'अहिलेका लगानीकर्ता साइवेरियाका चराजस्तै उचित समय भयाे कि बजारमा प्रवेश गर्ने र बाहिरिने गर्छन'

Jan 08, 2025 06:15 PM Merolagani



दोस्रो बजार सधै सरकारले लिने नीतिहरुकै दबावमा पर्ने गरेको छ । बजारमा वित्त नीति र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिकै कारण दबाव सिर्जना हुने गरेको हो ।

हामीले खुला अर्थ नीतिलाई अवलम्वन गर्नुपर्छ भन्ने कुरालाई जोड दिने भएता पनि विभिन्न वहनामा नीतिगत नियन्त्रण हुँदा शेयर बजारसहित समग्र अर्थतन्त्रलाई नै प्रभाव पारेको छ । सरकारले अर्थतन्त्र चलायमान हुनेगरी नीतिको व्यवस्था गरिनु पर्ने बजारका विश्लेषक तथा लगानीकर्ता एसपी चौलागाईको बुझाई छ । तीनै चौलागाईसँग सुधा देवकोटाले गरेको कुराकानीको केही अंशः

 पुस मसान्त नजिकिदै गरेको बजार सकारात्मक नै छ । प्रभाव सकिएको हो वा पर्नै बाँकी छ ?

बजारमा पुस मसान्तको अन्तिम अन्तिम चरणमा छ । बिहीबारसम्मको कारोबारमा पुसको प्रभाव हुन सक्ने छ । मसान्तको दबाव बजारमा पर्न सक्ने देख्दा देख्दै बजार सामान्य अंकले भए पनि सकारात्मक कायम भएको छ ।  यो अवधिको बुलचरण यसै विन्दुबाट सुरुवात हुने अनुमान गर्न सकिन्छ ।

अहिलेको कारोबार शैलीलाई हेर्दा पुस मसान्तको दबाव सकिएको जस्तो देखिएको छ । तर दोस्रो बजारमा कति बेला के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुदैन । त्यसैले पुसको दबाव पर्दैन भन्न सकिदैन । हामीले विगतको अवस्थालाई हेर्दा डिसेम्वर,जनवरी र फेब्रुअरीमा बजारमा मौसमी वृद्धि हुने गरेको देखिन्छ । यद्यपि यसपटक डिसेम्वरमा विभिन्न कारण सकारात्मक रहन सकेन । जनवरी र फेब्रुअरीमा बजारले बढ्दो गतिलाई निरन्तरता दिने अपेक्षा छ ।

तपाईको भनाई अनुसार अबको बजारले सकारात्मता दिनेछ भन्ने विश्वास दिलाएको छ ?

हो, नेपालको बजारमा मौसमी प्रभाव परेको छ । जस्तो, साइवेरियन चराहरु नेपालका केही स्थानमा आउने गर्छन् । ठयाक्कै दोस्रो बजारमा पनि मौसमी लगानीकर्ताहरु उचित समयको प्रतिक्षा गर्छन । आफ्नो समय आए पछि बजारमा आउने छन् । आफूलाई पुगे पछि निस्कन्छन् । त्यस्ता लगानीकर्तालाई बजारमा दैनिक कारोबार गर्दैनन् । उनीहरुसँग बजारमा लगानी गर्ने र निस्कने प्रशस्तै धैर्यता हुन्छ । दोस्रो बजारलाई दोस्रो स्रोतको रुपमा मात्रै लिएका हुन्छन् । त्यस्ता लगानीकर्ताहरु धेरै पटक धेरै स्टकमा खेल्दैनन् । उनीहरुको अध्ययनले सम्भावना देखेको स्टकमा लगानी गर्ने र उचित समयको प्रतिक्षा गरेका हुन्छन् । बाह्रमासे लगानीकर्ता जस्तो शैलीमा उनीहरुको संलग्नता रहदैन । त्यसकारणले पनि बजारले अबको समयमा सकारात्मक गतिलाई निरन्तरता दिने विश्वास गर्न सकिन्छ ।

त्यस्ता लगानीकर्ताहरु बजारमा प्रवेश गर्दैछन् भन्ने कुरा कसरी थाहा पाउने ? यो सिजन नै रोजाईमा कसरी पर्छ ?

