सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Apr 09, 2025 03:21 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४५ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँबराबरको १ करोड ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भई हिजो अर्थात मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ २० पैसा बढेर ३६५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ७५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी होल्डिङ्गसकाे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहकाे परिसूचक घटेकाे छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र उत्पादन तथा प्रशोधन  उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ र व्यापार उपसमूहकाे परिसूचक सामान्य घटेकाे हाे।