यस दिन नेप्से परिसूचक २७.८९ अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ। लगानीकर्ताहरुले दशैँ खर्च जोहो गर्न शेयर बिक्री गरेसँगै यस दिन बजार प्रभावित भएको हो। आजसम्म शेयर बिक्री गरेका लगानीकर्ताहरु दशैँ अघि पैसा प्राप्त गर्ने भएकोले यस दिन लगानीकर्ताहरु खर्च जोहो गर्नतर्फ लागेका हुन्।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४७ हजार ८५२ पटकको कारोबारमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँबराबरको ९४ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल र हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम १३ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।