बिहीबार आधिकारिक साउदी प्रेस एजेन्सीले राजकुमार मोहम्मद बिन सलमानको यो टिप्पणी ट्रम्पसँग टेलिफोन वार्ता गरेपछि प्रसारण गरेको थियो।
"युवराजले आगामी चार वर्षमा अमेरिकासँगको लगानी र व्यापारलाई ६०० अर्ब डलर पुर्याउने र सम्भवतः अझ बढी लगानी गर्ने राज्यको चाहनालाई पुनः पुष्टि गर्नुभयो," रिपोर्टमा भनिएको छ।
यद्धपी, रिडआउटकाे उक्त रिपाेर्टमा यी लगानी र व्यवसायहरू कहाँ हुनेछन् भन्ने बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छैन।
पछिल्ला केहि वर्षहरूमा अमेरिकाले साउदी तेल निर्यातमाथिको पर निर्भरताबाट आफूलाई टाढा राखेको छ, जुन एक समय दशकौंसम्म उनीहरूको सम्बन्धको आधार थियो। साउदी सार्वभौम सम्पत्ति कोषले अमेरिकी व्यवसायहरूमा ठूलो हिस्सेदारी लिएको छ।
एमबीएसका अनुसार यदि धेरै अवसरहरू उपलब्ध भएमा यो लगानी अझै बढी पनि हुन सक्छ। साउदी राजकुमारले बुधबार डोनाल्ड ट्रम्पसँग फोनमा कुरा गरेर राष्ट्रपति बनेकोमा बधाई दिएका थिए। साउदी अरबको सरकारी समाचार एजेन्सीले यो जानकारी दिएको हाे।
यसअघि, जो बाइडन राष्ट्रपति हुँदा राजकुमारसँगको उनको सम्बन्ध तिक्ततापूर्ण रह्यो। साउदी पत्रकार जमाल खशोग्गीको हत्याको विषयमा मानव अधिकारका मुद्दाहरूमा दुई जनाबीच विवाद भएको थियो।
साउदी राजकुमारले ट्रम्पलाई उनको देश नयाँ प्रशासनको सुधारबाट सिर्जना भएका अवसरहरूको फाइदा उठाउन चाहेकाे र साझेदारी तथा लगानी गर्न खोजिरहेको पनि बताए। यी सुधारहरूले अप्रत्याशित समृद्धि ल्याउन सक्ने पनि उनले बताए।
साउदी एजेन्सीले राजकुमारले कुन सुधारको बारेमा कुरा गरिरहेका थिए भन्ने खुलाएको छैन। ट्रम्पको पहिलो कार्यकालदेखि नै साउदी अरब र अमेरिकाबीच धेरै घनिष्ठ सम्बन्ध रहेको छ। ट्रम्प र साउदी राजकुमार पश्चिम एसियामा शान्ति र स्थायित्व ल्याउन चाहन्थे। उनीहरूले आतंकवादसँग मिलेर लड्ने पनि मनसाय राखेका छन्।
खाडीमा परिवर्तन हुँदै, ट्रम्प र एमबीएसकाे यसमा ध्यान
यस विषयमा ह्वाइट हाउसले अहिलेसम्म कुनै वक्तव्य जारी गरेकाे छैन। ट्रम्प र युवराज बीचको यो कुराकानी यस्तो समयमा भएको हो जब पश्चिम एशिया धेरै द्रुत गतिमा परिवर्तन भइरहेको छ। साउदी अरबको प्रतिद्वन्द्वी इरान इजरायल र उसका प्रोक्सी समूह हमास र हिजबुल्लाहसँगको युद्धका कारण कमजोर भइरहेको छ। इरानका नजिकका सहयोगी बसर अल-असदले सिरियामा सत्ता छोडेका छन्। यसबाहेक गाजामा युद्धविराम भएको छ जसकारण हमास र इजरायलबीचको लडाइँ रोकिएको छ। यो मेगा डिलको प्रस्ताव गरेर साउदी राजकुमार ट्रम्पको साउदी अरेबकाे भ्रमण सुनिश्चित गर्न चाहन्छन् भन्ने मानिएकाे छ।
सन् २०१७ मा अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पले पहिलो पटक साउदी अरबको भ्रमण गरेका थिए। त्यसबेला पनि साउदी अरब र अमेरिकाबीच एउटा ठूलो सम्झौता भएको थियो । उक्त सम्झाैतामा अर्बौं डलरको हतियार समावेश थियो। यसअघि, ट्रम्पले साउदी अरबले ४५० अर्ब डलर वा ५०० अर्ब डलरको हतियार किनेमा उनी फेरि भ्रमण गर्न पाएमा खुसी हुने बताएका थिए।
अब भने साउदीका राजकुमारले उनलाई अझै बढी, ६०० बिलियन डलरकाे प्रस्ताव गरेका छन्। अब ट्रम्पको साउदी अरेबकाे भ्रमणलाई अनुमोदन मिल्ने विश्वास गरिएको छ।
एजेन्सी ।