बीपी राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्गजस्ता महत्वपूर्ण सडक सञ्जालहरु बाढीले तहसनहस नै पार्यो ।
एक वर्षअघिको बाढीले क्षतिविक्षत पारेको बिपी राजमार्ग डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको थियो । यसपालीको बाढीले बिपी राजमार्गलाई पुरानै हालतमा फर्काइदियो । यसपालीको बाढीले बिपी राजमार्गको झन्डै ५ किलोमिटर सडक रोशीखोलाले बगाएपछि यातायात पूर्ण अवरुद्ध बन्न पुग्यो ।
त्यस्तै,कोशी र मेची राजमार्ग पनि बाढी र पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध बने । अहिलेसम्म पनि ती राजमार्ग सुचारु हुन सकेका छैनन् । कर्णाली राजमार्ग,पासाङ ल्हामु सडक,तमोर करिडोरलगायत अन्य सडक सञ्जालहरु अहिलेसम्म पनि अवरुद्ध नै छन् ।
नेपाल प्रहरीले बिहीबारसम्म प्राप्त गरेको विवरणअनुसार, हालसम्म पनि बाढीका कारण ६ वटा मुख्य राजमार्गको ९ ठाउँमा सडक अवरुद्ध छ । कोशी लोकमार्ग र कान्ति लोकपथ एकतर्फी रुपमा खुलाइएको छ । बाढीका कारण अवरुद्ध सडक जतिसक्दो छिटो क्लियर गरेर यातायात सुचारु गर्ने सडक विभागको योजना छ ।
अवरुद्ध सडक कहिलेसम्म खुल्छन् ? र यातायात पुनः सुचारु हुन अझै भन्न सकिने अवस्था भने छैन् । यद्यपी, सडक विभागका अनुसार, पूर्वी नेपाल जाने सबैभन्दा महत्वपूर्ण बिपी राजमार्गको पुनर्निमाणको काम सुरु भइसकेको छ ।
सडक विभागका अनुसार, बीपी राजमार्ग अब २।३ दिनभित्र पुनर्निमाण भइ यातायात सुचारु हुने देखिन्छ । विभागले अवरुद्ध रहेका अन्य महत्वपूर्ण राजमार्गको पहिरो पन्छाउनेका काम तीव्र रुपमा अघि बढाएको बताएको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बाढीका कारण अवरुद्ध सडक यथासक्य छिटो खुलाउन ठाउँ ठाउँमा मेसिन र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार, अबको १० दिनभित्र सबैजसो अवरद्ध सडक सञ्चालन आउने देखिन्छ ।
कुन कुन सडक छन् अवरुद्ध ?
बिहीबारसम्म कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका ४ बरुणखोला र मकालु गाउँपालिका ३ एकुवा भन्ने स्थानमा सडक पूर्ण अवरुद्ध छ ।
त्यस्तै, इलाम नगरपालिका ९ राजदूवालीलगायतका ठाउँमा पहिरोका कारण मेची राजमार्ग पूर्ण अवरद्ध बनेको छ । यता,मध्यपहाडी राजमार्गअनर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ श्रीदली भन्ने स्थान,रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइकुण्ड गाउँपालिका २ अन्तर्गत विभिन्न ३ स्थानमा पहिरो र सोही गाउँपालिकाको वडा नम्बर ५ को स्याप्रुबेंशी भन्ने स्थानमा पहिरोका कारण सडक पूर्ण अवरुद्ध छ ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, ऐ.डालाबेशी,बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानमा पहिरो गएर सडक पूर्ण अवरुद्ध बनेको छ । सोही राजमार्गको सुनकोशी गाउँपालिका वडा नम्बर १ स्थित नेपालथोक भन्ने स्थानमा पनि पहिरो गएर सडक पूर्ण अवरद्ध हुन पुगेको छ ।