बिश्व बजारले नै सबैभन्दा पारदर्शी बिधि मानेका कारण उक्त बिधि बिश्वभर निष्कासनको लागि लोकप्रिय हुँदै गइरहेको छ। बिश्व शेयर बजारका पण्डितहरुले आउने दिनमा सबै बिधि एक्सपायर भएर जाने र बुक बिल्डिङ बिधि नै सर्बमान्य हुने अड्कल गरिरहेका छन्। तर नेपालमा भने यहि बिधि नियामक निकायको कारण सबैभन्दा खराब बिधि जस्तो चित्रण हुन थालेको छ। उक्त बिधिलाई नियामक निकायले प्राथमिकतामा नराख्दा बिश्व बजारले अपनाएको उक्त निष्कासन बिधि बेकामे बन्दै गइरहेको छ। बोर्डका कर्मचारीहरु समेत बुक बिल्डिङ बिधि सबैभन्दा राम्रो बिधि हो भनेर भन्छन्। तर उनीहरुले नै अहिलेसम्म उक्त बिधिलाई सफलतापूर्वक कार्यान्वयन गर्न सकेका छैनन्। नियामक निकाय हाँक्छौ भन्नेहरुको लागि यहि नै सरमको कुरा हो।

आँफैले ल्याएको बिधि मार्फत निष्कासन अनुमति दिएका कम्पनीहरुमा एक कम्पनीले निष्कासन गरिसकेर पनि दोस्रो बजारमा काराेबार हुन थालेको एक बर्ष हुन थालेको छ। जुन सर्बोत्तम सिमेन्ट हो। तर त्यहि कम्पनीले आबेदन गरेको समयमा नै निष्कासन अनुमति मागेको रिलायन्स स्पिनिङ मिलको भने अझै सम्म निष्कासन प्रक्रिया पुरा हुन सकेको छैन। उक्त कम्पनीको निष्कासनमा आबेदन दिएका योग्य लगानीकर्ताको पैसा फसेको एक बर्ष हुनै लागेको छ। यतिका समय उनीहरुको लगानी फस्दा के कस्तो निकास दिने भनेर बोर्डले निर्णय गर्न सकेको छैन। फसेकाे पैसाकाे क्षतिपूर्तिको त कुरै छाँडौ, निकास दिने कुनै काम नगरी धितोपत्र बोर्ड बसेको छ। जबकि नियामक निकायले उनीहरुलाई जति सक्दो छिटो निकास दिनु पर्ने हो। तर अहिले पनि त्यस बिषयमा कुनै ठोष काम हुन नसकेको भनेर नियामक निकाय पन्छिरहेको छ।
रिलायन्सको शेयर निष्कासन अनुमति दिने हो भने तुरुन्त दिनु पर्ने हुन्छ अन्यथा अनुमति नदिने हो भने अनुमति रद्द गर्ने हिम्मत राख्नु पर्छ। त्यसो गर्न सकिए मात्रै अरु आउने कम्पनीले के गर्ने भन्ने निर्यण गर्न सक्छन्। पहिले आएको कम्पनीकै बिषयले नै निकास नपाएका कारण उक्त बिधि मार्फत निष्कासन अनुमति माग्ने आँट अरु कम्पनीले गर्न सकेका छैनन्। “हाम्रोमा बुक बिल्डिङ बिधि मार्फत शेयर निष्कासन गर्ने भनेर केहि कम्पनी सम्पर्कमा आएका छन्। तर यस अघि निष्कासन अनुमति पाएकै कम्पनीले निकास नपाएको कारण उनीहरु समेत उक्त बिधि मार्फत निष्कासन अनुमति माग्न हच्किएका छन्। उनीहरुले पहिलेको कम्पनीले के कस्तो गरि निकास पाउँछ। त्यसपछि प्रक्रिया अघि बढाउँला भन्ने गर्छन्” एक क्यापिटलका उच्च अधिकारिले मेरो लगानीसँग भने।
अहिले आएर धितोपत्र बोर्ड आफैले ल्याएको उक्त बिधि परिमार्जन गर्नु पर्ने निष्कर्षमा पुगेको छ। जसको लागि उनीहरुले छलफल गरिरहेका छन्। परिमार्जन गर्नु पर्ने निष्कर्षमा पुगेर छलफलहरु गरेता पनि उनीहरुले अझैसम्म कुनै निश्चित निर्णय भने गर्न सकेका छैनन्।
यस अघि बोर्डमा नेतृत्व नभएको भन्दै पन्छिने गरेको बोर्डले अध्यक्ष पाइसक्दा समेत त्यस बिषयमा कुनै ठोष निर्णय गर्न सकेको छैन। नयाँ नेतृत्व आएको यत्तिका समय भइसक्दा समेत कुनै नयाँ काम हुन नसक्नुले अहिलेको नेतृत्व पनि जागिरे नै भएर जाने हुन् कि भन्ने शंका आम सर्वसाधारणदेखि शेयर बजारका जानकारहरुले गर्न थालेका छन्।