सिद्धबाबा सुरुङमार्गको 'ब्रेक थ्रु'

Jan 24, 2025 04:07 PM Merolagani



सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज 'ब्रेक थ्रु' भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सुरुङको ब्रेक थ्रु भएकाे हाे । 

ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट पारेका छन् । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो। प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य समस्याले प्रधानमन्त्री निवास, बालुवाटारबाट नै भर्चुअलरुपमा उनी उपस्थित भएका हुन् ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए ।

यसअघि, थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनु छ ।” उनले भने, “मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत सहभागी थिए ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।