लगानीकर्ताको भेटवार्तामा गभर्नरले वर्तमान आर्थिक अवस्थामा सबै पक्ष संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शेयर बजारमा राजनीतिक र सामाजिक सदभावकाे प्रत्यक्ष प्रभाव पर्छ । अर्थतन्त्रका सबै निकाय तथा सरोकारवालाहरूले आर्थिक व्यवहारका हरेक पक्षमा सतर्कता अपनाउँदै सकारात्मक गतिविधिलाई प्रवर्द्धन गर्नु पर्ने गभर्नरको धारणा छ ।
बजारमा सकारात्मक वातावरण सिर्जना गर्न नियामक निकायको अभिभावकीय भूमिका अपरिहार्य भएकाे लगानीकर्ताको जोड छ । बजारमा तत्काल आत्मविश्वास फर्काउन र संरचनागत सुधार गर्नका लागि राष्ट्र बैंकको महत्वपूर्ण भुमिका रहने लगानीकर्ताहरुको भनाइ छ ।

गभर्नरसँगको भेटमा लगानीकर्ता केही सुझावहरु पनि बुझाएका छन ।
१. शेयर धितो कर्जामा सहजीकरणः शेयर धितो कर्जाको मार्जिन ८०-२० कायम गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाथि लगाइएको २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्ने।
२. लघुवित्तको लाभांशः लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशमा लगाइएको सीमा (क्याप) पूर्ण रूपमा हटाउने।
३. ब्याज भुक्तानीमा राहतः हालको असहज परिस्थितिलाई मध्यनजर गरी लगानीकर्ताहरूले बुझाउनुपर्ने ब्याज भुक्तानीको म्याद थप गरी सो अवधिभित्र तिर्दा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्ने।
४. संस्थागत लगानीकर्ताको प्रवेशः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरू तथा सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थागत लगानीकर्ताहरूलाई आफ्नो लगानीयोग्य पुँजीको एक निश्चित प्रतिशत रकम अनिवार्य रूपमा धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने।
५. बजारको दायरा विस्तारः बैंक तथा वित्तीय संस्था र गैरआवासीय नेपाली हरूलाई दोस्रो बजारमा लगानी गर्नका लागि थप सहज र बिना शर्त पहुँचको व्यवस्था मिलाउने ।