नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुनको दैनिक आयात कोटा २० किलोग्रामबाट २५ किलोग्राम कायम गरेको छ । सुन व्यवसायीका अनुसार, पछिल्लो पटक मूल्यका कारण कारोबारमा तीव्र गिरावट आएको छ । हाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा बजारमा कारोबार भइरहेको छ ।

बजारमा सुन खपत नभए पछि केही समयअघि वाणिज्य बैंकहरुले पनि आयात कोटाभन्दा निकै कम परिमाणमा सुन ल्याइरहेका थिए ।
सुनको कारोबार नभएको र आयात कम भइरहेको अवस्थामा राष्ट्र बैंकले किन दैनिक आयात कोटा बढायो भन्ने विषयमा नेपाल बैंकर्स एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बैंकहरुले सुन आयात नगरेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताए ।
‘एशोसिएसनले नियमित रुपमा सुन आयात गरिरहेको छ । यसअघिकै सुनको स्टक बढी रहेकोले केही दिन आयात गरिएको थिएन् । तर, अहिले स्टक आउट भएको छ । स्टक आउट भएसँगै सुन आयातलाई पुनः निरन्तरता दिएको छ । बजारमा सुन अभाव हुँदैन,’ उनले भने ।
उनले राष्ट्र बैंकले सुनको आयात कोटा किन बढाएको भन्ने विषयमा आफु जानकार नरहेको बताए । ‘यसअघि हामीले मासिक एक सय किलो सुन आयात गरिरहेका थियौं । उक्त आयातित सुन पनि बिक्रि नहुने अवस्था छ । तर, राष्ट्र बैंकले दैनिक सुनको आयात कोटा बढाएर २५ किलोग्राम बनाएको छ । किन बढाएको भन्ने कुराको उत्तर राष्ट्र बैंकलाई नै सोध्नुपर्छ ।’
यता, राष्ट्र बैंकले भने दीर्घकालका लागि सुन आयात हुन सक्ने आंकलन गर्दै सरोकारवाला निकायकै अनुरोधमा आयात कोटा बढाएको जनाएको छ ।
‘अहिले कम आयात भएपनि सबै सरोकारवालाबाट पनि बढाउनु पर्यो भनेर अनुरोध गरेपछि राष्ट्र बैंकले आयात कोटा बढाएको हो,’ राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले मेरो लगानीसँग भने ।