निर्जीवन बीमा कम्पनीलाई मोटर र सम्पत्ति बीमाकै भरथेग, कुन बीमालेखको हिस्सा कति ?

Jun 28, 2025 06:43 AM MeroLagani



निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको देखिएको हो ।

निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा बाली, सम्पत्ति, सामुन्द्रिक, हवाई, इन्जिनियरिङ, लघु बीमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । मोटर बीमाको तुलनामा अन्य यी व्यवसायको हिस्सा न्यून रहेको तथ्याङ्कले देखाउँछ ।

प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८१/८२ को ११ महिनामा अर्थात जेठ निर्जीवन बीमा कम्पनीहरुले कूल २९ लाख २६ हजार ५२९ वटा बीमालेख जारी गरेर ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीहरुले कूल २५ लाख ८७ हजार ३१५ वटा बीमालेख जारी गरेर ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने ४ लघु निर्जीवन बीमा कम्पनीहरुले कूल ३ लाख ३९ हजार २१४ वटा बीमालेख जारी गरेर ८४ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ३४ हजार५४७ वटा मोटर बीमा पोलिसी जारी गरेर ११ अर्ब ७४ करोड ५१ लाख रुपैया बीमा शुल्क आर्जन गरेका छन् । तथ्याङ्क अनुसार कम्पनीहरुले जारी गरेको बीमालेख मध्ये ४९.०२ प्रतिशत मोटर बीमाको रहेको देखिएको छ भने बीमा शुल्क आर्जनमा पनि २९.४ प्रतिशत हिस्सा मोटर बीमाको नै देखिएको छ । मोटर बीमा पछि ४लाख ३७ हजार १ सय ७० वटा सम्पत्ति बीमालेख जारी गरेर कम्पनीहरुले १० अर्ब १३ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । मोटर र सम्पत्ति बीमालेखबाट कुल बीमा शुल्कको आधा भन्दा बढी हिस्सा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेका छन् ।

सवारी साधनको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था, बढ्दो संख्या लगायतका कारण निर्जीवन बीमा क्षेत्रको व्यवसायमा यसले झन्डै एक तिहाई हाराहारीमा योगदान गरेको सरोकारवालाहरु बताउँछन् । दुई पांग्रे र चार पांग्रेको बील बुक नवीकरण गर्दा अनिवार्य रुपमा बीमा गरेको कागजात देखाउनुपर्ने प्रावधान रहेका कारण पनि सवारी बीमाको हिस्सा अत्यधिक हुन गएको हो ।

प्रदेशगत कस्तो छ मोटर बीमालेख व्यापारको अवस्था ?

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी मोटर बीमालेख जारी गर्ने र बीमा शुल्क आर्जन गर्नेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ । जेठमा बागमती प्रदेशबाट ६ लाख ५४ हजार ७४२ वटा मोटर बीमालेख जारी भएको छ भने ६ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशबाट २ लाख १६ हजार १०९ वटा मोटर बीमालेख जारी हुँदा १ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । कोशी प्रदेशबाट १ लाख ७० हजार १८२ वटा बीमालेख जारी हुँदा १ अर्ब ७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

यता, मधेश प्रदेशबाट १ लाख ३० हजार २०९ वटा मोटर बीमालेख जारी हुँदा ९२ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने गण्डकी प्रदेशमा १ लाख ६२ हजार ८०५ वटा मोटर बीमालेख जारी भएर ९६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

त्यसैगरी, सुदुरपश्चिम प्रदेशमा ७७ हजार ७६१ वटा बीमालेख जारी भएर ४३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ भने कर्णाली प्रदेशमा २३ हजार २३९ वटा मोटर बीमालेख जारी भएर १६ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

कृषि बीमामा देखिएन आर्कषण ?

सरकारले अनुदान दिएको कृषि तथा बाली बीमाको व्यवसाय भने अत्यन्तै न्युन रहेको देखिन्छ । सरकारले अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कृषकहरूको आकर्षण बढ्न सकिरहेको छैन ।

११ महिनामा कृषि तथा बाली बीमाबाट कम्पनीहरूले १ लाख ३८ हजार २९७ वटा बीमा लेख जारी गरेर १ अर्ब ५० करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् जुन कुल बीमा शुल्कको ३.८ प्रतिशत मात्रै हो । तथ्याङ्क अनुसार कृषि तथा बाली बीमा फस्टाउन नसकेको प्रस्ट हुन्छ । मोटर बीमा अनिवार्य भए पनि कृषि बीमा अनिवार्य नभएको कारण कृषि बीमाको बीमा प्रशस्त हुन नसकेको हो ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी कृषि तथा बाली बीमालेख जारी गर्ने र बीमा शुल्क आर्जन गर्नेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ ।

साउनमा बागमती प्रदेशबाट सबैभन्दा बढी ६३ हजार १२७ वटा कृषि तथा बाली बीमालेख जारी भएको छ भने ६६ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ हजार ५२४ वटा बीमा लेख जारी भएर ३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

निर्जीवन बीमाको तथ्यांक केलाउँदा मोटर बीमाको बीमा लेख संख्या झन्डै आधाको हाराहारीमा रहेको छ भने बीमा शुल्कमा झन्डै ३० प्रतिशतको हिस्सा आगटेको छ भने सम्पत्ति बीमाले २५ प्रतिशत हिस्सा ओगेटेको छ । मोटर र सम्पत्ति बीमा पछि तेस्रो ठूलो हिस्सा भने इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको रहेको छ । विविध, सामुद्रिक, हवाईको व्यवसाय हिस्सा क्रमशः १० दशलब ४ प्रतिशत, ५ दशमलब ८ प्रतिशत र ५ दशमलब ७ प्रतिशत रहेको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।