आउने ६ महिनामा १० जलविद्युत कम्पनीको लकिङ खुल्दै, संस्थापकको १० करोड कित्ता दोस्रो बजारमा आउने

Jan 26, 2025 06:01 PM merolagani



आउने ६ महिनामा १० जलविद्युत कम्पनीको लकिङ पिरियड खुल्दै छ। ती कम्पनीहरूको १० करोड भन्दा बढी कित्ता दोस्रो बजारमा थपिने छ। दोस्रो बजारमा राम्रो मूल्य पाउँदै आएका जलविद्युत कम्पनीको शेयर मूल्य कता जाला भन्ने लगानीकर्तामा चासो देखिन्छ।

यस अघि लकिङ पिरियड खुले लगत्तै संस्थापकहरूको धेरैजसो शेयर दोस्रो बजारमा आउने गरेकोले गर्दा धेरै लगानीकर्ता कम्पनीको लकिङ खुल्ने दिन कुर्दै बस्ने गरेका थिए। लकिङ खुलेपछि दोस्रो बजारमा चलिरहेको मूल्य भन्दा ३० प्रतिशतसम्म डिस्काउन्टमा शेयर पाउने अवस्था हुने भएकोले पनि दोस्रो बजारका लगानीकर्ताले लकिङ खुल्ने अवधि कुर्ने गरेका थिए। लामो समय शेयर होल्ड गरेका लगानीकर्ताले तुरुन्तै शेयर बिक्री गर्ने क्रम भने बिस्तारै कम हुँदै गएको छ। पछिल्लो समय लकिङ खुलेका बुद्ध भूमि हाइड्रोपावरमा भने सोचे जस्तो सेलिङ प्रेसर देखिएन। जसले गर्दा केही लगानीकर्ता भने पहिले जस्तो डिस्काउन्टमा शेयर पाउनेमा आशावादी छैनन्। तर कम्पनीको क्यापिटल अनुसार डिस्काउन्ट पाउने आश धेरै लगानीकर्ताले गरिरहेका छन्। उनीहरूका अनुसार चुक्ता पूँजी अलि बढी भएका कम्पनीहरूको शेयर डिस्काउन्टमा पाउन सक्ने आश उनीहरूले गरिरहेका छन्।

आउने ६ महिनामा सबैभन्दा पहिले ग्रिन भेन्चर्सको लकिङ पिरियड खुल्ने छ। संस्थापकको मात्रै उक्त कम्पनीमा २७ लाख कित्ता शेयर छ। आउने ६६ दिनमा उक्त कम्पनीको लकिङ खुल्ने छ। लकिङ खुल्ने समय नजिकिँदै गर्दा कम्पनीको शेयर मूल्य घट्न थालेको छ। पछिल्लो समय मात्रै कम्पनीको प्रति कित्ता शेयर मूल्य ५७० रुपैयाँसम्म उक्लिएकोमा आइतबार भने ५४६.२० मा झरेको छ।

लकिङ पिरियड खुल्न लागेको अर्को कम्पनी बलेफी हाइड्रो पावर कम्पनी हो। उसको अढाई महिना पछि लकिङ पिरियड खुल्ने छ। उसको अहिले बजार मूल्य तीन सय ८५ रुपैयाँ मात्रै छ। लकिङ खुल्नु भन्दा अघि नै कम्पनीले हकप्रद शेयर निष्कासन गरेको हुनाले कम्पनीको शेयर मूल्य तल देखिएको हो। उसको हकप्रद र लकिङ पिरियड खुलेको दुवै शेयर दोस्रो बजारमा एकै पटक थपिने छन्।

आउने ६ महिनामा लकिङ खुल्न लागेको रिभर फल्सको दोस्रो बजारमा अहिले सबैभन्दा बढी मूल्य छ। उसको प्रति कित्ता मूल्य एक हजार ७७ रुपैयाँ छ। लकिङ खुलेपछि कम्पनीको मूल्य यही अवस्थामा रहन्छ वा माथि जान्छ त्यो भविष्यले नै बताउने छ। तर कम्पनीको ३४ लाख ३० हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार योग्य हुँदैछन्।

अरू लकिङ पिरियड खुल्न लागेका कम्पनीहरूमा बिन्दबासिनी हाइड्रो पावर, दोर्दीखोला जलविद्युत  कम्पनी, हिमालयन हाइड्रोपावर कम्पनी, अप्पर सोलु, अप्पर हेवाखोला, राप्ती हाइड्रो र मन्दाकिनी हाइड्रो पावर कम्पनी छन्।

पछिल्लो समय दोस्रो बजारमा सबैभन्दा बढी किन/बेच हुने शेयर जलविद्युत कम्पनीका छन्। त्यसमा पनि लकिङ नखुलेका जलविद्युत कम्पनीमा सबैभन्दा बढी लगानीकर्ताको आकर्षण छ। तिनै कम्पनीको दैनिक हुने मूल्य वृद्धिले लगानीकर्तालाई उक्त समूहतर्फ बढी आकर्षित गरिरहेको छ। तर तुलनात्मक रुपमा लकिङ खुलेका कम्पनीमा लगानीकर्ताको कम आकर्षण देखिन्छ। आउने ६ महिनामा नै १० भन्दा बढी जलविद्युत कम्पनीको लकिङ पिरियड खुल्ने भएकोले त्यसले बजारमा कस्तो प्रभाव पार्ला भनेर अहिले नै लगानीकर्ताले विश्लेषण गर्न सुरु गरेका छन्।

१० करोड भन्दा बढी कित्ता ६ महिनामा नै थपिने भएकोले त्यसलाई गम्भीरतापूर्वक हेर्नै पर्ने बाध्यता अहिले छ। किनकि प्राथमिक निष्कासनबाट बाहिरिने पैसा भन्दा बढी पैसा संस्थापकले दोस्रो बजारबाट झिक्न सक्ने अवस्था हुने छ। जसले बजारमा सेलिङ प्रेसर ल्याउन सक्ने अनुमान एकथरी लगानीकर्ताको छ भने अर्काथरीले भने यस अघि केही कम्पनीको लकिङ खुलेपछि पनि डिस्काउन्टमा कमै शेयर आएकोले आउने शेयरलाई पनि बजारले पचाउने अनुमान गरिरहेका छन्। तर बजारले सेलिङ प्रेसर थेग्न सक्छ कि सक्दैन भन्ने विषयलाई आउने दिनमा हुने कारोबारले नै निर्धारण गर्ने छ।   




comments powered by Disqus

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी

Jan 27, 2025 06:05 AM

भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।