आइतबार नेप्से परिसूचक १११.७० अंक बढेर २६२३.६२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १९.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२५ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। जेनजी आन्दोलन अघि दैनिक औषतमा ५ अर्बको कारोबार भइरहेको बजारमा यस दिन ३२९ स्टकको १ लाख ८ हजार ९०८ पटकको कारोबारमा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँबराबरको २ करोड ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ६० स्टकको मूल्य घटेको छ। जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड १३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार रकम ३० करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.६६ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.०३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।