नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Oct 15, 2025 03:10 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ३५ हजार ७५० पटकको कारोबारमा ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँबराबरको ७६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत बढेको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य यस दिन ५.२३ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ५४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको करिब १३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।