झिनाे अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Jun 15, 2025 03:22 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनाे अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ०.४७ अंक बढेर २६५५.८५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे १२ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ९५ हजार ३७४ पटकको कारोबारमा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँबराबरको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८९ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ८७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ६४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, हाेटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।