अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण विश्वभर एक प्रकारको आंतक सृजना भएको छ । भारतदेखि मेक्सिको र क्यानाडा, अष्ट्रेलिया र फ्रान्ससम्म एक किसिमको हाहाकार नै मच्चिएको छ भन्दा फरक पर्दैन । तर, अमेरिकाको मुख्य प्रतिस्पर्धी रहेको चीनको लागि ट्रम्पको कर नीति बम्पर उपहार जस्तो बनेको छ ।
त्यसो त अमेरिकाले चिनियाँ समानमाथि १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको छ र जवाफमा चीनले पनि त्यस्तै घोषणा गरेको छ ।
चिनियाँ अर्थ मन्त्रालयले ट्रम्प प्रशासनले विश्व व्यापार संगठनले निर्धारण गरेको अन्तर्राष्ट्रिय व्यापार नियम तोडेर चिनियाँ समानमाथि अतिरिक्त कर लगाएको आरोप लगाएको छ । साथै उसले चीनले कसैमाथि आक्रमण र हस्तक्षेप नगर्ने तर कसैले त्यस्तो प्रयास गर्छ भने उसकै शैलीमा जवाफ दिने घोषणा गरेको छ र त्यो अनुसार ‘१० प्रतिशतको बदला १० प्रतिशत’ भन्दै अमेरिकी समानमाथि १० प्रतिशत कर लगाएको छ ।
यहाँ विचारणीय के छ भने अमेरिकाले हरेक चिनियाँ समानमाथि १० प्रतिशत कर लगाउँदा चीनले भने अमेरिकाबाट आयात गरिने केही समानमाथि मात्र त्यस्तो कर लगाएको छ । त्यसको कारण के हो भने एक त कुनै पनि घटनाहरुमा ढिलो प्रतिकृया दिने चिनियाँ शैली पुरानो हो । त्यसमाथि केही वर्षमै अमेरिकालाई उछिनेर विश्वको महाशक्ति बन्ने प्रयास गरिरहेको चीन अमेरिकासँग जोडिएका हरेक घटनाक्रमलाई निकै सोच विचार गरेर मात्र कदम चाल्ने गरेको छ ।
सबैभन्दा ठूलो कुरा त अमेरिकाको अतिरिक्त ट्यारिफ वा करले चीनलाई कुनै घाटा पुर्याउँदैन, बरु चौतर्फी फाइदा पुर्याउँदैछ । अझ भनौं ‘मेक अगेन अमेरिका’ भन्दै चर्काे राष्ट्रवादी नारासहित सत्ता सम्हालिइरहेका ट्रम्पको कर नीति चीनको लागि बम्पर उपहार जस्तै प्रमाणित भएको छ ।
आजको दिनमा विश्वव्यापी बजारमा अमेरिकाको तुलनामा चीनको प्रभाव निकै उच्च छ । अहिले चीनले १२० भन्दा बढी देशहरुमा आफ्ना समान सोझै निर्यात गर्छ । विश्व राजनीतिमा अमेरिका पक्षधर पश्चिमा केही देशहरुमा चीनको प्रभाव कम थियो । तर, ट्रम्पले आफ्नै सहयोगी समुहमा रहेका देशहरुमाथि पनि चर्काे ट्यारिफ लगाएपछि उनीहरु क्रुद्ध भएका छन् । त्यसबाट उनीहरु चीनसँगको व्यापारमा आकर्षित भएका छन् ।
अमेरिकाले विश्वभर ट्यारिफ आतँक मच्चाइरहेको बेला राष्ट्रपति सि जिन फिङ लगायत चिनियाँ नेतृत्व भने चुपचापसँग अमेरिकाको कर नीतिका कारण आतँकित भइरहेका देशहरुसँग कुटनीतिक सम्वन्ध कसिलो बनाउने प्रयासमा लागेको छ । ‘अमेरिकालाई साथ दिँदा कुनै पनि बेला धोका पाउन सक्छौ, चीनसँग सहकार्य गरे समस्या पर्दा साथ दिन्छ’ भन्ने संदेशसहित मेक्सिको, क्यानडा, पोल्याण्ड, अष्ट्रेलिया, फ्रान्स जस्ता परम्परागतरुपमा अमेरिका पक्षधर राष्ट्रहरुसँग पनि सहकार्यको प्रस्ताव अगाडि बढाएका समाचारहरु आइरहेका छन् ।
तीमध्ये सबै देश अहिले चिनियाँ कित्तामा पुगिहाल्छन् भन्ने छैन । तर, केही न केही मात्रामा त्यस्ता देशहरु चीनप्रति नरम हुने र दीर्घकालिन रुपमा सम्वन्ध विस्तारको लागि हात मिलाउने कुरामा शंका छैन । त्यसको अर्थ के हो भने अमेरिका आफ्ना समर्थकहरुको संख्या आफै घटाइरहेको मात्र छैन, उनीहरुलाई जर्वजस्ती शत्रु कित्ता अर्थात् चिनियाँ कित्तामा पठाइरहेको छ । उसलाई बलियो बनाइरहेको छ ।
दक्षिण कोरियाको सोल विश्वविद्यालयका अन्तराष्ट्रिय मामिलाका प्रोफेसर जोन डेलुरी भन्छन्—नारा त ट्रम्पले अमेरिका पहिलो भन्ने दिए । तर, व्यवहारले भने अमेरिका होइन चीन पहिलो भन्ने बाटोमा हिँडे । ट्रम्पको कर नीतिले चीनले नसोचेको फाइदा उठाउने निश्चित देखिएको छ । किनकी विश्व परिस्थिति अमेरिकाको नियन्त्रणबाट उम्किएर चीनको पोल्टामा गइसकेको छ ।
उनका अनुसार ट्रम्पको ४ वर्षे शासनकालमा चर्काे नबोलेरै कसैलाई धम्की नदिएरै चीन विश्वको महाशक्ति राष्ट्र बन्ने अवस्था सृजना भएको छ ।
चीनको फुडान विश्व विद्यालयका प्रोफेसर बि सिन्बो भन्छन्—ट्रम्पको ४ वर्षे कार्यकालमा विश्वभर कहाँ के होला त्यो भन्न सकिदैन । तर, चीनलाई भने उनले नम्बर १ बनाएरै छोड्ने भए । दोस्रो विश्वयुद्ध पछि शुरु भएको अमेरिकी दबदबा सकेरै छोड्ने भए ।