मुकेश अम्बानीको कम्पनी रिलायन्स बीपी मोबिलिटी र गौतम अडानीको कम्पनी अडानी टोटल ग्यास लिमिटेड (एटिजियल)को बीच सहकार्यको सम्झौता भएको हो ।
सम्झौता अनुसार, दुवै कम्पनीले अटोमेटिभ इन्धनको बिक्री वृद्धि गर्नेछ।
यस सम्झौताका अनुसार, एटिजियल पेट्रोल पम्पहरूमा अम्बानीको कम्पनी जिओ विपी पेट्रोल र डिजेल उपलब्ध हुनेछ। त्यस्तै, केही जिओविपी पेट्रोल पम्पहरूमा एटिजियलका स्टेशनहरू स्थापना गरिनेछ। यसले दुबै कम्पनीको इन्धन बिक्री बढाउनेछ भने दुबैको कारोबार पनि विस्तार हुनेछ ।यसले सर्वसाधारणलाई समेत फाइदा पुर्याउनेछ किनभने ग्राहकहरूले एउटै पेट्रोल पम्पमा दुवै कम्पनीका इन्धन पाउनेछन् ।
यस साझेदारी अन्तर्गत, दुबै कम्पनीका हालका पेट्रोल पम्पहरू मात्रै नभएर भविष्यमामा थपिन लागेको आउटलेटहरूलाई पनि समेटिनेछ। हाल भारत अम्बानीको जिओविपीका १,९७२ पेट्रोल पम्पहरू छन्, भने अडानीको एटिजियलका ६५० ग्यास स्टेशनहरू छन् ।
दुवै कम्पनीबीचको सहकार्यपछि देशव्यापीरुपमा निकै ठूलो संख्यामा पेट्रोल पम्प तथा ग्यास स्टेशनहरु खोलिने त्यसबाट भारतको इन्धन वितरणमा नयाँ क्रान्ती नै शुरु हुने ती दुवै कम्पनीहरुले दावी गरेका छन् ।
स्मरणरहोस् गत मार्च महिनामा उनीहरूले दुवै औद्योगिक घरानाले मध्य प्रदेशमा एक पावर प्रोजेक्टको लागि सहकार्य गरेका थिए । यस अनुसार, रिलायन्स इन्टरनेशनल्सले अडानी पावरको मध्य प्रदेशमा सञ्चालन भइरहेको एक पावर प्रोजेक्टमा २६ प्रतिशत हिस्सा किनेको थियो । साथै, रिलायन्सले ५०० मेगावाट बिजुली किन्ने सम्झौता गरेको थियो ।
भारतमा अम्बानी समुह तेल र ग्यासको साथै खुद्रा समान र टेलिकमको क्षेत्रमा लगानी गर्ने सबैभन्दा ठूलो औद्योगिक घराना हो भने अडानी समुह बन्दरगाह हवाईअड्डा, कोइलाखानी र खनिजहरु सम्म लगानी केन्द्रित गरिरहेको औद्योगिक घराना हो ।
दुबै औद्योगिक घरानाहरुले स्वच्छ उर्जाको क्षेत्रमा पनि ठूलो लगानी गरिरहेका छन् । अब त्यो क्षेत्रमा उनीहरु बीच सहकार्यको सम्भावना बढेको विश्लेषकहरुले बताएका छन् ।
भारतमा अम्बानी र अडानी दुवै व्यवसायिक घरानालाई सत्तारुढ भारतीय जनता पार्टी, त्यसमा पनि खासगरि प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकका मानिन्छ । राहुल गान्धी लगायतका विपक्षी पार्टीका नेताहरुले मोदी नेतृत्वको सरकारले अम्बानी-अडानीको स्वार्थमा काम गर्ने गरेको आरोप लगाउँदै आएका छन् । यस्तो अवस्थामा ती दुई औद्योगिक घरानाको पछिल्लो सहकार्यले भारतीय राजनीतिलाई समेत दीर्घकालिन रुपमा प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ ।