सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ८३ हजार २७३ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड १ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इंगवा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ५.१६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सागर डिष्टिलरीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने पियोर इनर्जीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।