टस हारेर ब्याटिङ्गको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो। कर्णालीका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ५३ रन बनाएका थिए। उनले ३९ बलमा ६ चौका र २ छक्का सहित सो रन बनाएका हुन्। त्यस्तै, कर्णालीकै विलियम बोसिस्टोले ३७ बलमा ३ चौका र २ छक्काको मद्दतले ५२ रन बनाएका थिए। खेलमा चाडविक वाल्टन भने ४ रनमा अविजित रहे। चितवनका लागि सोहेल तनभिरले सर्वाधिक २ विकेट लिएका थिए।
१७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्गमा उत्रिएको चितवनका लागि रवि बोपाराबाहेक कसैले राम्रो रन बनाउन सकेनन्। बोपाराले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५३ रन बनाएका थिए। त्यस्तै, कप्तान कुशल मल्लले २१ रन बनाएका थिए भने बिपिन रावलले १८ रन बनाएका थिए। कर्णालीका लागि जिसन मक्सुद र नन्दन यादवले समान ३–३ विकेट लिएका थिए। त्यसैगरी, कप्तान सोमपाल कामीले १ र विपिन शर्माले १ विकेट लिएका थिए।
अब कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। पहिलो क्वालिफायर जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयाल्सबीच केही बेरमा सुरु हुँदैछ।