तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा सामान्य बढ्यो, कुन बैंकको नाफा सर्वाधिक बढ्यो?

Apr 20, 2025 09:27 AM Merolagani



वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए।

समीक्षा अवधिमा ११ बैंकहरुको खुद नाफा बढेको छ भने ९ बैंकहरुको खुद नाफा घटेको छ। समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक नेपाल बैंक लिमिटेड रहेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ५ लाख रुपैयाँ रहेको सो बैंकको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार ३२.८० प्रतिशत बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ छ। त्यसैगरी, समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले खुद नाफा ३८.६१ प्रतिशत बढाएको छ भने ग्लोबल आइएमईले ३७.१२ प्रतिशत बढाएको छ। सबैभन्दा कम वृद्धिदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा २.२४ प्रतिशत बढेको छ।

एनआईसी एशियाको नाफा सर्वाधिक घट्यो

समीक्षा अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा बढी घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ६७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। जुन समीक्षा अवधिमा ९१.८१ प्रतिशत घटेको हो। त्यसैगरी, समीक्षा अवधिमा हिमालयन बैंकको खुद नाफा ७४.३३ प्रतिशत घटेको छ भने कुमारी बैंकको खुद नाफा ७२.८५ प्रतिशत घटेको छ।

नबिल बैंकको नाफा सबैभन्दा बढी

रकमका आधारमा नबिल बैंकले अन्य सबै बैंकहरुलाई पछि पारेको छ। सो बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत मात्र बढी हो। नबिल बैंकलाई पछएको नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक दुबैले साढे ४ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन्।

सो अवधिसम्ममा एनआईसी एशिया बैंकले सबैभन्दा कम नाफा कमाएको छ। सो बैंकले तेस्रो त्रैमाससम्ममा १५ करोड ६७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।