मौसमी कारोबार गर्नेहरुले एकैपटक बजारमा खरिद बिक्रीको आदेश राख्दैनन् । बजार सूचक नै उतारचढाव हुने गर्ने गरी किन्ने होइन । विस्तारै किन्दै जाने हाे । बजारको सेन्टिमेट विग्रदा पनि उक्त कम्पनीमा डिमान्ड छ । बिक्री गर्दा पनि विस्तारै विक्री गर्ने गरेका हुन्छन् । अस्वभाविक नभै उचित समयमा सहि निणर्यका साथ गरिने कारोबार भएकाले एकै पटक थाहा पाउन सकिदैन ।

नेपालमा प्रविधिक विश्लेषण गर्नेहरुले घट्दा सधै घटेको घटै हुने गरी संकेत गर्ने बढ्दा पनि सधै बढ्ने भन्दै अध्ययन गर्दा बिग्रेको हो । त्यसैले हामीहरुले प्राविधिकसँगै आधारभूत अध्ययन र सिजनल कारोबारलाई समेत ध्यान पुर्याउनु पर्छ ।

अहिलेको समय नै किन बजार बढ्छ भने बजारमा नीतिगत परिमाजर्न र मौद्रिक नीति र वित्त नीतिले लिएको नीतिहरुको प्रभाव देखिन थाल्छ । मौद्रिक नीतिले लिएका नीतिहरुको परिणाम देखिन थाल्छ । त्यसैले यो सिजनमा छनाैटमा परेको हो ।

प्राविधिक विश्लेशणले बजारका लागि भ्रम निमार्ण गरेको छ ?

होइन,त्यसो पनि होइन । बजारमा प्रविधिक विश्लेषण गरेरै लगानीका राणनीति बनाउने हो । तर सबै सँग त्यसको दक्षता छ भन्न सकिदैन नि । केही दिनको अध्ययनले बजारको प्रविधिक अध्ययन गर्न सकिदैन ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास समीक्षा गर्ने समय भएको छ । अब राष्ट्र बैंकले नीति मार्फत के गर्न आवश्यक छ ?

नेपालले खुल्ला अर्थ नीति अवलम्बन गर्ने घोषणा गरेको छ । तर तय गरिने नीतितहरु नियन्त्रणमुखी हुँदा समस्या भएको छ । राष्ट्र बैंकले शेयर बजार लगायत अन्य क्षेत्रमा पनि निन्त्रणमुखी नीतिहरु लिएकै कारण समस्या उत्पन्न भएको छ । समस्या कहाँ छ भन्ने बारेमा अध्ययन भएकै छैन । नियन्त्रण मुखी नीति लिएकै कारण अर्थतन्त्रमा समस्या भएकोमा आत्मालोचना कुनै निकायले गरेको छैन । हरेक कुरामा राष्ट्र बैंकको स्वीकृति चाहिने भएको छ । यसरी अर्थतन्त्र चलायमान हुन सक्दैन । अहिलेको अर्थ नीति हात खुट्टा बाँधेर समुद्रमा हेल्लिनु जस्तो छ । तल्लो तहदेखि पूँजीको परिचालन गर्न सक्नु पर्यो । नीतिगत अस्थिरताकै कारण उद्योगीहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसरी अर्थतन्त्रको सुधार हुदैन ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको परिमार्जन दोस्रो समीक्षा मार्फत गरेको देखिन्छ । राज्यको ढुकुटीमा पैसा छ । ब्याजदर सन्तुलनमा राख्न सकिएको छ । बैंकहरुमा भएको तरलता परिचालन गर्न सकिएकाे छैन। कर्जाको रुपमा गएको पैसा आउन सकेको छैन । अर्काे तर्फ निक्षेपको ब्याज तिर्दा पनि अप्ठेरो परेको अवस्था छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको व्यवस्थाहरुको प्रभाव छैन ।

अर्कोतर्फ वित्त नीति र माैद्रिक नीतिलाई तालमेल गरेर जानु पर्ने देखिन्छ । होइन भने सबै कुरा हुँदाहुँदै अर्थतन्त्रमा समस्या देखिन सक्ने छ । त्यसैले केन्द्रीय बैंक नीति समय सापेक्ष परिमार्जन गर्नुपर्छ । होइन भने वित्तीय संस्थाहरुमा पनि समस्या आउन सक्ने छ । अर्थतन्त्र चलायमान गराउने खालको नीति लिनु पर्यो ।

 

 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।