चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा बढेपछि इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२.०५ प्रतिशत घटेको छ। बैंकको खराब कर्जा समीक्षा अवधिमा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। फलस्वरुप बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७३ पैसा घटेर ८ रुपैयाँ ६२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ।
२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ६ महिनामा ४२.८६ प्रतिशत घटेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.४२ प्रतिशत घटेको छ भने कर्जा तथा सापटी ०.८३ प्रतिशत बढेको छ।
