नेप्से र कारोबार रकम दुबै घट्यो

Nov 03, 2025 03:07 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ८.२४ अंक घटेर २६२२.८९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब २० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको ५४ हजार ८९२ पटकको कारोबारमा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत बढेको छ भने एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ६८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे २४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने १३ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ०.९३ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १.०५ प्रतिशत घटेको छ।