आइतबार नेप्से परिसूचक २१.४८ अंक घटेर २६०९.६९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ५ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ८९ हजार ७३१ पटकको कारोबारमा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँबराबरको १ करोड ७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ८.५१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सागर डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।