यस दिन नेप्से परिसूचक ०.२२ अंक घटेर २६००.५३ विन्दुमा बन्द भएकाे छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार करिब साढे ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६२ हजार ७५५ पटकको कारोबारमा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ८.०१ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०२ रुपैयाँ ५० पैसा बढेर १ हजार ३८१ रुपैयाँ ४७ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सर्वाधिक ५.१७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनको करिब २४ करोडको शेयर किनबेच भएको छ। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९८ प्रतिशत घटेको छ।