कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM Merolagani



सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।

यो सोमबार मात्रै होइन, विगत १ महिनाभन्दा बढी समयदेखि नेप्सेमा हुने कुल कारोबारको झन्डै एक तिहाई कारोबार हाइड्रोपावरको मात्रै हुने गरेको छ भने बाँकी अन्य समूहका कम्पनीहरुको कारोबार हुने गरेको छ । हाइड्रोपावर समूहको कम्पनीको संख्या अत्याधिक भए पनि लाभांश दिने कम्पनी भने एकदमै न्यून छ।

हाइड्रोपावर समूहमा लाभांशभन्दा पनि विभिन्न फन्डाहरुले मूल्य प्रभावित बनाउने गरेको छ । पछिल्लो समय न्यून चुक्ता पुँजी भएका भन्दा पनि मध्यम चुक्ता पुँजी भएका कम्पनीहरुको शेयर मूल्य बढिरहेको छ भने अर्कोतर्फ धितोपत्र बोर्डबाट हकप्रद शेयरको अनुमति पाएका हाइड्रोपावरको शेयर मूल्य बढ्ने गरेको छ । यता लकिङ खुलेको हाइड्रोपावरमा लगानी गरेका हाइड्रोपावरको समेत मूल्य बढिरहेको छ ।

सोमबार मूल्य बढेको टप १० हाइड्रोपावर कम्पनीमा के छ मूल्य बढाइएको फन्डा

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी : जोशी हाइड्रोपावरले धितोपत्र बोर्डबाट ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । ३ सय भन्दा न्यून मूल्यमा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य हकप्रद निष्काशनको अनु्मति पाएको सूचना सार्वजनिक भएपछि झन्डै २५ प्रतिशतले बढिरहेको छ । सोमबार पनि जोशी हाइड्रोपावरको शेयर सर्किट लागेर ३ सय ८३ रुपैयाँमा बन्द भयो । कम्पनीको अहिले ६१ करोड २८ लाख १ सय कित्ता शेयर सुचीकृत छ ।

पञ्चकन्या माई हाइड्रोपावर : खासै मूल्य बढ्न नसकेको र मध्यम चुक्ता पुँजी भएको हाइड्रोपावर छनोट हुँदा पछिल्लो समय पञ्चकन्या माइ हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएको देखिएको छ । नेप्सेमा कम्पनीको १ करोड १० लाख कित्ता शेयर सुचीकृत छ भने अहिलेसम्म कम्पनीले हकप्रद शेयर र लाभांश कुनै पनि प्रदान गरेको छैन । सर्किट लेभलमा कारोबार भएर कम्पनीको शेयर मूल्य सोमबार ३ सय ९५ रुपैयाँ १४ पैसामा पुग्यो ।

बरुण हाइड्रोपावर: हालै मात्र हकप्रद शेयरको लागि बुक क्लोज भएको बरुण हाइड्रोपावरको हकप्रदपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । बुक क्लोज अगाडि ६ सय रुपैयाँमा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य अहिले ३ सय ८३ रुपैयामा सोमबार अन्तिम कारोबार भयो ।

पाँचथर पावर कम्पनी लिमिटेड: झन्डै १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पाँचथर पावर खासै मूल्य बढ्न नसकेको हाइड्रोपावरमा पर्दछ । मध्यम चुक्ता पुँजी भएको हाइड्रोपावरको छनोटमा पछिल्लो समय पाँचथर पावर पनि अगाडि आएको छ । नेप्सेमा पाँचथर पावरको ९६ लाख २५ हजार कित्ता शेयर सुचीकृत छ । कम्पनीले गत वर्ष ७ प्रतिशत बोनस शेयर दिएको थियो । त्यो भन्दा अगाडि कुनै हकप्रद र बोनस शेयर दिएको इतिहास छैन ।

राधी विद्युत पावर: पछिल्लो समय होल्डिङ कम्पनीको रुपमा राधी विद्युत कम्पनीको शेयर मूल्य बढिरहेको छ । ८ सय ६५ रुपैयाँको उच्च मूल्यसम्म पुगेको राधीको शेयर मूल्य विगत १ हप्तादेखि ८ सयकै हाराहारीमा कायम रहेकोमा सोमबार पुनः बढेर ८ सय २५ रुपैयाँसम्म पुगेको छ । राधीले दोर्दी खोला, राप्ती हाइड्रोलगायत नेप्सेमा सुचीकृत कम्पनीहरुमा लगानी गरेको छ । दोर्दीमा राधीको १६ लाख ४४ हजार ८ सय ८८ कित्ता र राप्ती हाइड्रोमा १२ लाख ९० हजार कित्ता संस्थापक शेयर लगानी रहेको छ । दोर्दीको लकिङ पिरियड खुलिसकेको छ भने राप्ती हाइड्रोको अबको एक महिनामा लकिङ पिरियड खुल्नेछ । लगानीकर्ताले यही सम्भावनालाई क्याच गरेर राधी विद्युतको शेयर मूल्य उचालिरहेको जानकारहरु बताउँछन् ।

कालिका पावर कम्पनी : हाइड्रोपावर समुहभित्रको थोरै नियमित लाभांश दिने कम्पनी मध्ये पर्छ कालिका पावर । यो कम्पनीको ९३ लाख ३५ हजार ४ सय ९५ कित्ता शेयर नेप्सेमा सुचीकृत छ । कम्पनीले हरेक वर्ष न्यूनतम ७ देखि १५ प्रतिशत बोनस शेयर दिएर पुँजी वृद्धि गरिरहेको छ । सोमबार कम्पनीको शेयर मूल्यमा झन्डै ५ प्रतिशतले वृद्धि देखियो । चिलिमे,बुटवलपावरजस्ता लाभांश दिने कम्पनीहरु बढ्दा यो कम्पनीमा पनि चार्म देखिएको लगानीकर्ताहरु बताउँछन् यद्यपि कालिका पावर भने करिब दुई दिन घटेपछि सोमबार बल्ल ५ प्रतिशतले बढेको हो ।

शिवश्री हाइड्रोपावर: नेप्सेम १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सुचीकृत यो कम्पनीले १ बरार १ को अनुपातमा हकप्रद शेयरको प्रस्ताव गरेको छ । मध्यम चुक्ता पुँजीको हाइड्रोपावर एवम् शेयर मूल्य पनि एकदमै न्यून भएको कम्पनी छनोट गर्दा धेरै लगानीकर्ताको रोजाईमा शिवश्री हाइड्रोपावर पर्न गएको हो । सोमबार कम्पनकिो शेयर २ सय ४५ रुपैयाँमा कारोबार भयो ।

सानिमा मिडल तमोर हाइड्रोपावर: सानिमा माई हाइड्रोपावरले प्रबद्र्धन गरेको सानिमा मिडल तमोरको ३ करोड ३३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत छ । कम्पनीमा सानिमा माई हाइड्रोपावरको ५३ लाख ३२ हजार कित्ता शेयर लगानी रहेको छ । १ वर्षपछि कम्पनीको लकिङ पिरियड खुल्दैछ । सानिमा माई हाइड्रोपावरको मूल्य लगानी रहेका कारण पनि कम्पनीको शेयर मूल्य बढ्दै गएको लगानीकर्ताको दाबी छ । सोमबार कम्पनीको शेयर मूल्य ५ सय २० रुपैयाँ ८८ पैसा कायम भयो ।

युनियन हाइड्रोपावर: नेप्सेमा ७५ लाख कित्ता शेयर सुचीकृत कम्पनीले अहिलेसम्म लाभांश दिएको छैन । हालैको साधारण सभाले २८.९ मेगावाटको होङगु खोला जलविद्युत आयोजना र ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना हस्तान्तरण गरेर नयाँ कम्पनी खोल्ने र त्यो कम्पनीमा युनियनले समेत लगानी गर्ने प्रस्ताव पारित गरेको थियो । विगत केही दिनदेखि लगातार शेयर मूल्य बढ्ने कम्पनीमा युनियन पनि पर्दछ । युनियन हाइड्रोले राप्ती हाइड्रोमा साढे १४ लाख कित्ता संस्थापक शेयर  गरेको छ जसको अर्को महिना लकिङ खुल्दैछ। युनियनको शेयर मूल्य ३ प्रतिशतले बढेर सोमबार ४ सय २६ रुपैयाँ कायम भयो ।

सिंगटी हाइड्रो इनर्जी : १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेपछि अहिले कम्पनीको २ करोड ९० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत छ । हकप्रद सुचीकरणपछि कम्पनीको शेयर मूल्य एकदमै न्यून विन्दुमा आएको थियो त्यसमाथि हकप्रद शेयर निष्काशन गर्दा नबिकेको ४६ लाख ११ हजार कित्ता शेयर कम्पनीकाले लिलामीमा बेच्दा १ सय ४६ रुपैयाँ कट अफ मूल्यमा शेयर बेचेको थियो । कम्पनीले अंकित मूल्य भन्दा बढीमा शेयर बेच्दा १ सय भन्दा बढी रहेको रकमले लाभांश दिन सक्ने हुँदा लगानीकर्ताले यस्तो रकमलाई पनि ध्यानमा राख्ने गर्दछन् ।




प्रभु इन्स्योरेन्सको बोनस घोषणा

Jun 23, 2025 10:23 AM

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।