गत महीना साउनमा भारतसँग रू ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रू १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रू ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । यस्तै, चीनसँग रू २७ अर्ब ९९ करोड ६० लाखबराबरको आयात र रू पाँच करोड ४८ लाखको निर्यात गर्दा रू २७ अर्ब ९४ करोड १२लाख बराबर व्यापार घाटा भएको छ ।
युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोदै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढी देखिएको छ ।
अजेन्टिनासँग रु. ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र रु.२४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्टे्लियासँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दाबढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेशसँग रू ५३ करोड ५८ लाख बराबरको आयात र रू सात करोड ५१ लाखको निर्यात गर्दा रू ४६ करोड ७ लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ ।
बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा रू एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा रू एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रू २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउछ।
यो अवधिमा देशलाई रू एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।