यो त्यस्तो विवाह हो, जस्ले भरखरै भएको इजरायल-इरानबीचको रक्तपातपूर्ण लडाईबाट विश्वका संचार माध्यम र धनीहरुको ध्यान आफूतर्फ आकर्षित गरेको छ ।
एउटा विवाह कसरी विश्वको सबैभन्दा महत्वपूर्ण घटना बन्न सक्छ ? धेरैलाई यस्तो लाग्न सक्छ । तर, यो एउटा त्यस्तो विवाह हो, जहाँ एकातर्फ विवाहको भव्यताको लागि पैसाको खोलो बग्दैछ, विश्वका नामी मानिसहरु जम्मा हुँदैछन। अर्काेतर्फ विरोधमा प्रदर्शनहरु चर्किएका छन्, मानिसहरु नव दम्पत्तीलाई शुभकामना होइन, श्राप दिइरहेका छन् ।
प्रसंग हो-एमजनका संस्थापक जेफ बेजोस र उनकी प्रेमिका लरेन सान्चेजको विवाहको । आजको दिनमा बेजोस विश्वका तेस्रा धनी हुन भने सान्चेज पनि आफैमा अर्बपति महिला हुन् । सान्चेज फक्स टीभी र एबीसी टक शो ‘द भ्यू’का प्रस्तोता पनि हुन् । उनीहरु दुवैको यो दोस्रो बिहे हो । सन् २०२३ को मेमा उनीहरूको ‘इन्गेज्मेन्ट’ भएको थियो ।
वैवाहिक कार्यक्रमबारे विस्तृत जानकारी दिइएको छैन । मूल योजनाअन्तर्गत सहरको केन्द्रमा रहेको ऐतिहासिक स्थल स्क्वोला ग्रान्ड डेला मिसेरिकोर्डिआमा आयोजना गर्न लागिएको थियो । प्रदर्शनकारीहरुको अवरोधको कारण विवाहको मुख्य कार्यक्रम स्थल परिवर्तन हुन सक्ने विविसीले उल्लेख गरेको छ ।
विविसीका अनुसार विवाहको क्रममा भिडन्त हुन सक्ने सम्भावना बढेपछि अहिले भेनिसको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
विरोध किन ?
‘हामी कोही होइनौँ, हामीसँग पैसा छैन, केही पनि छैन । हामीलाई यसमा गर्व छ ! तर हामी कुनै पनि हालतले हामी भेनिस बेजोसलाई सुम्पन्न सक्दैनौ । हाम्रो भूमी हो,’ उक्त विवाह कार्यक्रमलाई नै लक्षित गर्दै गठन भएको ‘नो स्पेस फर बेजोस’ (बेजोसलाई ठाउँ छैन) समूहका टोमासो कासिआरी भन्छन् ।
उनका अनुसार पैसा भएपछि सबैकुरा पाइन्छ भन्ने धनीहरुको भ्रमलाई तोड्नको लागि जेफ बेजोसको विवाह भाँडिनु जरुरी छ । 'हामी भाँड्छौ’ उनी भन्छन् ।
भेनिसका आर्थिक विकास सम्बन्धी काउन्सिलर सिमोन भेन्टुरिनीले प्रदर्शनकारीहरूले भेनिसमाथि कब्जा गर्न खोजे पनि नसकेको दावी गरे ।
‘कसको बिहे यहाँ हुन पाउँछ अथवा हुन पाउँदैन भन्ने कुरा कसैले निर्णय गर्न पाउँदैन । सरकारले त्यसबारेमा निर्णय गर्छ,’ उनी भन्छन् ।
विशाल ईकमर्स कम्पनी एमजन र अन्तरिक्ष प्रविधि कम्पनी ब्लू ओरिजिनका संस्थापका ६१ वर्षीय बेजोसलाई यो वर्ष फोब्र्सले संसारको तेस्रो सर्वाधिक धनी व्यक्ति घोषित गरेको छ । उनीसँग अनुमानित २२७ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ । बेजोसले २०२४ को जुलाई महिनामा लेटेस्ट मोडेलको गल्फस्ट्रीम जि ७०० नामक प्राइभेट जेट उपहार दिएका थिए ।
वातावरणविद्हरुका अनुसार यो विमान उनको निजी भ्रमणमा प्रयोग हुन्छ । पहिलो ४० दिनमा यो बिमानले २८ उडान गरेको थियो । यस क्रममा उत्सर्जित जम्मा कार्वन उत्सर्जनको तौल २६४ मेट्रीक टन हो । जुन औसत अमेरिकनले १७ बर्षमा गर्ने उत्सर्जन बराबर हो भने, औसत नेपालीले ४९८ बर्षमा गर्ने कार्वन उत्सर्जन बराबर हो ।
वातावरणवादी समूह ग्रीनपीसले बेजोसलाई ‘प्रदूषणका प्रतीक’ भएको घोषणा गरेको छ । उक्त संस्थाले बेजोसको विवाहले अति धनाढ्य र बाँकी मानिसबीचको असमानता एवं जलवायु परिवर्तनका प्रभावबीचको खाडललाई अझ बढाउने दावी गरेको छ ।
गत सोमवार ग्रीसपीसका अभियानकर्मीहरू र आफूलाई ’एभ्रिवन हेट्स एलम मस्क’ (एलन मस्कलाई सबैले घृणा गर्छन्) भनेर चिनाउने समूहले सेन्ट मार्क स्क्वेअरस्थित पिज्जा सान मार्कोमा ‘प्रदूषणका प्रतीक’ कोरुपमा बेजोसको एउटा विशाल चित्र सार्वजनिक गरेको छ ।
संसारकै २०० जना सम्भ्रान्तहरु सहभागी हुने वैवाहिक कार्यक्रमले भेनिसमा आवश्यकता भन्दा बढी पर्यटनको विरोध गर्ने स्थानीय बासिन्दाहरू, जलवायु परिवर्तनको विषयलाई उठाउने अभियानकर्मीहरू रहेका छन् । उनीहरुले वैवाहिक कार्यक्रमविरुद्ध शृङ्खलाबद्ध प्रदर्शनको आयोजना गरेका छन् ।
कतिपय स्थानीय बासिन्दाले यो समारोहलाई भेनिसमा आवश्यकताभन्दा बढी पर्यटन र स्थानीयवासीलाई अन्यत्र स्थानान्तरण गर्ने षडयन्त्रकोरूपमा लिएका छन् । स्मरणरहोस् भेनिसको अहिलेको जनसङ्ख्या ४९ हजारभन्दा कम रहेको छ जबकि सन् १९५० मा एक लाख ७५ हजार थियो । यो विवाहपछि भेनिसको जनसंख्या थप घटन सक्ने चिन्ता स्थानीयले गरेका छन् ।
इटलीका सञ्चारमाध्यमहरूका अनुसार वैवाहिक समारोहका लागि ९० वटा प्राइभेट जेटबाट पाहुनालाई ओसार्ने काम हुँदैछ । लगभग सबै विलासी होटेलहरू र थुपै ‘वाटर ट्याक्सी’हरू बुक गरिएका छन् ।