७४ औं मदन जयन्तीको अवसरमा सनिबार काठमाडाैमा आयोजना गरिएको कार्यक्रममा भण्डारीले त्यस्तो घोषणा गर्ने तयारी गरिरहेको उनी निकटका नेताहरुले जानकारी दिएका छन् ।
पूर्व राष्ट्रपतिलाई राज्यको तर्फबाट घर भाडा, गाडी लगायतका अनेकौं सुविधा प्राप्त हुन्छ । तर, भण्डारीले घरभाडा र गाडी सुविधा लिएकी छैनन् ।
उनी बुढानिलकण्ठ, भंगालमा रहेको छोरीको घरमा बस्दै आएकी छिन् । भण्डारीको सुरक्षाको लागि खटिने सुरक्षाकर्मीका लागि लिएको घर भाडा भने सरकारले तिर्ने गरेको छ भण्डारीको सुरक्षामा २० सुरक्षाकर्मी खटिएका छन् । सुरक्षाकर्मीका लागि चम्पा सुवेदीको घर भाडामा लिइएको छ ।
भण्डारीले मासिक ५० हजार भत्ता पाउँछिन् । सरकारी सुविधाको गाडी नलिए पनि मासिक दुई सय सात लिटर इन्धन लिने गरेकी छिन् । उपसचिवस्तरका एक स्वकीय सचिव, एक कार्यालय सहयोगी र एक चालकको सुविधा गृहले उनलाई उपलब्ध गराएको छ । गृह मन्त्रालयमार्फत उनीहरूले तलब–भत्ता बुझ्छन् ।
त्यस्तै, पत्रपत्रिका खर्च मासिक तीन हजार र टेलिफोन खर्च मासिक एक हजार सुविधा भण्डारीले लिने गरेकी छिन् । बिजुली, पानी र इन्टरनेटको खर्च भने बिलअनुसार भुक्तानी गर्ने गरिएको छ ।
यिनै सुविधाहरु मध्येबाट भण्डारीले अधिकाँश सुविधाहरु त्याग गरेको घोषणा गर्न सक्ने बताइएको छ । ‘सुरक्षाकर्मीको हकमा भने उहाँले निर्णय गरेर नहुँदो रहेछ, सुरक्षा निकायको प्रोटोकल मापदण्ड अनुसार हुँदो रहेछ । त्यसबाहेक अरु सुविधा भने उहाँले छोड्नुहुन्छ होला’ भण्डारी निकट एक एमाले नेताले मेरो लगानीसँग भने ।