जीवन बीमाको व्यापार ८० अर्ब ६६ करोड, धेरै बीमा शुल्क बढाउनेमा सिटिजन अगाडि

Jan 23, 2025 11:01 AM MeroLagani



चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरूले ८० अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पुस मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बढीको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

गत आवको सोही अवधिको तुलनामा जीवन बीमाको व्यापार ८.६८ प्रतिशतले वृद्धि भएको छ। गत आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँको व्यापार गरेका थिए।

यो अवधिमा धेरै व्यापार वृद्धि गर्ने सूचीको अग्रस्थानमा सिटिजन लाइफ रहेको छ। सिटिजनले २३.६० प्रतिशतले व्यपार वृद्धि गरेको छ। गत आवको पुस मसान्तसम्म कम्पनीले २ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ। कुल बीमा शुल्क संकलनमा रिलायबल लाइफले सिटिजनलाई पछ्याइरहेको छ। रिलायबलको कुल बीमा शुल्क भने २३.४१ प्रतिशतले वृद्धि भएको छ। सिटिजन र रिलायवललाई पुराना मर्जरमा गएका कम्पनीहरुले पछ्याइरहेको तथ्यांकले देखाएको छ। सिटिजन, रिलायवल अघि अघि रहँदा प्रभु महालक्ष्मी, सूर्यज्योतिले तिनीहरुलाई पछ्याइरहेका छन्। धेरै व्यापार वृद्धि गर्नेको पाँचौ स्थानमा भने आईएमई लाइफ इन्स्योरेन्स परेको छ।

चालु आवको पुस मसान्तसम्म रिलायवलले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २ अर्ब ४२ करोड, सूर्यज्योतिले २ अर्ब ४४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। प्रभु महालक्ष्मीले गत वर्षको सोही अवधिको तुलनामा १९.०९ प्रतिशत, सूर्यज्योतिले १८.२६ प्रतिशत, आईएमई लाइफले १५.७२ प्रतिशतले बीमा शुल्क संकलन वृद्धि गरेका छन्।

गत आवको पुस मसान्तसम्म रिलायबलले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको थियो। चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। यस्तै, १९.६७ प्रतिशतले व्यवसाय वृद्धि गरेको प्रभु महालक्ष्मी लाइफले पुस मसान्तसम्म २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत आवको सोही अवधिका कम्पनीले २ अर्ब २ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। नेसनल लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ, एसियन लाइफ, सानिमा रिलायन्स लाइफको बीमा शुल्क संकलनको वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको तथ्यांक छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), मेट लाइफ, हिमालयन लाइफको बीमा शुल्कको संकलनको वृद्धि १० प्रतिशतभन्दा तल रहँदा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन गत वर्षभन्दा ४१.६९ प्रतिशतले घटेको छ।

धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा भने सधैं झै नेपाल लाइफ अगाडि रहेको छ। नेपाल लाइफले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको व्यापार गर्दा दोस्रो स्थानका लागि नेशनल लाइफ र एलआईसी नेपाल प्रतिस्पर्धामा छन्। नेशनलले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। सन नेपाल लाइफले ६ महिनामा २ अर्ब ३१ लाख रुपैया बराबरको मात्रै बीमा शुल्क आर्जन गरेकाे छ।

नवीकरणीय बीमा शुल्कको वृद्धिदर पनि रिलायवल नेपाल लाइफ इन्स्योरेन्सकै रहेको छ। कम्पनीको नवीकरण बीमा शुल्क २८.३३ प्रतिशतले बढेको छ। रिलायवलले गत वर्ष १ अर्ब २८ करोड ७९ लाख रुपैयाँ बराबरको नवीकरणीय बीमा शुल्क संकलन गरेकोमा चालु आवको पुस मसान्तसम्म १ अर्ब ६५ करोड २९ लाख रुपैयाँ पुर्याएकाे छ। अधिकांश सबै जीवन बीमा कम्पनीको नवीकरणीय बीमा शुल्क बढे पनि राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरणीय जीवन बीमा शुल्क भने झन्डै आधाले घटेको छ।

सक्रिय बीमालेख संख्या रिलायवल नेपालको बढी

कुल सक्रिय जीवन बीमालेख संख्याको आधारमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीको सक्रिय जीवन बीमा लेख गत वर्षको तुलनामा २२.०२ प्रतिशतले घटे पनि संख्याको आधारमा अगाडि नै छ। रिलायवलको सक्रिय जीवन बीमा लेख २४ लाख ८२ हजार २ सय ६ वटा रहेको छ।

चालु आवको ६ महिनामा सक्रिय बीमालेख संख्यामा वृद्धि दर भने आईएमई लाइफको बढी रहेको छ। गत वर्षको पुसमा ४ लाख १५ हजार ४ सय ९४ वटा रहेको सक्रिय जीवन बीमालेख चालु आवको पुस मसान्तसम्म पुग्दा ४६.६० प्रतिशतले वृद्धि गरेर ६ लाख ९ हजार ९८ वटा पुर्याएको छ।

प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफ नै प्रथम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीमा अगाडि देखिएको छ। कम्पनीले चालु आवको पुस मसान्तमा प्रथम बीमाशुल्क बापत् ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ जबकि गत वर्ष सोही अवधिमा ३ अर्ब १५ करोड १३ लाख रुपैयाँ थियो। प्रथम बीमा शुल्क आर्जनको वृद्धि दरको हिसाबले प्रभु महालक्ष्मी अगाडि रहेको छ भने सन नेपाल लाइफको वृद्धि दर सबैभन्दा सुस्त रहेको छ। प्रथम बीमा शुल्कले जीवन बीमा कम्पनीले कति नयाँ व्यापार भित्र्यायो भन्ने कुराको संंकेत गर्दछ।

आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफले चालु आवको पुस मसान्तमा नयाँ जीवन बीमाको ग्राहक वृद्धि गर्न नसकेको तथ्यांकले देखाएको छ।

 

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।