कामना सेवा विकास बैंकको नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

Jan 19, 2026 08:55 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशत र सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१.२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज पनि १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा बढेर २० रुपैयाँ ४३ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।