२०२३ मा हिन्डनबर्ग रिसर्चले दोस्रो सबैभन्दा धनी भारतीय गौतम अदानीले पूँजी बजारमा ठूलो अनियमितता गरेको आरोप लगाएपछि भारतलगायतका देशहरुमा एक किसिमको खैलाबैला नै मच्चिएको थियो । त्यो घटना सार्वजनिक भएपछि अडानी समुहका कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो । हिन्डनबर्ग रिपोर्ट पछि उक्त समुहको बजार पूँजीकरण १५० अर्ब डलरबाट घटेर ८५ अर्ब डलरमा सिमित भएको थियो ।
तर, बिहीबार सेवीले आफूले गरेको छानबिनमा अडानी र उनको समुहले शेयर बजारमा अनियमितता गरेको कुनै प्रमाण नभेटिएको भन्दै ‘क्लिन चिट’ दिएको हो । सेवीको ‘क्लिन चिट’ पछि कम्पनीका शेयरहरु तीब्र गतिमा बढ्ने अनुमान गरिएको छ ।
अहिले निष्क्रिय हिन्डनबर्गले कर आश्रयस्थल प्रयोग गरेको र सम्बन्धित पक्षहरू बीचको लेनदेन खुलासा गर्न असफल भएको आरोप लगाएपछि सेवीले अदानी पोर्ट्स, अदानी पावर र अदानी इन्टरप्राइजेजलगायत अदानी समूहका कम्पनीहरूको अनुसन्धान सुरु गरेको थियो ।
सेबीद्वारा बिहीबार प्रकाशित रिपोर्टहरुमा लामो अनुसन्धानको क्रममा अडानी समुहबाट अनियमितता भएको कुनै प्रमाण फेला नपरेको दावी गरिएको छ ।
सेवीको ‘क्लिन चिट’ पछि अडानीले आफू र आफ्नो समुह सधै पारदर्शिताको पक्षमा रहेको बताउँदै हिन्डनबर्गले लगाएको आरोपबाट आफूलाई मानसिक रुपमा निकै ठूलो आघात पारेको उल्लेख गरेका छन् । साथै उनले उक्त घटनापछि पैसा गुमाउने लगानीकर्ताहरूको पीडाप्रति सहानुभूती व्यक्त गर्दै गलत हल्ला फैलाउनेहरूले माफी माग्नु पर्ने बताएका छन् ।
स्मरण रहोस् अदानीले संयुक्त राज्य अमेरिकामा पनि घूसखोरीको आरोपको सामना गरिरहेका छन् । नोभेम्बर २०२४ मा, अदानी, उनका भतिजा सागर अदानी र सहकर्मी वनीत जैन ( सँगसँगै दुई कार्यकारीहरूलाई सौर्य ऊर्जा सम्झौताहरू सुरक्षित गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलरभन्दा बढी घूस दिएको आरोप लगाइएको थियो। यो मुद्दामाथिकाे छानबिन अमेरिकामा अझै चलिरहेको छ ।