मुख्य कुरा बजारप्रति लगानीकर्ताको आत्मविश्वास हुनु पर्यो । सरकारको तर्फबाट लगानीकर्तालाई प्रोत्साहित गर्ने र विश्वास जगाउने गरी केही गतिविधि हुन सकेका छैनन् । दोस्रो बजारमा लगानीको सुरक्षा सरकारले गर्न सकेको छैन । बजारमा लगानी भएको लगानीको सुरक्षाको संयन्त्र तयार गर्न सक्नु पर्छ । अन्तराष्ट्रिय रुपमा पूँजी बजारलाई संरक्षण गर्ने सिस्टम हुन्छ । पूँजी बजार अर्थतन्त्रको ऐना हो । सरकारले महत्त्वलाई बुझेर बजारको दायरा बढाउन लाग्नु पर्ने हुन्छ । यस्तो भयो भने बजारले राम्रो गति लिने विश्वास गर्न सकिन्छ । तर नेपालमा सरकारले नै शेयर बजारलाई राम्रो दृष्टिकोणले हेरेको पाइदैन । त्यसैले समग्र अर्थतन्त्र सहित बजारले गति लिन नसकेकोले समस्या देखिने गरेको हो ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित हुनु पर्ने पूँजी बजारको इतिहास नेपालमा पनि छोटो छैन । तर महत्त्व बढेको छैन । बजारको खासै विकास हुन सकेको छैन । किन होला ?
नेपालको शेयर बजारको इतिहास छोटो छैन । तर तुलनात्मक रुपमा बजारको विकास हुन सकेको छैन । हाम्रो जस्तो बजार बङ्गलादेश, भुटान, श्रीलंका र भारतमा छ । यी देशहरुको बजारको विकास राम्रोसँग भएको छ । भारतकै बजारलाई नजिकबाट हेर्ने हो भने पनि विकास रफ्तारमा नै भएकाे देखिन्छ । अझ नरेन्द्र मोदी प्रधानमन्त्री भएर आएपछि बजारले बुल गतिलाई निरन्तरता दिएको छ । जसले २२ हजारको लाईनमा रहेको सूचक अहिले ८५ हजार भन्दा माथिल्लो विन्दुमा कारोबार भइराखेको छ । बजारले १० वर्ष बुल गतिलाई निरन्तरता दिएको छ ।
हाम्रो नेपालमा बुल र वियरको चक्र दुई देखि तीन वर्षको छ । बजार थोरै बढ्न थाल्यो कि नियामक निकायबाटै बजार बबल भएको प्रकृया आउँछ । बजारले बुल निर्धारण गर्दा सरकारकाे तर्फबाट ब्रेक लगाउने गरेको छ । वास्तवमा शेयर बजार सरकारको नियन्त्रणकै कारण विकास हुन नसकेको हो ।
बजारलाई निन्तर रुपमा बढ्न दिनुपर्छ । सरकारले अर्थतन्त्रलाई कति योगदान पुर्याएको छ । अर्थतन्त्र चलायमान बनाउनको लागि कति भूमिका निर्वाह गर्छ भन्ने कुरालाई मूल्यकन गरेर नीतिगत व्यवस्था गर्नुपर्छ । यसलाई नियन्त्रण गर्न खोज्दा अर्थतन्त्रको विकासको गति नै रोकिएको छ ।
शेयर बजार निरन्तर रुपमा परम्परागत शैलीमा कारोबार हुँदै आएको छ । लगानीकर्ता मार्फत अन्य उपकरणको पनि माग हुन थालेको छ । तर सरकार उपकरणहरु उपलब्ध गराउन किन सकिरहेको छैन होला ?
दोस्रो बजारमा सुधार गर्नुपर्ने कुराहरु धेरै रहेका छन । तपाईले बजारमा नयाँ औजार किन आएन भन्नु हुन्छ । बजारले विगत १५ वर्ष पहिले देखि माग गरेको छ । तर नियामक निकायबाटै बजारको दायरा फराकिलो बनाउने प्रति गम्भिरता भएको देखिदैन । यो सँगै बजारमा गैर आवसीय नेपालीहरुलाई लगानी गर्न वातावरण बनाउने कुराले चर्चा पाएको थियो यद्यपि अझै सम्म पनि त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन । बजारमा सहजै कारोबार गर्ने वातावरण बन्न सकेको छैन । कार्यान्वयन गर्नु पूर्व नै अनेक समस्या खडा गरेर बजारको विकासमा रोक्ने मतियारको रुपमा सरकार उपस्थित भएको छ ।
नेपालको विकास कछुवाको गतिमा भएको छ । व्यवस्था परिवर्तनको रणनीति प्रमुख बनेको छ । अर्थतन्त्र सुधार गर्नेतर्फ कसैको ध्यान पुग्न सकेकाे छैन् । दुरगामी नेतृत्वको अभाव भएकै कारण अर्थतन्त्रको विकास हुन नसकेको हो ।
वित्तीय क्षेत्रमा तरता बढ्ने, कर्जाको माग नहुने र गएको कर्जा रिकर्भर नहुने समस्या छ । अर्को तर्फ शेयर बजार विगत लामो समयदेखि सुस्ताएको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र कस्ताे छ भन्ने परिकल्पना गर्न सकिन्छ ?
