फेस्टिभ मुडमा लगानीकर्ता

Sep 25, 2025 03:14 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेपाली धितोपत्र बजारका लगानीकर्ताहरु फेस्टिभ मुडमा देखिएका छन्। बडा दशैँ नजिकिएसँगै लगानीकर्ताहरु यस्तो मुडमा देखिएका हुन्।

दशैँ बिदा अघि अब एक कारोबार दिन मात्र बजार खुल्नेछ। आजदेखि शेयर बिक्री गरेका लगानीकर्ताहरुले दशैँ अघि पैसा पाउदैनन्। फलस्वरुप, दोस्रो बजारको कारोबार रकम ३ अर्बमा सीमित भएको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ३७ हजार ५६२ पटकको कारोबारमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँबराबरको ७९ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचक २.३५ अंक घटेर २६५२.०० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

हिमस्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६३ रुपैयाँ ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य ८ प्रतिशत बढेको छ भने कालिका पावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिटि होटलको शेयरमूल्य यस दिन सर्वाधिक ७.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको करिब साढे १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।