सातामा साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Nov 30, 2024 06:37 AM Merolagani



यस साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६८०.४४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.५२ प्रतिशत अर्थात ६७.६१ अंक बढेर २७४८.०५ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ८८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १६.०८ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या २५.२२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १७.५२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण भने करिब ७ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६.७५ प्रतिशत अर्थात २ खर्ब ८८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५६ अर्ब पुगेको छ। विशाल बजार कम्पनीको संस्थापक शेयर सूचीकरण भएसँगै कुल बजार पूँजीकरण उच्च दरमा बढेको हो।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २०.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता विकास बैंक र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा पनि यस साता व्यापार उपसमूहकै परिसूचक सर्वाधिक ७३२.८२ अंक बढेको छ। गत साता ३४९६.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४२२९.१९ विन्दुमा पुगेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२३ प्रतिशत घटेको छ। गत साता २१.९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०५ अंक घटेर २१.८६ विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको ३ करोड ९९ लाख ५९ हजार ५०४.२५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ र विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० रुपैयाँ संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ३२.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य करिब साढे ३१ प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य साढे २९ प्रतिशतभन्दा बढी बढेको छ। यस साता शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सिद्धार्थ इक्विटी फण्ड, कुमारी इक्विटी फण्ड, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एक्सेल डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।