा के कुरा पर्छ। त्यसले पनि काम गर्छ। तर प्राथमिक निष्कासनमा भने ढिलो चाँडो सुधार नै हुन्छ।

रोकिएका आइपीओ त क्रमशः आउँछन् भन्ने अपेक्षा त गर्न सकिन्छ ?

त्यो आउनु नै पर्छ। धेरै कम्पनीका विवरण पुराना भइसकेको हुन सक्छन्। कत्तिको प्रत्याभूतिको समय सकिएको हुनु सक्छ। कसैको क्रेडिट रेटिङ सकिएको हुन सक्छ। कतिले गत वर्षकै वित्तीय विवरण बुझाएका छन्। त्यसकारण ती वित्तीय विवरणहरू अध्यावधिक गर्नु पर्ने होला। त्यसले गर्दा प्राथमिक निष्कासनमा पनि थोरै समय लाग्न सक्छ कि जस्तो मलाई लाग्छ।  

तपाईँहरूले गरेका आवेदनहरूमा पनि त्यस्ता समस्या छन् ?

त्यो हरेकमा हुन्छ। किनकि हामीले त्यति बेला दिँदा गत वर्षको दिएका थियौ। अब दिँदा नयाँ दिनु पर्छ। अपडेटेड डेटा बोर्डले माग्छ नै। त्यो हामीले दिनै पर्छ। हामीले मात्रै नभएर निवेदन दिने सबैले नै दिनु पर्छ।

दोस्रो बजारमा म्युचुअल फण्डले कसरी लगानी गरिरहेका छन् ?

मैले सबै म्युचुअल फण्डले के कस्तो गरिरहेका छन् भनेर भन्न सक्दिन। तर हामीले सात वर्ष अघि निकालेको फण्ड चाहिँ परिपक्व हुँदै छ। सात वर्षमा ७५ प्रतिशत प्रतिफल दिनु पर्ने हाम्रो प्रक्षेपण छ। तर हामीले ८५ प्रतिशत दिइसकेका छौ। हाम्रा जस्ता फण्डहरुले बजारमा राम्रै रिटर्न दिइरहेका छन्।

सबैले राम्रो रिटर्न दिएको कुरा गर्दै गर्दा अहिले पनि धेरै म्युचुअल फण्डको न्याभ निक्कै तल नै देखिन्छन्। यस्तो किन भएको होला ?

म्युचअल फण्ड कस्तो समयमा आएको छ भन्नेले पनि धेरै अर्थ राख्छ। फेरि म्युचुअल फण्डले लगानी गर्ने ठाउँ पनि सीमित छन्। हामीले इक्युटि मार्केटमा मात्रै लगानी गर्नु पर्ने हुन्छ। ऋण पत्रको बजार छैन। इक्युटि मार्केटमा जब जब बजार बढ्छ तब तब मात्रै हारो राम्रो प्रदर्शन देखिन्छ। जब बजार घट्छ। त्यति बेला हामीलाई बजारबाट पैसा झिकेर राख्ने मात्रै अप्सन हुन्छ। त्यो सवै बैंक निक्षेप मै जान्छ। सबै पैसा मुद्दती निक्षेपमा पनि राख्न पाइँदैन। त्यसले गर्दा कुनै पनि म्युचुअल फण्डले दुई वा तीन वर्षको अवधि पार गरेपछि मात्रै राम्रो प्रदर्शन देखाउन सक्छ। त्यो भन्दा कम अवधिमा भने न्याभ भन्दा तल नै देखिन सक्छ।

दुई तीन वर्षसम्म पनि आफूले किनेकै मूल्यमा बेच्नु पर्दा लगानीकर्ताले भने अलि नरमाइलो महसुस गरेको पाइयो।

हो। हाम्रोमा अलि कन्जरभेटिभ सोच देखिन्छ। छिमेकी राष्ट्र भारतमा नै ६० ट्रिलियनको बजार छ। हाम्रो जम्मा ५२ बिलियनको मात्रै छ। त्यो पनि नेपाली रुपैयाँमा। भारतमा ७० प्रतिशत ओपन इन्डेड छन्। हाम्रोमा ८० प्रतिशत क्लोज इन्डेड छ भने २० प्रतिशत मात्रै ओपन इन्डेड छन्। क्लोज इन्डेडमा सूचिकृत भएपछि डिस्काउन्ट रेट चल्छ। तर ओपन इन्डेडमा त्यस्तो हुँदैन। त्यसले गर्दा विश्व बजार बाटै क्लोज इन्डेड फण्ड विलय हुँदै गएका छन्। हाम्रोमा पनि गएको पाँच वर्षमा ओपन इन्डेड बढ्दै गइरहेका छन्।

तर तपाईले भने जस्तो गरी ओपन इन्डेड फण्ड बढेको जस्तो त देखिँदैन ?

ओपन इन्डेड आउँदा एकै पटक ठुलो साइजमा आउँदैन। मेरो अनुमानमा मासिक १५ देखि १८ करोड रुपैयाँले ओपन इन्डेड फण्डक आकार बढ्दै आइरहेको छ। एसआइपिका कारणले हुन् वा नियमित खरिदबाट यस्तो भएको हुन सक्छ। यसलाई आधार मान्ने हो भने पनि बार्षिक दुई देखि तीन अर्ब अतिरिक्त फण्ड बढाउँदै लगेका छन्। यो गएको दुई वर्षमा देखिएको विकास हो।

अन्तर्राष्ट्रिय बजारमा म्युचुअल फण्डले राम्रो भूमिका निर्वाह गर्छन्। तर नेपालमा त्यस्तो देखिँदैन। के नेपालका फण्डहरुको पूँजी नै कम भएर हो ?

म्युचुअल फण्डहरुले दोस्रो बजारलाई भाइब्रेन्ट बनाउनु पर्ने त हो। त्यसमा हामी कहाँ चुकेका छौ भने हाम्रो साइज नै सानो छ। यो बजारको लागि ५२ अर्ब रुपैयाँ भनेको कुल बजारको दुई प्रतिशत पनि होइन। जब म्युचुअल फण्डको साइज पाँच देखि १० प्रतिशत हुन्छ। तब मात्रै हाम्रो भूमिका देखिन थाल्छ। किनकि हामी दैनिक शेयर किनबेच त गर्दैनौ। हामीले लगानी गर्दा कम्तीमा एकदेखि तीन वर्षसम्म हुन्छ। त्यसले के गर्छ भने बजारलाई स्थायित्व दिन सहयोग गर्छ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।