गभर्नर अधिकारी ताते तर सेलायो शेयर बजार, नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता

Jan 28, 2025 06:11 AM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको दिन गन्ती सुरु भएको छ । उनी गभर्नरको रुपमा रहेर काम गर्न करिव ३५ दिन मात्र बाँकी छ । गभर्नर अधिकारीको कार्यकाल चैत २३ मा सकिदैछ ।

कार्यकाल सकिनुअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा गभर्नर अधिकारी जुटेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यही महिना भित्र गरिसक्ने योजनामा उनी पुगेका छन् ।

गत वर्षको मौद्रिक नीतिको समीक्षा माघ २९ गते गभर्नर अधिकारीले गरेका थिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि त्यही मिति भित्र सम्पन्न गर्ने गरी उनी जुटेको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘गभर्नर ज्यू यतिबेला आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिको समीक्षामा जुट्नु भएको छ,’ राष्ट्र बैंकका ती अधिकारीले मेरोलगानीसँग भने, ‘उहाँ अहिले कुखुराले चल्ला पार्न ओथारो बसेजस्तै बस्नु भएको छ । सम्भवत यही महिना भित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने छ ।’

गभर्नर अधिकारीले ‘कठोर मौद्रिक नीति’ ल्याएको भन्दै शेयर बजारका लगानीकर्ताले आलोचना गर्दै आएका छन् । हुनपनि उनको कार्यकाल भरी नै अस्थिर नीतिका कारण शेयर बजारमा धेरै उत्तारचढाव आयो । उनको कार्यकालको पछिल्लो समयमा उनले केही लचिलो मौद्रिक ल्याए । तरपनि लगानीकर्ताले उनीप्रति सकारात्मक धारणा बनाउन सकेनन् ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा पुँजी बजारप्रति केही लचिलो व्यवस्था उनले गरे । लगानीकर्ता माझ ‘लगानी मैत्री मौद्रिक नीति’ ल्याएको भनी उनले चर्चा कमाउने प्रयास पनि गरे । तर पनि उनी सफल भएनन् ।

अहिले उनी जाँदाजादै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेका छन् । उनले यो अन्तिम मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा के कस्तो नीतिगत व्यवस्था गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।

कठ्याग्रीदो चिसोकाबीचमा पनि गभर्नर अधिकारी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न ताती रहेका बेला शेयर बजार भने सेलाएको छ । साेमवार पनि नेप्से १०‍.६६ अंकले घटेर २६३३.२७ विन्दुमा झरेको छ । गभर्नर अधिकारी रहेसम्म शेयर बजारले यस्तै मोड लिने लगभग निश्चित जस्तै भएको एक लगानीकर्ताले बताए ।

‘गभर्नर अधिकारीको बर्हिरगमनको प्रतिक्षामा शेयर बजार छ,’ ती लगानीकर्ताले आफ्नो नाम नबताउने शर्तमा भने, ‘गभर्नर बाहिरियसँगै शेयर बजार पनि उकालो लाग्ने सम्भावना देखिएको छ ।’

हुनपनि करिव ३२ सय अंक पुगेको शेयर बजार अहिले २६ सय अंकको वरिपरी घुमेको छ । बैंकको ब्याजदर प्रत्येक महिना घटेको घट्यै छ ।

कुनै समय यस्तो पनि थियो निक्षेपकर्ताले बैंकमा पैसा राखेर बापत उच्च ब्याज पाउथे । तर अहिले परिस्थितिले कोल्टे फेरेको छ ।

सुरक्षित रुपमा राखिदिएको भन्दै उल्टो निक्षेपकर्ताबाट बैंकले पैसा लिने अवस्था आइपुग्ने स्थिति देखिदैछ । कर्जाको माग छैन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै गएको छ ।

बैंकिङ प्रणालीमा पैसा बढी भएपछि प्रत्येक दिन जसो राष्ट्र बैंकले पैसा तान्दै आएको छ । घरजग्गा, जलविद्युत आयोजना, शेयर बजारलगायतका क्षेत्रमा कर्जा प्रवाह हुन सकेको छैन् । गभर्नर अधिकारी कर्जा प्रवाह गर्न लचिलो हुन नसकेका कारण यस्तो स्थिति देखिएको हो ।

यतिबेला लगानीकर्ता गभर्नर अधिकारीको बर्हिरगमन र शेयर मैत्री नयाँ गभर्नरको प्रतिक्षामा छन् । लचिलो नीति ल्याउने गभर्नरको प्रतिक्षा लगानीकर्ताले गरिरहेका छन् ।




comments powered by Disqus

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी

Jan 27, 2025 06:05 AM

भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।