हकप्रद शेयर भनेको के हो ? यो कसरी जारी गरिन्छ ? हकप्रद शेयर भनेको कुनै कम्पनीले आफ्नो हालका शेयरधनीहरुलाई मात्र विशेष रुपमा जारी गर्ने शेयर हो । बर्तमान शेयरधनीहरु नै प्राथमिकतामा पर्ने र बजार मूल्य भन्दा सस्तो मूल्यमा शेयर जारी गरिन्छ । यसको उद्देश्य, कम्पनीले पूँजी अभाव हुँदा वा व्यवसाय विस्तार गर्न, थप रकम जुटाउन, नयाँ परियोजना विस्तार गर्ने, ऋण तिर्न वा वित्तीय स्थिती सुधार गर्न कम्पनीको स्वामित्व कायम शेयरधनीहरुमा नै राख्न हकप्रदको निष्काशन गरिन्छ । मानौ कुनै कम्पनीको १०० शेयर छ र कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्यो भने ५० कित्ता योग्य हकप्रद शेयर हुन्छ । जुन शेयरधनीले स्वेच्छिक रुपमा लिन सक्छन ।
हकप्रद जारी गर्ने प्रावधान कम्पनीको सञ्चालक समितिको निर्णय, नियामक निकायको स्वीकृत इक्रा रेटिङ्ग, शेयर रजिष्टार कम्पनी, मार्फत हकप्रद जारी गरिन्छ । योग्य शेयरधनीहरुले तोकिएको अवधिमा नयाँ शेयर किन्न व्यवस्था गरिएको हुन्छ । एशियन राष्ट्रहरुमा हकप्रद शेयरको प्रयोग धेरै गरेको पाइन्छ । कम्पनीको पूँजी वृद्ध गर्न चाहने बैंक, बीमा, हाईड्रोपावर र औधोगिक कम्पनीहरुले हकप्रद निष्काशन गर्ने गरेका छन । भारतमा सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाले हकप्रद सम्बन्धी नियम बनाउँछ भने चीन र जापान जस्ता देशहरुमा टेक्नोलोजी, बैकिङ्ग र उत्पादनमूलक कम्पनीहरुले हकप्रद जारी गर्ने गरेको पाइन्छ ।
कम्पनीलाई अतिरिक्त पूँजी जुटाउन मद्दत गर्छ, कम मूल्यमा शेयर प्राप्त गर्ने अवसर मिल्छ, कम्पनीको व्यवसाय वृद्धिको दायरामा वृद्धि गराउने लगायतका फाइदाहरु रहेका छन । साथै दोस्रो बजारमा तरलता बढाउने र कम्पनीको वित्तीय स्थिती बलियो हुँदा बजार स्थिर राख्न सहयोग पुर्याउने देखिन्छ । शेयर बजारका लगानीकर्ताहरुको लागि हकप्रद मार्फत यावत फाइदाहरु रहेको भएतापनि केही वेफाइदाहरु रहेका छन । कम्पनीको वित्तीय सक्षमतामा शंका उत्पन्न हुने र बजारमा शेयर हुँदा मूल्य प्रभावित हुनेसक्ने देखिन्छ ।
नेपालको सन्दर्भमा पूँजी बजार सम्बन्धी सरोकारवाला निकायको विकास क्रमसँगै कम्पनीहरुले पनि हकप्रद जारी गर्ने प्रावधानको सुरुवात भएको पाइन्छ । नेपालमा पहिलो पटक २०५२ सालमा हकप्रद शेयर जारी भएको थियो । पहिलो पटक वित्तीय संस्थाको हकप्रद शेयर जारी भएको थियो । त्यसपछि विस्तारै सबै क्षेत्रका कम्पनीहरुले पूँजी संकलको रुपमा सहज औजारको रुपमा हकप्रदलाई लिने गरेका छन् । अहिले अंधिकाश कम्पनीको वार्षिक साधारण सभामा प्रमुख प्रस्ताव नै हकप्रद बनेका छन् । सोही अनुसार नेपाल धितोपत्र बोर्डको पाइपालाईनमा हकप्रद निष्काशनका लागि दर्जनौ कम्पनीहरु स्वीकृतीको पखाईमा छन । कम्पनीको पूँजी वृद्धिको लागि राम्रो औजार भएतापनि कम्पनीहरुले त्यसको सहि रुपमा सदुपयोग गर्न नसक्दा उल्टै कम्पनीहरुको लागि भार बढ्ने र कम्पनीको अवस्था झनै खस्किने गरेको पनि देखिएको छ ।

हकप्रद निष्काशन गर्ने भएपछि दोस्रो बजारमा सम्बन्धित कम्पनीको शेयर मूल्यमा पनि प्रभाव पर्ने गरेको पाइन्छ । हकप्रदको विषयलाई नै लिएर बजारमा ठूलो चलखेल हुने गरेको छ । कम्पनीहरुको हकप्रद आउने कुराले नै लगानीकर्ताहरु हौसियर लगानी गर्दा पछि अपेक्षित लाभ हुन नसकेको पनि पाइन्छ । जस्तो क्रिष्ट फाइनान्स, आइडी बैंक हकप्रद जारी गरेपछि टाटपल्टेका प्रसस्तै उदाहरणहरु रहेका छन् ।
अकोतर्फ कुनैपनि हकप्रद जारी गरिसकेपछि बिक्री हुन नसकेको शेयर पुनः सम्बन्धित कम्पनीका शेयरधनीले खरिद गर्न पाउने व्यवस्था रहेको छ । कम्पनी ऐन र धितोपत्र सम्बन्धी ऐनमा यस्तो ब्यवस्था गरिएको छ । कम्पनी ऐनले हकप्रद शेयर जारी गर्दा शेयरधनीहरुलाई प्राथमिकतामा राख्ने र बिक्री हुन नसकेको शेयर अन्यलाई बिक्री गर्ने व्यवस्था छ । त्यसैगरी धितोपत्र सम्बन्धी ऐनले बिक्री हुन नसकेको शेयरलाई निष्पक्ष बिक्री गर्ने प्रक्रिया निर्धारित गर्ने व्यवस्था गरेको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीले यी दुवै ऐनलाई पालना गर्नै पर्छ । तर व्यवहारिकतामा संस्थापकले पुनः हकप्रद शेयर खरिद गर्न पाउने व्यवस्था छ तर सर्वसाधारण शेयरलाई यो व्यवस्था छैन । पब्लिक शेयरधनीलाई यो सुबिधाबाट बञ्चित गरिएको छ । एउटै कम्पनीको शेयरधनी बीचमा भिन्नता छ । अन्तराष्ट्रिय बजारमा बिक्री नभएको हकप्रद शेयर कम्पनीका सम्बन्धित शेयरधनी बीचमा नै निष्काशन गर्नुपर्ने प्रावधान छ । तर कानुनले प्रष्ट रुपमा ब्यवस्था गरिएको भएतापनि व्यवहारमा उतारिएको छैन ।
कम्पनीको व्यवसाय वृद्धि गर्नको लागि हकप्रद जारी गरिनु सकारात्मक छ । तर बिक्री नभएको हकप्रद शेयर लिलामी बढाबढमा आउनु भन्दा अगाडि हकप्रदमा आवेदन दिदा नै बढी शेयर आवेदन दिन पाउने र संस्थापकको जतिकै अधिकार सर्वसाधारण समूहलाई पनि हक लाग्ने अधिकार प्रदान गरिनुपर्छ ।