'आउने गभर्नरले लगानी मैत्री नीति ल्याउने अपेक्षाले पनि बजार सकारात्मक हुने विश्वास गर्न सकिन्छ'

Apr 02, 2025 03:04 PM Merolagani



बजारलाई अनेक कुराहरुले बिथोल्ने गरेको छ । यसै कारणले बजार घट्बढ भयो भनेर यकिनका साथ भन्न सकिने आधारहरु छैनन्।

यद्यपि राजनीतिक र आर्थिक गतिविधि सहित सरकारका नीतिहरुले बजार प्रभावित भएको पाइन्छ ।  लगानीकर्ताको मनोभावना बिग्रेकाे लगानीकर्ता राजकुमार पाण्डेको बुझाई छ । तीनै पाण्डेसँग सुधा देवकोटाले गरेको कुराकानीः 

निरन्तरको गिरावट र पछिल्ला कारोबार दिनको वृद्धिले लगानीकर्ताको मनोभावना कस्तो बनेको छ ?

बजारले २४ सयको बटम लगाएर बढ्न सुरु गरेपछि २८ सय वरपरको विन्दुलाई परिक्षण गर्दै गरेको थियो । उक्त समयमा बजार धेरै साईडवयज भएको देखिन्छ । त्यसपछि बजार सूचकले परिक्षण विन्दु ब्रेक गरेर २९ सय पुगेको थियो । धेरै लगानीकर्ताको अपेक्षा बजार तीन हजार भन्दा माथिको जान्छ भन्ने थियो । बजार सूचक समान्य करेक्सन हुँदै गर्दा राजनीतिक हल्ला र आन्दोलनको घोषणाले बजार धेरै दबाबमा परेको थियो । बजार धेरै घटेपछि विस्तारै बढ्न सुरु भएको छ । अबको बजारले यसलाई नै निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ ।

तपाईले बजारलाई आन्दोलनले प्रभावित भएको भन्नु भएको छ । फेरि बजार आन्दोलन भइरहेकै समयमा नै सकारात्मक हुने संकेत गरेको देखिन्छ नि ?

शेयर बजारको स्वभाव भनेको नै कुनै घटना हुनु पूर्व नै प्रभाव भएको हुन्छ । जुन बजारका सामान्य लगानीकर्ताले त्यसलाई आंकलन गर्न सकिराखेका हुँदैनन । मुलुकमा व्यवस्था नै परिवर्तन गर्ने भन्दै घोषणा भएको आन्दोलनले बजारलाई ठूलै मर्का पार्ला कि भन्ने डर लगानीकर्तामा भएको हुन्छ । तर घटना भइसक्दा त्यसको प्रभाव बजारमा कम परेको हुन्छ । अहिले भएको पनि त्यहि नै हो । आन्दोलनले प्रभावित होला भन्ने लागेर बजार करिव ३ सय अंकको गिरावट भयो । आन्दोलनले बजारलाई असर गर्ने होइन रहेछ भन्ने ठानेपछि बजारले पुनः गति निर्धारण गरेको हो । अझै आन्दोलन घोषणा भएका छन् तर अब त्यस्तो प्रभाव पार्दैन ।

बजारले नकारात्मक समाचारहरुलाई पचाइसकेको छ । किनभने राम्रो करेक्सन पछि बजार बान्च ब्याक हुँदैछ । बजारमा नराम्रो घटनाहरु छैनन् । बजारको लागि राम्रो कुराहरु मात्रै रहेका छन् । नेपाल राष्ट्र बैंकमा नेतृत्व परिवर्तन हुँदैछ । कठोर नीति लिएकै कारण शेयर बजारले खासै रुचाएको पाइदैन । अब आउने गभर्नरले लगानी मैत्री नीति ल्याउने अपेक्षाले पनि बजार सकारात्मक हुने विश्वास गर्न सकिन्छ ।

शेयर बजार सधै नेपाल राष्ट्र बैंकको नीतिले नै प्रभाव पारेको छ भनिन्छ । अब आउने नयाँ गभर्नरले के गर्नुपर्छ ?

सामान्यतया नेपाल राष्ट्र बैंकको नीतिले धितोपत्र बजारमा ठूलो प्रभाव पार्न नहुने हो । तर प्रभावित हुदै आएको छ । केन्द्रीय बैंकले शेयर बजारका लागि मात्रै हेर्दैन । समग्र अथतन्त्रलाई नै व्यवस्थापन गर्नेगरी मुद्रा व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय बैंकको काधमा रहेको छ । सोही क्रममा लिएका नीतिहरुले बजारलाई असर पारेको हो ।

अहिले बजारले अपेक्षित गति निर्धारण गर्न नसकेको भनेको नीतिगत अवरोध भएर नै हो । बजारको लागि तत्काल आवश्यक भनेको आत्मबलको हो । सरकार र सरोकार निकायले लगानीकर्ताको मनोभावना बढाउने काम भयो भने बजार स्वतह बढ्ने छ । बजारमा लगानीकर्ताले मनोभावना बढाउने खालको नीति लिनुपर्छ । नेतृत्व परिवर्तन हुनासाथ नीतिगत व्यवस्था पनि परिमार्जन हुने आशामा बजारमा लगानी थप हुने सम्भावना रहेको हुन्छ ।