यो अहिलेकाे समस्या हो । मुलुकका अर्थतन्त्र सिथिल भएको छ । 'कोमा' मा गएको अर्थतन्त्रप्रति सरकारले गम्भिरतापूर्वक लिएको छैन । अर्थतन्त्रलाई सकृय बनाउन, चालयमान बनाउनको लागि कुनै उपाय अपनाएको छैन । अर्थतन्त्र चलायमान बनाउन केही कदम त चाल्नु पर्यो नि ? दुखःको कुरा कुनै उपाय सरकारबाट चालिएको छैन । अर्थतन्त्रलाई छिटो चलायमान र सकृय बनाउन शेयर बजारलाई चलायमान बनाउनु पर्छ । अनि मात्र अरु क्षेत्र विस्तारै चलयमान हुन्छ ।
अहिले सरकारले अध्यादेश मार्फत अर्थतन्त्र चलायमान गराउन खोजिरहेको जस्तो देखिएको छ । निजी क्षेत्रले त्यसलाई समर्थन गरेको पाइन्छ । तर पूँजी बजारले त्यसलाई कुनै प्रतिकृया जनाउन सकिरहेको छैन । सरकारले भएको कमी कमजोरीलाई केलाउँदै बजारको विकासको लागि काम गर्नु पर्छ । अनि मात्रै शेयर बजारले अर्थतन्त्रलाई क्रियाशिल बनाउछ । किनभने, शेयर बजारमा तल्लो तह देखि ठूला लगानीकर्ताहरुको लगानी रहेको हुन्छ । एउटा चिया व्यापारीले आफ्नो क्षमता अनुसारको बजारमा लगानी गरेको हुन्छ । अर्को तर्फ अर्बौ कारोबार गर्ने व्यापारीको समेत लगानी हुन्छ । सबै प्रकारको आवद्धता रहने भएकाले सबैको राम्रो हुन्छ । बजारबाट निर्मित पूँजीबाट अन्य क्षेत्रमा लगानी बढ्छ । अनि मात्रै अर्थतन्त्रलाई चलायमान हुन्छ ।
एकतर्फी रुपमा शेयर बजारमा बढेर हुँदैन । समानान्तर रुपमा अन्य क्षेत्रको विकास हुनु पर्ने भन्दै बजारलाई नियन्त्रण गरिएको छ । अन्य क्षेत्र यसै सुस्ताएको छ । अबको निकास के त ?
अघि मैले भनिसकेको छु । चिया व्यापारीदेखि धनाढय व्यक्तिहरुको पहूँचमा शेयर बजार छ । शेयर बजार प्रति सरकारको बुझाई नै विभेदकारी भएको कारण आर्थिक उन्नति हुन सकिरहेको छैन । अर्थतन्त्रमा सबै क्षेत्रको अन्तर सम्बन्ध (च्यान कनेक्सन) रहेको हुन्छ । एक क्षेत्र सुस्ताउँदा अर्को क्षेत्र प्रभावित भएको हुन्छ । यस्तो अवस्थामा अर्थतन्त्र चलायमान बनाउनको लागि प्रभावकारी क्षेत्रलाई महत्त्वमा राखेर नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । उद्योग स्थापना गर्नका लागि प्रकृयागत रुपमा समय लाग्छ । तर शेयर बजारमा सरकारले प्रत्साहित नीति लिएमा सहजै विकास हुन्छ । त्यसैले अर्थतन्त्रलाई द्रुत रुपमा सकृय बनाउने क्षेत्र शेयर बजार हो । सरकारले लगानी मैत्री नीति लिएर बजारमा लगानीको वातावरण निमार्ण गर्नको लागि ढिला गर्नु हुँदैन ।