परियोजना निर्माणको चरणमा चिनियाँ निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण कतिपय परियोजनाहरु अलपत्र अवस्थामा पुगेका छन् भने कतिपय परियोजनाको निर्माण प्रक्रिया नै सुरु हुन सकेको छैन् ।
साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनीले जिम्मा पाएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार अहिलेसम्म पूरा हुन सकेको छैन् । चीनको चाइना स्टेट कन्ट्राक्सन इन्जिनियर कर्पोरेसनले वि.सं २०७५ फागुनदेखि निर्माण सुरु गरेको यो परियोजना अहिलेसम्म अधुरै छ ।
साढे तीन वर्षमा सम्पन्न हुनुपर्ने सम्झौता अवधि रहेको परियोजना झन्डै ७ वर्ष बित्न थाल्यो । हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति सकिएको छ । निर्माण कम्पनीले चौथोपटक म्याद थप गरे पनि बाँकी काम तोकिएको अवधि सम्पन्न हुने अवस्था छैन् ।
पूर्वी र पश्चिम खण्ड गरेर यो परियोजनाको लम्बाइ ११४ किलोमिटर हो । तर, पश्चिम खण्ड र दाउन्ने क्षेत्रमा निर्माण कार्य सुस्त हुँदा परियोजना कहिले सम्पन्न हुन्छ ? यकिन भन्न सकिँदैन् । त्यस्तै, चिनियाँ निर्माण कम्पनीले अघि बढाएको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गतकाे पश्चिम खण्डको काम पनि सुस्त छ । खासगरी, जामुने–पोखरा खण्डको सडक विस्तार कार्य निकै सुस्त छ । हालसम्म उक्त खण्डको भौतिक प्रगति २५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

चाइना कम्युनिकेसन कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको ४१ किलोमिटर सडकखण्डका सडक विस्तार २ वर्षमा सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण अवधि पूरा हुँदासमेत परियोजना निर्माण धिमा गति अघि बढेको छ ।
त्यस्तै, चाइना रेल्वे–२ इन्जिनियरिङले निर्माणको ठेक्का पाएको अर्को सडक हो, कमला–कन्चपुर सडक । तीन वर्षमा सम्पन्न गर्ने गरी सन् २०२० अक्टोबरबाट निर्माण सुरु भएको परियोजना अहिलेसम्म अधुरै छ । निर्माण सुरु भएको ५ वर्ष बित्दासमेत परियोजनाको भौतिक प्रगति भने करिब ६० प्रतिशतको हाराहारी रहेको आयोजनाले जनाएको छ ।
सन् २०२३ अक्टोबरमा तीन वर्ष निर्माण अवधि सकिएर एक वर्ष म्याद थप गरिएको थियो । तर, निर्माण सम्झौता अवधि २ वर्ष गुज्रिदासमेत सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन् । कुल ८७ किलोमिटरमध्ये पहिलो प्याकेजअन्तर्गत कन्चनपुरदेखि कुशाहासम्म ३९ किलोमिटर र दोस्रो प्याकेज सिरहाको बलानदेखि कमला पुलसम्म ४७ किलोमिटर पर्छ ।
त्यस्तै, चिनियाँ निर्माण कम्पनीले निर्माण गरिदिने भनेको रसुवागढी–स्याप्रुबेशी सडक विस्तारको काम समेत अहिलेसम्म पूरा हुन सकेको छैन् । चीन नाकासम्म जोड्ने उक्त सडकको १७ किलोमिटर सडक विस्तारको काम चिनियाँ निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्पन्न हुन सकेको छैन् । तीन वर्षअघि निर्माण सुरु गरेको कम्पनीले अहिलेसम्म उक्त सडकखण्ड विस्तारको काम सम्पन्न गर्न सकेको छैन् ।
ओझेलमै दोस्रो चरणको चक्रपथ विस्तार
काठमाडौंमा निर्माण हुने दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा पनि चिनियाँ पक्षले आनाकानी गर्दै आएको छ । खासगरी, कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार कार्य अहिलेसम्म अघि बढाउन सकेको छैन् ।
दुई वर्षअघि नै उक्त सडकखण्डको पूर्वतयारीको काम पूरा गरेर नेपालले पटक पटक चिनियाँ पक्षलाई निर्माणको जिम्मेवारी सुम्पिन खोजे पनि चिनियाँ पक्ष भने चक्रपथ विस्तारमा आनाकानी गर्दै आइरहेको छ । ११ किलोमिटरको उक्त सडक विस्तार चिनियाँ अनुदान सहायता निर्माण हुने भनिएको थियो ।
चिनियाँ पक्षले चक्रपथ विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणलाई पूर्णता दिन पनि सकेको छैन् । सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले चिनियाँ पक्षले छिट्टै नै चक्रपथ विस्तार कार्य अघि बढाउने गरी जानकारी गराएको बताए । तर, कहिलेदेखि चिनियाँ पक्षले चक्रपथ विस्तार कार्य सुरु गर्छ भन्ने कुरा भने एकिन नभएको उनको भनाइ छ ।