कुनै पनि निकायको नेतृत्व परिवर्तन हुनासाथै बजार उत्साहित भएर चार हजार माथिको विन्दु पार गर्छ भन्ने हुदैन । तर घट्बढ्को सन्तुलनलाई मध्यनजर गरेर गति निर्धारण गर्छ । त्यसपछि मात्रै नयाँ आएको नेतृत्व तथा गभर्नरले कस्ता नीति लिने हो भन्नेमा प्रतिकृया जनाउन थाल्ने छ । सुरुमा राम्रो हुन्छ भन्ने भएर नै बजार सकारात्मक भएको हुन्छ ।

गभर्नरले सुधारको लागि अहिले बजारमा भएका अवरोधहरु फुकुवा गर्नुपर्छ । अहिलेको अवस्थामा शेयर धितोकर्जामा सिमा राख्नु र जोखिम भारको सिमाले कुनै औचित्य राखेको छैन । तरपनि त्यस्ता औचित्यबिहिन नीतिहरुले लगानीकर्ताको मनोभावना खस्काएको मात्र छ । त्यसलाई सुधार गर्न जरुरी देखिन्छ । राष्ट्र बैंकले शेयर बजारको लागि मात्रै नभएर समग्र सुस्ताएको अर्थतन्त्र नै चलायमान हुने गरी नीति लिनुपर्ने हुन्छ । जसले लगानी मैत्री वातावरण निमार्ण होस ।

शेयर बजारमा ठूलो पैसा संस्थागत तर्फबाट आउछ भनिन्छ । ठूलो पैसा लिएर बजारमा आउने व्यक्तिगत लगानीकर्ता कति छन ?

शेयर बजारमा सबै खालका लगानीकर्ता छन् । नेपालको बजारमा संस्थागत भन्दा पनि व्यक्तिगत लगानीकर्ताको बाहुल्यता छ । त्यसैले केन्द्रीय बैंकले लिएको शेयर धितोकर्जा सिमाले बजारलाई प्रभावित पारेको छ । सो सिमा खुल्ला गर्ने हो भने पनि व्यक्तिगत लगानीकर्ताको तर्फबाट बजारमा ठूलो पैसा आउने थियो । अहिले पनि नभएको त होइन । तर जोखिम लिन सक्ने र सम्पत्ति धितो क्षमता भएका लगानीकर्ताहरुले पनि उक्त सिमा भएकै कारणले ठूलो पैसा लिएर बजारमा आउने वातावरण बनिसकेको छैन । निकट भविष्यमा यस्ता अप्ठ्याराहरु सहज हुदै जानेछन भन्नेमा विश्वास गर्न सकिन्छ ।

अहिले ब्याजदर अत्यान्त सस्तो भएको छ । ५ प्रतिशतको लाइनमा बैंकको आधारदर झरेको अवस्था छ । प्रणालीमा पर्याप्त तरलता छ । उक्त प्रणालीमा रहेको पूँजीलाई परिचालन गर्नुपर्ने छ । अहिले शेयर बजारमा मात्रै होइन । सानो व्यवसाय गरेर जिविका निर्वाह गर्नेहरु पनि पलायन भएका छन् । त्यसैले शहरका मूल्य स्थान खालिछन (टुलेट) । बजारमा सानोदेखि ठूला व्यवसाय गर्न सहज हुने खालको नीति सरकारले लिनुपर्छ । अनि मात्रै बजारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दीर्घकालको लागि सकारात्मक गति निर्धारण गरेको हुन्छ ।

अहिले बैंकमा मुद्दतीको रुपमा सस्तो ब्याजदर भएकै कारण बजारमा आउने छ । फेरी त्यसैबाट खरिद भएको शेयरको धितोमा राखेर पुनः बजारमा कर्जाको रुपमा ल्याउन सकिन्छ । लगानीकर्ताले यस्तो मौका उठाउन सक्ने अवस्था रहेको छ ।

अहिलेको बजारमा कस्ता रणनीति लिएर लगानी गर्दा हुन्छ ?

बजारमा धेरै कुराले प्रभाव पारेको हुन्छ । त्यसले गर्दा बजारमा धेरै रणनीतिहरु अपनाएर लगानी गर्नुपर्छ । जस्तो विगतमा आधारभूत रुपमा बलिया कम्पनीहरुको मूल्य बढेका थिए । तर पछिल्ला बुलमा सबै खालको पूँजी कम भएका कम्पनीको मूल्यले नेतृत्व लिएको थियो । अब त्यस्ता कम्पनीको मूल्य धेरै बढी सकेको कारण फन्डामेन्टल कम्पनीहरु चल्न सुरु भएका छन ।

त्यसैले बजारमा कस्तो ट्रेन्ड चलेको छ । त्यसलाई हेरेर पोजिस्नल लगानी रणनीति लिनुपर्ने देखिन्छ । धेरै लगानीकर्ताले शेयर किन्ने मात्रै बिक्री गर्न नसक्दा आएको नाफा लिन सकेको देखिदैन । कोही सही समयमा खरिद गर्न नसक्दा गाह्रो भएको छ । लगानीकर्ताले बजारको मनोभावना हेरेर लगानी गर्ने हो भने बजारबाट राम्रो लाभ लिन सक्ने छन् ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।